समीक्षा- कवि भूपी शेरचन र उनको ‘सहिदहरुको सम्झनामा’ कविता - रुपिन्द्र प्रभावी

Monday, August 14, 2017

समीक्षा- कवि भूपी शेरचन र उनको ‘सहिदहरुको सम्झनामा’ कविता

कवि भूपी शेरचन र उनको ‘सहिदहरुको सम्झनामा’ कविता
                                                                                                                              - रुपिन्द्र प्रभावी


परिचय :
वि. सं. १९९२ साल, पुस १० गते मुस्ताङको थाकटुकुचेमा जन्मेका भूपेन्द्रमान शेरचन नेपाली साहित्यका क्षेत्रमा भूपी शेरचनका नामले परिचित छन् । भूपेन्द्रमान शेरचनका नाममा सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोराका रुपमा जन्मेका भूपीले भूपेन्द्रमान ‘सर्वहारा’का नामबाट २०१० सालमा ‘परिवर्तन’ नाटक लेखेका छन् । यस्तै, २०११मा सर्वहाराका नामबाट ‘नयाँ झ्याउरे’ र २०१५मा बी. एम. शेरचनका नामबाट ‘निर्झर’ पनि लेखे । उनले औपचारिक रुपमा २०२५ मा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कवितासङ्ग्रह)मार्फत् नै आफूलाई भूपी शेरचनका नामले चिनाएका हुन् । बहुनामका स्रष्टा उनी नेपाली साहित्यका सर्वाधिक शक्तिशाली कविहरुको पङ्क्तिमा भूपी शेरचनकै नामबाट ससम्मान विराजमान छन् । 
पाँच वर्षकै उमेरमै आमा गुमाएका उनले वि. सं. २०१२मा ओमकुमारीसँग पहिलो र २०२५मा कान्तिसँग दोस्रो बिहे गरेका थिए । १०÷१२ वर्षकै उमेरदेखि बनारसमा अध्ययन गर्न पुगेका उनले स्नातकसम्मको अध्ययन गरे । अध्ययनकै क्रममा माक्र्सवादी दर्शनबाट प्रभावित भूपीको साहित्यिक लगाव भने २००६ सालदेखि नै रहेको देखिन्छ । उनलाई सर्वाधिक चर्चित र लोकप्रिय बनाएको कवितासङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ले वि. सं. २०२६को साझा पुरस्कार प्राप्त ग¥यो । तीसको दशकपछि लामो समय कविता साधनाबाट नै टाढिएका उनले नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भएर पनि नेपाली साहित्यको सेवा गरे । उनका पछिल्ला चरणका केही कविताहरु समेटेर ‘भूपी शेरचनका कविताहरु’ (२०६१) नामक कृति पनि प्रकाशन गरिएको पाइन्छ । यहाँ भने उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’भित्र समेटिएको ‘सहिदहरुको सम्झनामा’ कविताबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
भूपीसँग सङ्गत गरेका कवि श्यामलको भनाइमा भूपी शेरचन आधुनिक नेपाली कविताका सर्वाधिक लोकप्रिय कविका रुपमा जिउँदै छन् । उनी राणा शासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अबलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अङ्गीकार गरे । उनले जनवादी नारालाई कलात्मक रुप दिए र रिमालले कोरेको गद्य कविताको राजमार्गलाई ‘सिमेन्टेड’ गरे । उनले आधुनिक नेपाली कविताको भाषालाई विषयवस्तु र रुपले समृद्ध पारे ।

