नेवारी संस्कार र संस्कृति : सङ्क्षिप्त जानकारी – रुपिन्द्र प्रभावी - रुपिन्द्र प्रभावी

Thursday, November 26, 2020

नेवारी संस्कार र संस्कृति : सङ्क्षिप्त जानकारी – रुपिन्द्र प्रभावी

नेवारी संस्कार र संस्कृति : सङ्क्षिप्त जानकारी

– रुपिन्द्र प्रभावी 

परिचय 

काठमाडौँ उपत्यका मूल थलो रहेको नेपालका आदिम जातिहरूमध्ये एक जातिका रुपमा  रहेको नेवार जातिको जनसङ्ख्या नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार १३,२१,९३३ रहेको छ । आजको सन्दर्भमा काठमाडौँ उपत्यकाबाहेक सात ओटै प्रदेश र देशबाहिर पनि नेवार जातिको बसोबास रहँदै आएको पाइन्छ । ‘नेवार’ शब्दको अर्थ ‘नेपालका बासिन्दा’ भन्ने हुने हुनाले नेपाल देशसँग पनि यस जातिको प्रत्यक्ष परोक्ष सम्बन्ध रहेको मानिन्छ । यस जातिको आफ्नै भाषा, लिपि, संवत, संस्कार र संस्कृतिहरू छन् । समयको विभिन्न अन्तरालमा काठमाडौँ उपत्यकामा शासन गर्न पुगेका शासकहरूसँग गएका अन्य जातिका मानिसहरू पनि पछि नेवारी संस्कारहरू अपनाएर नेवार जाति नै भएको देखिन्छ । यस अर्थमा पनि जातीय पहिचानको आधारका रुपमा हेरिने अनुहार र नश्लले मात्रै नेवार जातिलाई छुट्याउन कठिन हुने गर्दछ । यसरी हेर्दा कतिपय आर्य, मङ्गोल वा अन्य समूहका जस्ता नेवारहरू देखिन्छन् । मूल रुपमा नेवार एक नेवारी भाषिक समुदायका रुपमा चिनिन्छ ।

‘ईही’को अर्थ ‘विवाह’ हो । यसले नेवार्नी कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ ।


धार्मिक पक्ष

नेवार जातिमा मूल रुपमा हिन्दु र बौद्ध धार्मिक सम्प्रदाय रहेका पाइन्छन् । केही मात्रामा मस्लिम र इसाई धर्मावलम्बीसमेत नेवार जातिमा पाइन्छ । यस समुदायमा जुनसुकै धर्म मान्ने भए पनि धार्मिक सहिष्णुता भने प्रबल रुपमा रहेको पाइन्छ । सामान्यतया बौद्ध समुदायले बज्राचार्य र हिन्दु समुदाय ब्राह्मण पुरोहित राख्ने प्रचलन रहेको पाइन्छ । अचाजू, जोशीहरूले पनि पुरोहितको काम गरेको पाइन्छ । नेवार समुदायले घरभित्र जन्मदेखि मृत्यु संस्कारसम्मका पूजाहरू गर्ने गर्दछन् । यस्तै, पूर्खा पूजा, भूमि पूजा, प्रकृति पूजा, सामूहिक पूजा आदि पूजा पनि यस समुदायमा प्रचलनमा रहेको पाइन्छ ।


संस्कार 

नेवार समुदाय खास गरी हिन्दु र बौद्ध गरी दुई समुदायमा रहेका पाइन्छन् । हिन्दुका सोह्र र बौद्धका दस संस्कार रहेका मानिन्छन् । यी दुवै समुदायका अधिकांश संस्कारहरू मिल्दाजुल्दा रहेका देखिन्छन् । जन्मपूर्वदेखि मृत्युपश्चात्सम्मका संस्कारहरूबारे यहाँ सङ्क्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।


क) जन्मपूर्वको संस्कार : महिलाले गर्भधारण गरेको ३ महिनामा श्रीमान्ले दही राखेर भोजन गराउने चलन रहेको पुंसवन र गर्भवती महिलालाई आवश्यक आरामको पूर्ति गर्नका लागि गरिने विभिन्न कार्य समेटिने सीमन्तोनयन संस्कार गरी दुई संस्कार जन्मपूर्वका संस्कारहरू हुन् ।


