रुपिन्द्र प्रभावी

Wednesday, May 4, 2022

चुनावको मौसम (कविता)- रुपिन्द्र प्रभावी

May 04, 2022
 चुनावको मौसम (कविता)- रुपिन्द्र प्रभावी

चुनावको मौसम

- रुपिन्द्र प्रभावी

तपाईँले मलाई पछाडि राखेर कुदाउने मोटरसाइकललाई

केवल मोटरसाइकल

यसैमा लहरिएको झन्डालाई 

मात्रै झन्डा देख्नुभयो ?

यो मेरो लक्ष्यको भर्‍याङ हो

यो फरफर गरेको चाहिँ

पेट्रोल हो,

बहुमूल्य पेट्रोल

यो मौसममा पेट्रोल तरतर होइन

फरफर गर्छ

यसको भाउ थाहा छ तपाईँलाई ?

 

मैले चिच्याएको आवाजलाई

नारा मात्रै सुन्नुभो ?

भविष्यको,

मेरो व्यक्तिगत भविष्यको ‘बार्गेनिङ’ हो यो त !

 

मैले बोकेको डन्डा

केबल डन्डा देख्नुभो ?

यससँग मेरो इखालु साइनो छ

देखाइदिनु छ कसैलाई यसैको सहारामा पाइन

 

मैले लुछेको ब्रोइल, खसी, सुँगुर वा राँगाको मासुलाई

कुनै पशुपन्छीको मासु मात्रै सम्झने गल्ती नगर्नुहोला

निकट भविष्यको सत्तास्वाद जोडिएको छ यससँग कसैको

यसैसँग जोडिएको छ

मेरो भोकविरुद्धको युद्धमा मेरो विजय ।

 

म छु नि

तपाईँकै अघि

बेकामे

मूल्यहीन

बनी हिँड्ने ख्याउटे पनि

यतिखेर चाहिँ

मूल्यवान्

कामयावी

झण्डै बहुमूल्य

बनेको छु

किनकि यो मौसम मेरो हो

यो मौसम मेरो अर्थात् चुनावको हो ।

                 * * *

पूरा पढ्नुहोस्...

Sunday, May 1, 2022

साहित्यकार अधिकारीको ठाडो भाका दोहोरीमा सीतासँग घम्साघम्सी

May 01, 2022
साहित्यकार अधिकारीको ठाडो भाका दोहोरीमा सीतासँग घम्साघम्सी

पोखरा । मुक्तकमणिका रूपमा ख्यातिप्राप्त साहित्यकार तीर्थराज अधिकारी हालै पोखरामा ठाडो भाकाको गायकका रूपमा देखिए । आफ्नो गृह जिल्ला लमजुङको पहिचानसँग जोडिएको लमजुङे ठाडो भाकासँग सानैदेखिको मोहलाई उनले पोखरामा जम्मा भएका आफ्ना लमजुङे आफन्त, सङ्गीत र साहित्यप्रेमीहरूका माझ दोहोरीका रूपमा प्रस्तुत गरे ।

उपस्थित दर्शकहरू उनको साहसबाट दङ्गदास भएको अनुभूति गरेपछि तीर्थले भने, ‘दुराडाँडाको सेरोफेरोमा हुने पूजाआजा, रोदी जस्ता सांस्कृतिक कार्यक्रमहरूमा गीत सुन्न जाँदा पनि अग्रजहरूले लखेट्ने गर्थे । एक पटक म पनि गीत गाउँछु भनेर के बसेको थिएँ, गाउँकै दाइले यो तीर्थेले पनि गीत गाउँदो रहेछ भनेर हकारेपछि कहिल्यै गीत गाउने आँटै गरिनँ तर मनमा त छँदै थियो । आज जीवनमै पहिलो पटक औपचारिक रूपमा गीत गाउँदै छु ।’ उनको प्रस्तुति हेरेपछि भने उपस्थित दर्शकले तीर्थराजले पहिलो पटक गीत गाएका होइनन् भन्ने अनुमान गरे । पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति गायक पदमराज ढकालले भने, ‘कवि, मुक्तककार, गीतकार रूपमा चिनिएका तीर्थराज अधिकारीको गायक अवतार स्वागतयोग्य छ । उनको प्रस्तुति हेर्दा कुनै व्यावसायिक दोहोरी कलाकारको जस्तो देखिन्छ ।’