‘सहिदहरुको सम्झनामा’ कविताको चिनारी :
कवि भूपी शेरचनको वि. सं. २०२६ मा साझा पुरस्कार प्राप्त पुस्तक ‘घुम्ने मेचमाथि अन्धो मान्छे’का अधिकांश कविताहरु लोकप्रिय छन् । मेरो चोक, मैनबत्तीको शिखा, मेरो देश, घुम्ने मेचमाथि अन्धो मान्छे, घण्टाघर, हो–चि–मिन्हलाई चिठी, यो हल्लैहल्लाको देश हो, भूपी शेरचन, मेरा साथीहरु आदि निकै लोकप्रिय कविताहरु नेपाली कविताप्रेमीको हृदयमा बास बसेका छन् । उनका लोकप्रिय कविताहरुमध्येको अर्को एउटा महत्त्वपूर्ण कविता हो— सहिदहरुको सम्झनामा ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रका लागि बलिदानी भएका सम्पूर्ण सहिदहरुको वीरगाथा गाउँदै उनीहरुप्रति सम्मानभाव जनाइएको यस कविता झ्याउरे लयमा रचित कविता हो । वि. सं. २०१९ मा ‘रचना’ साहित्यिक पत्रिकामा पहिलोपल्ट छापिएको यस कविता उनले आफ्नो चर्चित कवितासङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा समावेश गरेका छन् । जम्मा १८ हरफमा संरचित यस कविता गीतिशैलीमा लेखिएको छ ।

‘सहिदहरुको सम्झनामा’ कविताको मूल भाव :
वि. सं. १९०३ मा सुरु भएको निरङ्कुश र खुनी राणा शासनका विरुद्धमा लागेबापत स्वतन्त्रता र प्रजातन्त्रप्रेमी युवाहरु शुव्रmराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई वि. सं. १९९७ मा राणाहरुले फाँसी दिई व्रmूर हत्या गरे । नेपाल आमाका ती वीर सपूतहरुले भने हत्याराप्रति उपहास गर्दै हाँसी—हाँसी मृत्युलाई स्विकारे तर स्वाभिमान गुमाउन चाहेनन् । सहादत प्राप्त तिनै चार युवाहरुको सम्मानमा कवि भूपी शेरचनले ‘सहिदहरुको सम्झनामा’ कविता लेखेका हुन् ।
रातपछि बिहानसँगै उज्यालो घाम उदाउनका लागि आकासमा चम्केका ताराहरु झर्नुपरे जस्तै तानाशाहीहरुको खुनी पञ्जा तोड्न र दाह्रा भाँच्नका लागि कोही न कोहीले बलिदान दिनै पर्ने हुन्छ । अन्यथा समय कोसौं टाढा पुगिसक्दा पनि देश भने पछाडि परि नै रहन्छ । वीरहरुले रगतको भेटी चढाएपछि मात्र देशमा प्रजातन्त्र र स्वतन्त्रताको रातो घाम उदाउँछ । देशमा विद्यमान दासता, अन्याय, अत्याचार, शोषण, उत्पीडन, अशिक्षा, असमानताजस्ता तमाम अन्धकारका अवशेषहरुले बिदा लिनका लागि वीरहरुको रगतको बम विस्फोट हुनै पर्छ । भावी पुस्ताले सम्झना गर्ने गरी स्वाधीन राष्ट्र हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य पनि हो । यस्तो कर्तव्यबाट च्यूत भए हामीलाई भावी पुस्ताले त पटकपटक घृणा गर्ने छन् नै, इतिहासले पनि धिक्कार्ने छ ।
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला ।

हाम्रा सहिदहरुले बगाएका रगतको जगमा टेकेर आज हामीले स्वतन्त्रतापूर्वक सास फेर्न पाएका छौं, खुसीका साथ जीवन बाँच्न पाएका छौं । उनीहरुले ज्यानको बलिदान नगरेका भए हामीले आज यो खुसी र स्वतन्त्रताको उपभोग गर्न पाउने थिएनौं । त्यसैले सहिदले लगाएका गुन बिर्सनेले कहिल्यै पनि सुख पाउन सक्दैन । तिनलाई दिनरात इतिहासले थुक्ने छ, सहिदका लासले पटक—पटक झस्काइरहने छ । सहिदको सम्मान त जति गरे पनि कमै हुन्छ, उनीहरुको बलिदानीको सम्मानका लागि हामीले आफ्नो ठाउँबाट राष्ट्र र राष्ट्रियताको रक्षाका लागि सधैं सङ्घर्ष गर्नुपर्ने सन्देश कवि भूपी शेरचनले प्रस्तुत कवितमार्फत् पेस गरेका छन् । विभिन्न बहानामा राष्ट्रिय स्वाधीनतामाथि प्रहार भइरहेका बेला अझ आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्ने बेला आएको छ । बरु ज्यानै दिन पनि किन नपरोस् ।
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।