ख) जन्म संस्कार (जातकर्म) र नामकरण संस्कार (नामकर्म) : बच्चा जन्मेपछि चोख्याउनका लागि ६ वा ११ दिनमा यो संस्कार गरिन्छ । अजी (बज्यै) ले सूर्यदर्शन र सूर्यपूजनपछि चोख्याउने यस संस्कारमा बच्चा र आमाको पूजा गर्ने प्रचलन छ । यही अवसरमा बाबुलाई बच्चा स्विकार्न लगाएर हस्तान्तरण गरिन्छ । बच्चाका नाममा फुपू (निनी) ले दीप प्रज्वलन गरी घिउ र मह चटाउने (घृतमधुप्राशन) पनि यही दिनमा गरिन्छ । यही दिनमा बच्चाका अजी (बज्यै), आमाबाबु, मामा, फुपू आदिबाट नाम राखी छोरा भए दायाँ र छोरी भए बायाँ कानमा सुटुक्क भन्ने गरिन्छ । आजभोलि पुरोहित राखेर चिना बनाउन लगाउने प्रचलन पनि छ । 


ग) सुत्केरी र शिशु स्याहार संस्कार : बच्चाको चोख्याउने कार्य सकिएपछि करिब एक महिनाको शिशु र सुत्केरीलाई माइतबाट लिन आई लैजाने परम्परा नेवारी समुदायमा छ । माइतमा कम्तीमा एक÷डेढ महिना बसेपछि पुनः घर फर्किने चलन छ ।


घ) अन्नप्राशन र कर्णभेद संस्कार : छोरीको पाँच महिना र छोराको ६ महिनामा घरको मूलीले खाना खुवाई अन्नप्राशन गर्ने चलन छ । चौरासी व्यन्जनलाई विशेष थालीमा राखेर असर्फीले खाना खुवाइने यस संस्कारसँगै सुनको मुन्द्रीेले कान छेड्ने चलन रहेको पाइन्छ । यसै समयमा बच्चालाई बाला, कल्ली आदि गहना लगाइदिने प्रचलन पनि छ ।


ङ) बुसँखा संस्कार : यो संस्कार जन्मेदेखिको केश मुण्डन गरिने संस्कार हो । खास गरी छोरालाई आफ्नो मामाले पहिलो पटक कपाल काटिदिएर नयाँ वस्त्र र अन्य उपहार दिने चलन रहेको छ ।


च) बेलविवाह संस्कार (ईही) : बालिका सात वर्ष भएपछि बेललाई साक्षी राखेर सिन्दूर हाल्ने यो संस्कार प्राचीन समयमा रहेको बालविवाह प्रथाको बेलादेखि चलेको मानिन्छ । ‘ईही’को अर्थ ‘विवाह’ हो । यसले नेवार्नी कहिल्यै विधवा नहुने मान्यता स्थापित गरेको छ ।



छ) गुफा राख्ने र सूर्यदर्शन संस्कार : छोरी रजस्वला हुनुपूर्व १२ दिनसम्म सूर्य र कुनै पुरुषको अनुहार नेहरी कोठामा राखिने परम्परालाई गुफा राख्ने भनिन्छ । केटी साथीकै व्यवस्था गरिने यस संस्कारमा विभिन्न प्रव्रिmया पूरा गरी १२ औँ दिनमा छोरीलाई दुलही जस्तो सिँगारेर सूर्य दर्शन गराउने गरिन्छ ।

ज) विवाह संस्कार : विवाहका लागि लमीले कुरा मिलाएपछि विवाह पक्का भएको जनाउन वर पक्षबाट बधु पक्षले केही कोसेलीसँगै सुपारी लिने चलन छ । सुपारी लिएपछि स्वयमवर गर्ने चलन छ । आजभोलि विवाह मण्डपमै स्वयमवर गर्ने परिपाटी पनि विकास भएको छ । मूलतः मागी विवाह गर्ने चलन रहेको यस समुदायमा फुपूचेली, मामाचेली विवाहको चलन छैन । पति वा पत्नी जीवीत छँदैमा अर्को विवाहको चलन नरहे पनि मृत्युपछि भने कुनै बन्देज रहेको पाइँदैन ।


ज) मृत्यु संस्कार : नेवार समुदायका कुनै मानिसको मृत्यु भएमा जलाएर अन्त्येष्टि गर्ने परम्परा छ । गुठीयारहरू मिलेर घाट सफा गरी चितामाथि शवलाई राखी सबैले तर्पण दिइन्छ । मृतकका छोराले वा अन्य आफन्तले तीनपल्ट घुमेर गोडा ढोगी दागबत्ती दिएपछि आगो लगाएर अन्त्येष्टि गरिन्छ । मूल रुपमा १३ दिनसम्म सोतो वस्त्र लगाएर वा नलगाई व्रिmयाकर्म गरेपछि चोख्याउने चलन छ । यस बीचमा थलोमा गएर खाना खाने, पुराण लगाउने, पितृलाई भात खुवाउने आदि चलन पनि रहेको पाइन्छ । कतिपयले ४५ दिनसम्म बरखी बार्ने गर्छन् भने कतिपयले चोखिएपछि अन्य वस्त्र लगाउने गर्दछन् । वार्षिक वा अर्धवार्षिक रुपमा तिथिअनुसार श्राद्ध गर्ने परम्परा नेवार समुदायमा रहेको पाइन्छ ।

