मृत्युले नै आत्महत्या ग¥यो भने के होला ? - रुपिन्द्र प्रभावी

Sunday, February 7, 2010

मृत्युले नै आत्महत्या ग¥यो भने के होला ?

कृति समीक्षा
मृत्युले नै आत्महत्या ग¥यो भने के होला ?
रुपिन्द्र प्रभावी ‘कटु’
अजम्बरी मृत्युले
यथार्थमै आत्महत्या गर्यो भने
सम्पूर्ण मान्छेहरु
सम्पूर्ण गैरमान्छेहरु
अजम्बरी हुनेछन्, मृत्युजस्तै । (पृष्ठ ४९,मृत्युको आत्महत्या )
हरेक प्राणीले आफ्नो जीवनसँगै मृत्युलाई पनि साथै लिएर आएको हुन्छ । मानौं , जीवनको ‘छाया’ँ मृत्यु होस यो साश्वत सत्य पनि हो । तसथर्ः मृत्यु अजम्बरी छ, यो अजेय शक्ति हो । यसलाई पराजित गर्ने सामथ्र्य सायदै कसैसँग होला । तर, स्वयम् मृत्युले नै आत्महत्या गरिदियो भने के होला ? सायद यो कल्पनाभन्दा बाहिरको भावना हो । यस्तो सोचाइ कमैको मनमा आएको हुन सक्छ । तर, राजकुमार ‘बगर भन्छन् – मृत्युले आत्महत्या ग¥यो भने सम्पूर्ण जीवन अजम्बरी हुनेछ, जसरी मृत्यु आजसम्म अजम्बरी छ । असम्भव भन्ने केही हुने छैन, सिवायमृत्यु । यी प्रसङ्ग कवि राजकुमार ‘बगर’को मृत्यृको आत्महत्या नामक कविता कृतिका हुन् । ‘मृत्युको आत्महत्या’ शीर्षकमा दुई कविता लेखी यही कविताको शीर्षकबाट पुस्तकको न्वारन गरेका बगरले अर्को शीर्षकवितामा आफ्नो सपनामा मृत्युको इच्छापत्रमा हस्ताक्षर गरेर मृत्युले आत्महत्या गरेको उल्लेख गर्दै साँच्चै मृत्युले आत्महत्या नै ग¥यो भने आफन्तको मृत्यु हुँदा मृत्युलाई तथानाम गाली गर्ने मान्छेले साँच्चै खुसीयालीको महोत्सव ।मनाउन सक्लान् त ! भन्ने कुरामा शङ्कासमेत व्यक्त गरेका छन् । ‘उडेर जून छुन्छु भन्थें....’ गीतबाट चर्चित गीतकारको कोटिमा उभिन सफल राजकुमार ‘बगर’ले यसअघि नै ‘आँसुका फूलहरू’ नामक गीत सङ्ग्रह प्रकाशन गरिसकेका छन् । आँसुुका फूलहरूभित्रका गीतहरूमा वेदनाको उच्च प्रस्तुती पाइन्छ । यसले उनलाई निराशावादी गीतकारका रूपमा चिनाएको छ । मृत्युको आत्महत्यामा चाहिँ अब निराश भएर मान्छेले आत्महत्या गर्नु पर्दैन, स्वयम् मृत्युले नै आत्महत्या गर्नेछ र मानिसको जीवन अजम्बरी हुनेछ भन्ने खालका आशावादी स्वर झल्किएको पाइन्छ । यद्यपि कतिपय कविताहरू यस सङ्ग्रहभित्र पनि निराशावादी नै पाइन्छन् । नेपाली आधुनिक र लोक गीतका लागि त राजकुमार ‘बगर’ पर्याय नै बनिसकेका छन् । उनका अधिकांश गीतहरूले चर्चाको उच्च शिखर चुमिसकेका छन् । यसबाट उनलाई सफल गीतकारका रूपमा कसैले चिनाइरहनु पर्दैन । अझ उनी त लोक गायनमा पनि उत्तिकै जमेका छन् । गीतकार र गायकमात्र नभई उनी एक सफल कवि पनि हुन् भन्ने कुरा उनको मृत्युको आत्महत्याले प्रमाणित गरेको छ । तनहूँमा जन्मेर पोखरेली परिवेशमा आफ्नो साहित्यिक प्रतिभा फुलाएपछि हाल उनी आफ्नो प्रतिभाको सुवास काठमाण्डौबाट सर्वत्र छरिरहेका छन् । उनको लेखनको प्रकाशन यात्रा पनि पोखराबाट नै प्रकाशित आदर्श समाज दैनिकबाट प्रारम्भ भएको कुरा कवि स्वयम्ले कृतिभित्र उल्लेख