ठाडो भाकाकी गायिका सीता दुरासँग तीर्थराजको घम्साघम्सी परेको थियो । कहिले दाजुबहिनीको नाता मन्द गतिमा अघि बढेको थियो त कहिले प्रतीकात्मक ढङ्गले पुरुषजन्य प्रस्तुतिसहित प्रणयप्रेममा मोड्थे आफ्नो प्रस्तुतिलाई तीर्थले । सीताको प्रतिवादपछि तीर्थ माइती र चेलीको सम्बन्धमा लगेर अर्थ्याउँथे आफ्ना प्रस्तुति । उनीहरू दुवैको प्रस्तुतिमा घरदेशप्रतिको मोह र परदेशप्रतिको बाध्यता निकै राम्ररी झल्कन्थ्यो । हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका तीर्थलाई ठाडो भाकामार्फत् नै सीताले अब नेपालमै बसी दुवै जना मिलेर ठाडो भाकाको संरक्षणमा जुट्न आग्रह गरेकी थिइन् । उनीहरू दुवैको प्रस्तुतिमा ठाडो भाका लोप हुँदै गएकोमा चिन्ता झल्केको थियो । उनीहरूको प्रस्तुतिलाई एक निजी टेलिभिजनले छायाङ्कनसमेत गरेको थियो ।



ठाडो भाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान गुरुङ ‘धम्पु’ले तीर्थको गायकीको खुलेर प्रशंसा गरे । उनले कवि तीर्थको अर्को रूप ठाडो भाकाको गायकका रूपमा देखिएको भन्दै तीर्थहरूको योगदानले ठाडो भाका जीवित रहने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको चाँजोपाँजो मिलाएको लमजुङ-पोखरा सम्पर्क समितिका अध्यक्ष विपिन अधिकारीले लमजुङले गौरवले लिन सक्ने नाउँ तीर्थराज अधिकारीले लमजुङको पहिचानसँग जोडिएको ठाडो भाकाप्रति देखाउनुभएको मोह थप गौरवको विषय भएको धारणा राखे । समितिले अधिकारीलाई सो अवसरमा सम्मान पनि गरेको थियो ।

समितिका सल्लाहकार कल्याण पन्तले ठाडो भाकाको परिचय दिँदै यो अब लमजुङको मात्र नभई सिङ्गो नेपाली साङ्गीतिक क्षेत्रको गहना बनेको बताए । ‘साधनाको स्वर्ण वर्षः मुक्तमणि तीर्थराज अधिकारी’ नामक पुस्तकका सम्पादक असफल गौतमले तीर्थलाई साहित्यिक तीर्थका रूपमा चिनाए । केही समयका लागि नेपाल आएका उनी साहित्यिक र सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त रहेका छन् । उनको रचनामा रहेको लमजुङको सम्झना... गीत गायिका सावित्री शाहीले गाएकी थिइन् । अधिकारीले लमजुङ जिल्लाका साविकका ६१ ओटै गाउँ विकास समितिलाई समेटेर तयार पारेको उक्त गीत लमजुङेहरूमाझ निकै लोकप्रिय छ ।

वि. सं. २००३ कार्तिक ३० गते लमजुङको दुराडाँडामा जन्मेका तीर्थराज अधिकारी नेपाल सरकारको उपसचिव पदबाट निवृत्त भएका हुन् । हाल उनी संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ् ट्रस्टी सदस्य रहेका उनलाई सोही संस्थाले वि. सं. २०७३ मा मुक्तकमणि उपाधि प्रदान गरेको थियो । उनका जूनकिरी (कविता सङ्ग्रह), ऐना (कविता सङ्ग्रह), तीन लय तेह्र गीत (गीत सङ्ग्रह), झटारो (मुक्तक सङ्ग्रह), यो कसको हात हो ? (कविता सङ्ग्रह), बिरिमफूल (मुक्तक सङ्ग्रह), जूनका टुक्राहरू(मुक्तक सङ्ग्रह), दोभान (मुक्तक सङ्ग्रह) लगायतका कृतिहरू प्रकाशित छन् । उनका लमजुङको सम्झना र माया गरी दुई गीति एल्बम पनि बजारमा आएका छन् । उनको जीवनी र कृतित्वलाई समेटेर साधनाको स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी नामक कृति पनि अन्तर्राष्ट्रिय साहित्य समाजले प्रकाशन गरेको छ ।

करिब एक शताब्दीअघि लमजुङका देउबहादुर दुराले सुरु गरेका ठाडो भाका पञ्चसुब्बा गुरुङ, हर्कसुब्बा गुरुङ, भेडीखर्के साइँला, भक्ति दुरा, उत्तम गुरुङ, बुद्धिमान गुरुङ ‘धम्पु’,  सीता दुराहरूले गाएका छन् । पछिल्लो पुस्तासम्म यसलाई हस्तान्तरण गर्ने उद्देश्यले लमजुङमा ठाडो भाका लोककला प्रतिष्ठान क्रियशील छ । संस्थाले ठाडो भाकासम्बन्धी प्रशिक्षण तथा प्रतियोगिताहरू पनि सञ्चालन गर्दै आएको अध्यक्ष नवराज पहाडीले जानकारी दिए ।

 

पूरा पढ्नुहोस्...