माथि उल्लिखित संस्कारका अलावा नेवार समुदायमा जन्मदिन (बुँदिं), जंको (वृद्ध रथारोहण) संस्कार आदि संस्कारहरू रहेका पाइन्छन् ।


चाड र संस्कृति 

भनिन्छ, ‘नेवार समुदायमा ३६५ दिनमा ३६६ ओटा चाड पर्छन् ।’ नेवारी समुदायका चाडपर्वहरू सयौँ छन् । चाड र संस्कृति फरक कुरा भए पनि अधिकांश नेवारी संस्कृतिहरू चाडसँग जोडिएका पाइन्छन् । कतिपय संस्कार नै संस्कृतिका रुपमा अघि बढेको पनि पाइन्छ । समयको परिवर्तनसँगै कतिपय चाडपर्व र संस्कृतिहरू मनाउन छोडिसकिएको पाइन्छ । वैशाख सङ्क्रान्ति, अक्षय तृतीया, वैशाख पूर्णिमा, आमा औँसी, सिठीनखः, ज्यापून्हि, गाईजात्रा, घन्टाकर्ण, बुबा औँसी, गणेश चौथी, इन्द्रजात्रा, मोहनी, म्हपूजा, तिहार, यःमरी पुन्हि, माघे सङ्व्रmान्ति, घोडेजात्रा आदि नेवार समुदायले मनाउने मुख्य पर्व तथा संस्कृतिहरू हुन् । 

समयबजी, चटामरी, योमरी, बारा आदि मूल रुपमा नेवारी खाना हुन् । चिउरा, भटमास, छोइला, कचिला, सुकुटी, भुटन, अण्डा, मासुका अनेकौँ परिकारहरू पनि नेवारी खानामा पर्दछन् ।

भोटो जात्रा, कुमारी जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा, लाखे नाच आदि पनि नेवारी संस्कृति हुन् । नेवारी संस्कृतिमा खानाको पनि उत्तिकै महत्त्व रहेको पाइन्छ । समयबजी, चटामरी, योमरी, बारा आदि मूल रुपमा नेवारी खाना हुन् । चिउरा, भटमास, छोइला, कचिला, सुकुटी, भुटन, अण्डा, मासुका अनेकौँ परिकारहरू पनि नेवारी खानामा पर्दछन् ।



वेशभूषा र पेसा 

नेवार समुदायका महिलाहरूको मौलिक पोशाक हाकुपटासी र पुरुषहरूको दौरा सुरुवाल र टोपी हो । मूलतः हातले बुनिएका लुगा लगाउने जाति हो नेवार । मूल पेसा व्यापार र कृषि बनाएका नेवार समुदायका मानिसहरू इतिहासमा राजकाजमा समेत लागेका थिए । दर्जनौँ पेसाका आधारमा नेवार जातिका दर्जनौँ थरसमेत बनेका पाइन्छन् ।


भाषा, लिपि र संवत् 

नेवारहरूले बोल्ने भाषा नेवारी भाषा हो । चिनियाँ–तिब्बती (भोटबर्मेली) भाषा परिवारमा पर्ने यसलाई नेपाल भाषा पनि भनिन्छ । काठमाडौँ उपत्यका बोलिने भाषालाई स्तरीय मानिए पनि पोखरा, दोलखा, प्युठान, पाल्पा, बागलुङ, नेपालगन्ज, धरान, रामेछाप, धनकुटालगायतका ठाउँमा पनि नेपाल भाषाका वक्ताहरू प्रशस्त छन् । दोलखाली, पहरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चित्लाङ, तोताली आदि भाषिकासमेत नेपाल भाषामा रहेको पाइन्छ । नेपाल भाषामा प्रशस्त साहित्य लेखन पनि भएको छ ।  यो नेपालमा बोलिने प्रमुख भाषाहरूमध्ये एक हो ।

नेपाल भाषाको आफ्नै लिपि छ । रञ्जना, ब्राह्मि, भुजिंमोल, कुटिला, हिंमोल आदि लिपिहरू नेपाल भाषाका लिपि हुन् । नेवार समुदायका समाजसेवी शङ्खधर साख्वाःले सुरु गरेको नेपाल संवत् नेवार समुदायले मान्दै आएका छन् । तिहारमा पर्ने म्हपूजाका दिनलाई नेपाल संवत्को नयाँ वर्ष मान्ने परम्परा छ ।

(यस लेख तयार पार्नका लागि विभिन्न अनलाइन मिडिया तथा अग्रजहरूसँगको कुराकानीलाई स्रोतका रुपमा प्रयोग गरिएको छ ।)


1 comment:

  1. पर्व उल्लेखगर्नुभएकोमा धन्यवाद।

    ReplyDelete