गरेका छन् । मृत्युको आत्महत्या ! सुन्दैमा पनि कतिपय पाठकहरू झस्किनु हुन्छ । धने, भुण्टी, सुन्तलीले बेरोजगारीको झोकमा, श्रीमान्को ज्यादती खप्न नसकेर वा गरिबीको पीडा शान्त पार्ने निहँुमा आत्महत्या गरेको खबर सायद नौलो होइन तर स्वयम् मृत्युकै आत्महत्या ! यो कसरी संभव छ ? सायद तपाईको जिकिर यस्तै हुनसक्छ । रवि नपुग्ने ठाँउमा कवि पुग्छन् रे । कवि बगरमा यही कुरा लागू भएको छ । ज्यादै कमले कल्पना गरेको कुरा उनले कल्पना गरेका छन् । मृत्युले नै आत्महत्या गरिदिए यहाँका सम्पूर्ण द्धेष, क्लेष वा बेइमानी र पीरहरू स्वतः खारेज हुने कल्पना उनको छ । मृत्युले नै आत्महत्या गरिदिए मान्छेले मान्छे पिएर ‘मृत्युपर्व’ मनाउने दिन पनि आउने थिएनस धनबहादुरहरूले अभावसँग लड्दा लड्दै विपन्नताको सडक दुर्घटनामा दुर्घटित भएर मृत्युसँग हार्नु पर्ने पनि थिएन र कसैले आफ्नै बेवारिसे लास बोकेर मलामी जानु पर्ने पनि थिएन । कवि राजकुमार ‘बगर’ माता सरस्वतीका वरद्पुत्र हुन् । उनी नेपाल आमाका प्रिय पुत्र पनि हुन् । त्यसैले उनी रणभूमिमा हुँदा होस् वा कर्मशील संघर्षको मैदानमा १२ घण्टा खटिरहँदा होस्, आमालाई संझेर चिठी लेखिरहन्छन् । चिठीमा उनी पराईका लागि पराईभूमिमा जिन्दगी च्याँखे थपेर लड्न विवश आमनेपाली छोराहरूको पीडा लेख्छन् र आमालाई यस्तै अभागी छोराहरू नजन्माउन आग्रह गर्छन् । उनी भन्छन् –“आमा ! हाम्रो नाङ्गो आङ् र भोको पेटको व्यथा अनि चुहिने झुपडीको कथा फेरिएर नयाँ बिहानीको सूर्योदय भयो भने म त्यही घामसँगै तिम्रो सपनाको माछीकाँडे डाँडाहरूमै पसिना सिँचाई गर्न आउने छु ।” कवि बगर राष्ट्रप्रेमी कवि हुृन् । उनी देश दुख्दा हाँस्न सक्दैनन् । आमजनता पीडामा डुब्दा आनन्दको घाम ताप्न असमर्थ हुन्छन् । रोम जल्दा बाँसुरीको धुनमा लठ्ठिने नीरो बाँच्न उनलाई कर्तव्यले दिँदैन । आमाको दूध खाएकै हो भने अब हरेक छोराले धर्म र कर्तव्य व्यूँझेर निभेको बत्ती जस्तो मातृत्वप्रेम पुनः बाल्नै पर्छ । (पृ. १२ आस्थाहरूको सिमाना) उनी आस्थाको सिमाना मेटेर विश्वासको समान धरातलमा हातेमालो गर्दै एउटै बाटोको र एउटै माटोको गीत गाउनु पर्नेमा जोड दिन्छन् । प्रकृतिका पुजारी कवि बगरभित्रको प्रकृति प्रेमी ह्रदय हिउँझंै पग्लिरहन्छ । उनी सौन्दर्यवादी कवि पनि हुन् । उनी कहिले फूलको सुन्दरताको व्याख्या गर्छन्, कहिले नारी सौन्दर्यको विचित्र वर्णन गर्छन् । नारीका अङ्ग–अङ्गमात्र हैन सिङ्गो मानसिकता पनि उनको कवि ह्रदयले निकटबाट स्पर्श गरेको छ । मानवताको त बगर अन्वेषक नै हुन् । उनी हरेक कवितमा मानवताको खोजीमा तल्लीन भेटिन्छन्, कहिले आन्तरिक गृहयुद्धमा हराएको मानवताको खोजीमा उनी भौतारिन्छन्, कहिले मानवीय स्वार्थभित्र लुप्त मानवता उनी खोज्छन् । खोक्रो र आडम्बरी आदर्शका जुलुसभित्र विलिन मानवताको त अस्थिपञ्जरमात्रै भए पनि हेर्ने तिर्खाले उनी सकुञ्जेल चिहान खोतल्छन् । जुलुसहरू