Saturday, April 16, 2022

पोखरामा पारिजातको सम्झना

April 16, 2022
पोखरामा पारिजातको सम्झना

 


पोखरा । साहित्य शृङ्खला, पोखराको २३५ औं नियमित रचना वाचनको शृङ्खला एवम् २९ औं पारिजात स्मृतिको अवसरमा  पारिजातको व्यक्तित्व कृतित्वमाथि परिचर्चा शनिबार सम्पन्न भएको छ ।

पारिजातको जीवनी, कृतिहरूमाथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्राध्यापक डाक्टर रविलाल अधिकारिले चर्चा गरेका थिए । पारिजात शारीरिक रूपमा अशक्त भए पनि  त्यसलाई आफ्नो सपनाको बाधक बन्न नदिई साहित्य सृजना निरन्तर गर्दै आफ्नो जीवन नेपाली साहित्यलाई पूरै दिएको प्रसङ्ग उल्लेख अधकारीले उल्लेख गरे । प्रकृतिलाई माया गर्ने, सौन्दर्यप्रेमी , सुधारवादी, मानवतावादी सोच भएकी पारिजात साहित्य लेखन, समाजसेवामा सक्रिय रहिरहने महिला हस्ती भएको र सम्पूर्ण महिलाहरूका लागि प्रेरणाको स्रोतका रूपमा अधिकारीले चिनाए ।

साहित्य शृङ्खलाका संस्थापक परिकल्पनाकार धनप्रसाद तामाङले पारिजात आफू पनि सक्त महिला हस्ती, त्यसमाथि पनि कम्युनिस्ट आन्दोलनका हिरो निर्मल लामाको सङ्गतले अझै उनलाई विचारमा परिपक्वता ल्याउन मद पुगेको बताए ।

शृङ्खलाका सल्लाहकार एवम् परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमीले अङ्ग्रेजी भाषामा पारिजातको यथार्थ जीवनी,  कृतिबारे चर्चा गरेका थिए ।


कार्यक्रममा वि नुमराज बराल, छन्दिका, छन्दमणि, गीताञ्जली साहित्य परिवारका अध्यक्ष  रामनाथ अधिकारी सँगी, निवर्तमान अध्यक्ष लोकनाथ पुडासैनी र सल्लाहाकार बिष्णु अल्पविराम, गी तिवारी,  चन्द्रावती वाग्ले, सन्तोष  न्यौपाने, सन्तोष पौडेल, प्रबिना पौडेल, संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीलगायतले आफ्ना तथा पारिजातका सिर्जना सुनाएका थिए ।

संस्थाका उपाध्यक्ष एवम् सृजना आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्यका साथ हातमा घडी छु... रमाइलो प्यारोडी गीत गाएर सुरुमै हल तताएका थिए

संगम सांस्कृतिक मन्च, नेपालका सचिव विकास लुङ्गेली र डिबी बान्तवाले साङ्गीतिक प्रस्तुति राखेका कार्यक्रमको साञ्चालन सचिव काजी गाउँले गरेका थिए भने अध्यक्षता शृङ्खलाकी अध्यक्ष लक्ष्मी थापाले गरेकी थिइन्

पूरा पढ्नुहोस्...

Saturday, April 9, 2022

राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ स्व. चेतन कार्कीलाई दिइने

April 09, 2022
राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ स्व. चेतन कार्कीलाई दिइने

पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिद्वारा सञ्चालित एवम् साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७८ बाट  चेतन कार्कीलाई मरणोपरान्त सम्मान गरिने भएको छ ।

मञ्चका सल्लाहकार सरुभक्तको संयोजकत्वमा सूर्य खड्का ‘बिखर्ची’ र सरस्वती श्रेष्ठ सरू सदस्य तथा अध्यक्ष रामजीप्रसाद आचार्य र पुरस्कारका संस्थापक विष्णु अल्पपविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले स्व. चेतन कार्कीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको शनिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ ।