सहिदहरुको बलिदानीको प्रशंसामा कविता :
सहिदहरुको सम्झनामा कविता कवि शेरचनले सहिदहरुको सम्मान गर्दै उनीहरुको बलिदानी भावनाको प्रशंसामा लेखेका हुन् । उनले जनताको स्वतन्त्रताका लागि व्यक्तिगत स्वार्थ र त्रासलाई तिलाञ्जली दिई राष्ट्रिय हितका लागि समर्पित वीर सपूतहरुको मुक्त कण्ठले गुणगान गाएका छन् कवितामा । उनले हाम्रा सहिदहरुको प्रशंसा मात्र गरेका छैनन्, त्यससँगै आवश्यक पर्दा देशका लागि बलिदानी हुनसमेत उत्प्रेरणा प्रदान गरेका छन् । देशले रगत माग्दा एक थोपा पसिना पनि बगाउन नचाहनेहरुलाई इतिहासले नै धिक्कार्ने मत राख्दै शेरचनले राष्ट्रप्रतिको कर्तव्यबोधसमेत आम मानिसलाई गराएका छन् । व्रmूर राणा शासनको अन्धकारपछि स्वतन्त्रता र प्रजातन्त्ररुपी बिहान आउनका लागि देशका सपूत ताराहरुले बलिदान दिनै पर्दछ । कविले नेपालीले फेर्ने प्रत्येक सास र भोग्ने खुसीको श्रेय सहिदलाई दिएका छन् । 
हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको ।
नेपालको इतिहासका विभिन्न कालखण्डहरुका ज्ञात÷अज्ञात सहिदहरुको यस्ता महान् बलिदानको खुलेर प्रशंसा गरेका कविले उनीहरुको बलिदानबाट प्रेरणा लिन पनि आग्रह गरेका छन् ।

र अन्तमा,
कवि भूपी शेरचन नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका एक जुझारु कवि हुन् । जीवनका उत्तरार्धमा आफ्ना मौलिक विचारमा केही विचलन देखिए पनि समग्रमा उनको साहित्यिक यात्रा अद्यापि मननयोग्य नै मानिन्छ । ‘सहिदहरुको सम्झनामा’ उनको वैचारिक धरातललाई समेत प्रतिनिधित्व गर्न सक्ने शक्तिशाली कविता हो । ‘यो नेपाली शिर उचाली...’ जस्ता चर्चित गीतका रचनाकार शेरचन प्रशस्त गीतिचेतना पनि भएका कवि हुन् । यस कवितामा पनि उनले झ्याउरे लयको प्रयोग गरेर आफ्नो कविता कलाको नमुना पेस गरेका छन् । मूलतः गद्य कवितामा पनि अन्तरलयको प्रचूर प्रयोग गर्ने कविले गद्य कवितामै आफूलाई केन्द्रीत गराएका छन् । उनका सरल बिम्ब र प्रतीकहरुले काव्यरसको तलाउमा जो कसैलाई डुबाउने गर्दछन् । नेपाली कवितामा उनकै यात्रालाई पछ्याउनेहरु प्रशस्त भइसकेका छन् तर अझैसम्म पनि उनी नेपाली कविताका क्षेत्रमा सर्वाधिक लोकप्रिय कविहरुमध्ये अग्रपङ्क्तिमै उभिएका छन् । 

सन्दर्भ ग्रन्थ सूची :
थापा, मोहन हिमांशु (२०६६), साहित्य परिचय , पाँचौं संस्करण, ललितपुर ः साझा प्रकाशन ।
प्रधानाङ्ग, विकासमान र अन्य (२०४७) (सम्पा.), भूपी स्मृति ग्रन्थ, पोखरा, पोखरेली युवा सांस्कृतिक परिवार ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं ः नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठान । 
शेरचन, भूपी (२०२५), घुम्ने मेचमाथि अन्धो मान्छे, ललितपुर ः साझ प्रकाशन ।
त्रिपाठी, वासुदेव र अन्य (२०४६)(सम्पा.), नेपाली कविता भाग– ४, पुल्चोक ः साझा प्रकाशन । 


सहिदहरुको सम्झनामा
                                             - भूपी शेरचन
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए 

ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !






No comments:

Post a Comment