स्वार्थका लागि पनि निस्कन्छन्, निस्वार्थ परिवर्तनका लागि पनि निस्कन्छन् । जुलुसहरू पीडकका पनि ओइरन्छिन्, पीडितका पनि धुइरिन्छन् । आममानिसलाई छुट्याउनै गा¥ह्रो पर्छ– कुन पीडित हो र कुन पीडक हो । तर, अब पनि हिजोकै आँखाले हेर्ने हो भने छद्मभेषी र असली रूप छुट्याउन गा¥है पर्छ । आफ्नो अधिकारका लागि लड्दा लड्दै सहिद बनेका मान्छेहरू अब मुर्दाहरूको जुलुस लिएर अधिकारकै लागि इन्क्लाबी नारा घन्काउने बेला भएको छ र तिनै सहिदहरूको रगत र पसिनाको भ¥याङ चढेर विलासिताको महल उक्लनेहरूमाथि धावा बोल्ने बेला भएको छ । साम्राज्यवादी मान्छेहरू साम्यवादी मान्छेहरू चिहानमाथि ठड्याइएका महलहरूमा बसेर मुर्दाहरूको जुलुस हेर्दै रातभरि जाग्राम निदाउँछन् (पृ.२४ जुलुस–२) जनताको पीडा बुझेर पनि नबुझेको अभिनय गर्ने घुम्ने कुर्चीमा रोवर्टहरूलाई अब जनताले नै चेतनाको सिरिञ्जले घोच्नुपर्ने बेला भइसकेको तर्फ कवि बगर जनताको ध्यानाकर्षण गराउँछन् । त्यसैले उनी जागरण कविताका स्रष्टा पनि हुन् । उज्यालोको विरूद्धमा निरन्तर क्रियाशील अँध्यारोप्रेमी लाटोकोसेराहरूका विरूद्ध उनी खुलेर बोल्छन् । जनताले धेरै ज्ञान हासिल गरे आफ्नो मनोमालिन्य धरासायी हुने कुतर्क गर्ने शासकहरूलाई उनले लाटोकोसेराको संज्ञा दिंदै धमिलो पानीमा माछा मार्ने कुचेष्टा गर्नेहरूप्रति खबरदारी पनि गरेका छन् उनले । देशमा यस्तै लाटोकोसेराहरूको कारणले पटक–पटक असह्य बिडम्बनाहरू निम्तिए । ‘सपनाहरूको आत्महत्या’ शीर्षात्मक कवितामा कवि राजकुमार भन्छन्– लक्ष्मीप्रसाद, भूपी शेरचन र हरिभक्त कटुवालजस्ता महान् गहनाहरू भोकभोकै मर्नुप¥यो, स्वाभिमानी माटोको गीत गाउने भक्तराज आचार्यजस्ता गायकहरू आफ्नै आँखाअगाडि आफ्नै जिब्रो थुतिएको हेर्न विवश भए भने जनताको शासनव्यवस्था कायम गर्न अहोरात्र खट्ने मदन भण्डारीहरू आफन्तकै हातबाट दुर्घटित हुनुप¥यो । यस्ता बिडम्बनाहरूको पीडा खप्न नसकेर उनका सपनाहरूले उनकै नयनतालमा आत्मदाह गरेपछि बरखी जीवन तड्पिरहन उनी वाध्य छन् । समयलाई पढ्न नसक्ने मान्छे सायद कवि हुँदैन । कविहरूको मूल आधार नै समय बोध हुने गरेको छ । युगचेतना कविताको मूल विशेषता पनि हो । तर, समय कसैको वशमा पर्दैन । यसको आफ्नै गति, यति र लय छ । समयसँग मौलिक हठ र घमण्डीपन पनि विद्यमान छ । मान्छे समयसँगै जन्मँदा मृत्युको समय अवश्यम्भावी छ भन्ने जान्दा जान्दै पनि जन्म लिन्छ । समयसँग हरेक मोडमा सम्झौता गर्दै मान्छेले जिन्दगी घिसारिरहेको हुन्छ । मानिस निरीह समयको दास बन्छ । समयले जस्तो रूप लिएर आए पनि सहनु त पर्छ तर समयलाई जीवन अनुकुल बनाउने वा जीवनलाई समयअनुकुल बनाउने कसरतचाहिँ गरिरहनुपर्ने धारणा उनको छ । भूगोलको पूर्व छेउमा रङ्गीन हिउँले पुरिएका छन् श्यामश्वेत समयका रङगीन तस्बिरहरू त्यही हिउँ खोतल्दैखोतल्दै जिउँछ मान्छे त्यही हिउँ खोतल्दाखोतल्दै मर्छ मान्छे । (पृष्ठ ८५ हिउँमा पुरिएका .....)