नेपाली मुक्तक लेखनको प्रारम्भदेखि समकालीन मुक्तक लेखनमा सक्रियतासहित विशिष्ट योगदान पुर्‍याउनुभएका स्व. चेतन कार्की (वि.सं. १९९५ कात्तिक २२- २०७८ जेठ २) नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा मुक्तककार हुन् । उनको जन्म स्याङ्जाको बहाँटारी, थुम, आरुखर्कमा भएको थियो । उनी दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन् । उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारादेवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठलगायतले स्वर दिएका छन् ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा, सरुभक्त र तेजनाथ घिमिरे सम्मानित भइसकेका छन् ।

सोही अवसरमा आयोजित मञ्चको नियमित मुक्तक वाचन कार्यक्रममा चार दर्जनभन्दा बढीले आफ्ना रोज्जा मुक्तक सुनाएका थिए । मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवीन भण्डारीले गरेका थिए ।


पूरा पढ्नुहोस्...

जनार्दनको गजल सङ्ग्रह सार्वजनिक, ४ जनालाई शुक्ला साहित्य पुरस्कार

April 09, 2022
जनार्दनको गजल सङ्ग्रह सार्वजनिक, ४ जनालाई शुक्ला साहित्य पुरस्कार

पोखरा । गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ ।

शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी वासिन्दाभन्दा बढी गण्डकी प्रदेशकै एक महत्त्वपूर्ण स्रष्टाका रूपमा आफूले चिनेको स्मरण गरे । आफूले चिनेदेखि नै दाहाल एक धैर्यशील सर्जक भएको उनको भनाइ थियो । गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक व्यक्तित्वबाट पनि आफू प्रभावित भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले सुनाए ।

कृतिको समीक्षा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले दाहालको ‘यी मान्छे, यी नजर’ गजल सङ्ग्रहभित्र गेय गुणले युक्त गजलहरू समेटिएको बताए । समसामयिक धाराका प्रतिभाशाली गजलकारका रूपमा दाहाललाई सङ्ग्रहले स्थापित गर्ने उनको भनाइ थियो । ‘जनार्दन दाहाल जीवन र जगतका विसङ्गतिहरूलाई शालीन प्रहार गर्ने गजलकार हुन्’ प्रभावीले भने, ‘शास्त्रीय बहरमा पनि गजल लेख्ने रहर कृतिमार्फत् देखाए पनि स्वनिर्मित लयविधानमै लेखिएका उनका गजलहरू सशक्त छन् ।’ उनले दाहाललाई परिपक्व गजलकार रूपमा चिनाए । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ ओटा गजल समेटिएका छन् ।

यसअघि दाहालका २०६३ मा ‘मधुरिमा’ र २०६५ मा ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह प्रकाशित छन् । २०६४ मा ‘कविको मृत्यु’ कविता सङ्ग्रह पनि पाठकसामु ल्याएका उनको ‘यी मान्छे, यी नजर’ चौथो कृति हो । झापाको अर्जुनधारामा जन्मेका गजलकार दाहाल विगत २ दशकदेखि तनहुँको दुलेगौँडामा रही साहित्य र शिक्षाका क्षेत्रमा क्रियशील छन् । उनी शुक्ला साहित्य सङ्गमका पूर्व अध्यक्षसमेत हुन् ।

यसै बिच, शुक्ला साहित्य सङ्गमले ४ जना स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिम्बकवि रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार, कवि अनिल श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्ला प्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण-शुक्ला बाल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित प्रतिभा रमेश श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको परिचय नारायण श्रेष्ठ, आनन्दसुन्दर श्रेष्ठ, टुकादेवी आचार्य र आकाश अधिकारीले दिएका थिए । सोही अवसरमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देल, आकाश अधिकारी, जुनु खड्का, टुकादेवी आचार्य, जीवन सागर, टीकाराम पौडेल शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।

सहसचिव सुरज लम्सालको सञ्चालन र सदस्य युवराज पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा पञ्चमुनिदेव माविका प्रधानाध्यापक ध्रुवकुमार मल्ल, संस्थाका संरक्षक शेषमणि आचार्य र सल्लाहकार मोती पौडेलले शुभकामना दिएका थिए ।

सोही अवसरमा सम्पन्न १८० औँ नियमित काव्य शृङ्खलामा अनुप लामिछाने, यामप्रसाद सापकोटा, शान्ता बाँस्तोला, मोहन भुजेल, सुपुन पौडेल, कविता मानन्धरलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । सङ्गमले हरेक महिनाको अन्तिम शनिबार काव्य शृङ्खला सञ्चालन गर्दै आएको छ ।

पूरा पढ्नुहोस्...