पौडेलको लकडाउन-१२० बजारमा - रुपिन्द्र प्रभावी

Saturday, February 6, 2021

पौडेलको लकडाउन-१२० बजारमा

 


पोखरा । पत्रकारका रुपमा परिचित राजाराम पौडेलको परिचयमा गीतकार व्यक्तित्व थपिएको छ । शनिबार पोखरा थिएटरमा आयोजित कार्यक्रममा उनको पहिलो कृति 'लकडाउन-१२०' गीतिसङ्ग्रह लोकार्पण भएसँगै उनको परिचयमा नयाँ आयाम थपिएको हो ।

थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य गायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजी, सोही प्रतिष्ठानका पूर्व अध्यक्ष गायक पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष तथा गीतकार दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।

कृतिको समीक्षा गर्दै साहित्यकार जीवन सागर भण्डारीले लकडाउनजस्तो कष्टकर क्षणलाई पनि सिर्जनशील बनाउन सकिन्छ भन्ने उदाहरण राजारामले प्रस्तुत गरेको बताए । उनले मूलतः लोक गीति शैलीलाई अवलम्बन गरेर लकडाउन र यसले नेपाली जनजीवनमा पारेको प्रभावलाई कृतिले समेटेको बताए । गीत, कविता, गजल, लोकगीतलाई समेटेर निकालेका पौडेलको लकडाउन-१२० समयको एउटा महत्त्वपूर्ण दस्तावेज भएको भनाइ समीक्षक भण्डारीले राखे ।

प्राज्ञ हरिदेवी कोइरालाले पत्रकारका रुपमा चिनिएका राजारामभित्रको सिर्जनशीलता लकडाउन-१२० का रुपमा आएको भनाइ राखिन् । वाङ्मयका विभिन्न बिटमा कलम चलाउँदै आएका पौडेल साहित्यसचेत पत्रकार भएको उनको भनाइ थियो । पौडेलको किताब नेपाली समाजमा सकारात्मक सन्देश फैलाउन सफल हुने विश्वास पनि उनले राखिन् ।



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजीले राजारामका गीति रचनाहरु गेय गुणले भरिएको धारणा राखे । उनले प्रतिष्ठानका तर्फबाट यी रचनालाई रेकर्ड गर्न आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत प्रस्तुत गरे ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरेली पत्रकारहरुमा वाङ्मयसम्बन्धी सबैभन्दा बढी समाचार लेख्ने पत्रकार राजाराम नै भएको बताए । उनको सिर्जनशीलताले पत्रकार भन्नुमा गौरव लागेको अनुभवसमेत श्रेष्ठले सुनाए ।

गायक पुरुषोत्तम न्यौपानेले वाङ्मयलाई न्याय गरेका पौडेलले आफूभित्रको स्रष्टालाई पनि कृतिमार्फत् न्याय गरेको बताए । पौडेलका गीतहरु गाउने चाहना आफूभित्र रहेको उनको भनाइ थियो ।

स्रष्टा पौडेलले आफूले लकडाउनको समयमा पाएको फुर्सदको समयलाई सदुपयोग गरेर यी सिर्जना लेखेको अनुभव सुनाए । कृतिमा समेटिएका सबै रचना गीत नभई गीति शैलीका रचना भएको उनको प्रष्टोक्ति थियो । हरेक रचनासँगै कुनै न कुनै कथानक जोडिएको भन्दै पौडेलले पहिलो कृति भएकाले पढेर सुझाव दिन पाठकसँग आग्रह गरे ।

रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा गीतकार आरजु विष्ट 'सल्यानी', पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना दिएका थिए । स्रष्टा परिचय साहित्यकार रेशम गिरीले दिएका थिए । डेढ दशकदेखि पत्रकारितामा संलग्न पौडेल हाल पोखरा न्युज डटकम र रेडियो अन्नपूर्णमा आबद्ध छन् ।

सोही कार्यक्रममा बालगायक उत्प्रेम जोजिजूले कृतिमा समावेश गरिएको हामी बाबुनानी बोलको गीत गाएका थिए । बी. एन. पुस्तक संसारले प्रकाशन गरेको कृतिमा लकडाउनको १२० दिनमा लेखिएका १२० गीति रचना समेटिएका छन् । पुस्तकको मूल्य २२५ रुपैयाँ राखिएको छ । विश्वव्यापी कोभिड-१९ कोरोना भाइरसका कारण नेपालमा २०७६ चैत ११ गतेदेखि १२० दिनसम्म लकडाउन गरिएको थियो । सोही सम्झनामा कृतिको नाम राखिएको कृतिकार पौडेलले बताए ।



 

No comments:

Post a Comment