मानवीय जीवनलाई अत्यन्त नजिकबाट पढ्न सक्ने राजकुमार ‘बगर’ जीवन गायक हुन् । उनले जीवन बाँच्नका लागि अनेकौं प्रार्थना गरेका छन् । जीवनका अनेकौं भञ्ज्याङ्ग, देउराली र उकालीका सुस्केराहरू पस्केका छन् आफ्ना कवितामा । भावनाका कुबेर बगरका कवितामा भावनाको प्रचूरता पाइनु सायद अस्वाभाविक होइन तर भावनाको स्वच्छन्द गगनमा बेलगाम विचरण गर्दा उनी आफ्नो गुुँड नै बिर्सेर शुन्यतामै हराएका छन् कहींकतै । स्वच्छन्दतावादका नाउँमा कोरा कल्पनाको विषयवस्तु अँगाल्नु उनको सामान्य कमजोरी हो । जीवनसँंग मृत्यु जोडिएर आउने यथार्थलाई आर्दश विचारका माध्यमबाट प्रकट गर्ने उनी आदर्शोन्मुख यथार्थवादमा आस्था राख्ने कवि हुन् । सरल बिम्बको जटिल प्रयोग गर्न सक्नु उनको खुबी हो र पनि कविता सुललित हुनुपर्नेमा उनको ध्यान पुग्नु जरुरी छ । हुनत उनी कुशल गीतकार हुन् । गीतमा पनि सरलताभित्रको भावगाम्भीर्य उनको गीति वैशिष्ट्य नै हो । उनका अधिकांश कविता पनि गीति चेतनाबाट पृथक छैनन् । आमा, मृत्यु, जिन्दगी र मान्छे उनका प्रिय बिम्बहरु हुन् । यस सङ्ग्रहमा उनले मान्छे र मृत्यु बिम्बको कुशल खेल खेलेका छन् । ‘मृत्युको आत्महत्या’ कविता सङ्ग्रहले उनलाई सफल कविका रुपमा चिनाएको छ । ४२ वटा शीर्षकमा ४९ वटा कविता समेटिएको यस कृतिमा प्रकाशित रमेश पौडेलको आवरण चित्रले पनि पुस्तकलाई आकर्षक बनाएको छ । चिटिक्क परेको मृत्युको आत्महत्या एकै बसाइँमा पढेर सकिन्छ किनभने एकातिर यी कविताहरू जुन पढ्यो त्यो पढूँ–पढूँ लाग्छन्,छोड्नै मन लाग्दैनन्, अर्कोतिर कविताहरु झण्झट लाग्दो लामा छैनन् । गद्यकविताभित्र पनि आन्तरिक लयको कुशल सिर्जना उनका कवितामा भएका छन् । सरुभक्त र तीर्थ श्रेष्ठको शुभाशीष् समेटिएको यस पुस्तकमा बगरले राजनीति निरपेक्ष रहेर मानव जीवन र प्रवृत्तिको चर्चा गर्ने प्रयास गरेका छन् र पनि उनका कविताहरु राष्ट्रिय राजनीतिबाट अछुत रहन सकेका छैनन् । यसबाट शिक्षा लिएर राजनीतिक चेतना प्रष्ट झल्किने कविता उनका कलमबाट लेखिनुपर्ने आवश्यकता छ । नयाँ नेपाल निर्माणको विशद् चर्चा भइरहेको परिप्रेक्षमा प्रकाशित यस पुस्तकमा द्वन्द्वको विरोधमात्र गरिनु पर्याप्त छैन । देशलाई यति नजिकबाट प्रेम गर्ने बगरले जनतालाई देश निमार्णका लागि संघर्षमा एकजुट हुन अझ बढी आव्हान गरेर कविता लेख्दै जानुपर्छ । उनको सशक्त कलमले नेपाली धर्तीले कुनै न कुनै रुपमा योगदान पाइरहोस् भन्ने कामना गर्नु सायद अतिशयोक्ति हँुदैन ।
कृति ः– मृत्युको आत्महत्या (कविता संग्रह)
कृतिकार ः– राजकुमार ‘बगर’
प्रकाशक ः– पो.यू. साँ. प.–२०६४
पृष्ठ ः– ८६ ं ६
मूल्य ः– रु. ९९ ।

No comments:

Post a Comment