- रुपिन्द्र प्रभावी

Sunday, February 7, 2010

कृति समीक्षा
क्रान्तिको अर्को नाम ‘जनआन्दोलन’

निरङ्कुश सरकारलाई मास्नैप र्छ साथी
गणतन्त्रको माला अब गाँस्नैपर्छ साथी
अझै पनि सडक–सडकमा गोली हान्छन् भने
ती सामन्ती हातहरूलाई भाँच्नैपर्छ साथी ।
जब–जब निरंकुशता झ्याङ्गिन थाल्छ, तब–तब जनता त्यसको जरा उखेल्नका लागि एकजुट हुन्छनु । त्यो जुटाइप्रति कसैको निर्मम गोली दाग्ने दुष्प्रयत्न गर्छ भने त्यो हातै भाँच्ने साहस पनि जनतामा जागृत हुन्छ अनि जनताको मातहतको राज्य–व्यवस्था स्थापनाका लागि गणतन्त्रको नारा चर्को स्वरमा उर्लिन्छ । अन्ततः जनआवाजका अघिल्तिर सामन्ती व्यवस्थाले घँुडा टेक्नुको विकल्प सायदै रहला । विशेषतः २०६१ माघ–१९मा नेपालका राजा ज्ञानेन्द्रले राज्यसत्ताको सम्पूर्ण बागडोर आफ्नो हातमा लिएपछि जनतालाई असह्य भयो र त्यस कदमलाई ‘कू’ को संज्ञा दिंदै जनता विविध किसिमका विरोधमा उत्रिए । तर २०६२ को चैत्र २४ गतेदेखि घोषणा गरिएको निर्णायक जनआन्दोलनले मात्रै ‘कू’ को प्रारम्भिक पतन गरायो । १९ दिनसम्म मुलुक पूरै ठप्प पारेर जनता चोक, गल्ली–सडकमा उत्रिए र मच्चाए–जनआन्दोलन–२ । सडकमा निस्वार्थ रुपमा राजतन्त्रका विरुद्ध र गणतन्त्रका पक्षमा नारा घन्किए । नेपाली राजनीतिक धरातलका प्रमुख आठ दलको मुख्य आव्हान र सहभागितामा छेडिएको आन्दोलनमा सबै वर्गका जनताको उत्तिकै सहभागिता रह्यो । त्यही क्रममा वाङमय क्षेत्र पनि चुप रहन सकेन । वाङमयसेवीहरु पनि विभिन्न चोक र गल्लीहरुमा आन्दोलनका पक्षमा क्रान्तिकारी रचनाहरू सुनाउँदै हिँडे । उक्त आन्दोलनका एक जुझारु युवा स्रष्टा गोविन्द गिरीले त आन्दोलनका क्रममा र सन्दर्भमा वाचित र रचित मुक्तकहरुलाई सँगालोकै रुप दिए– जनआन्दोलन नाममाः जहाँ उनले गणतन्त्रका पक्षमा अत्यन्त कोमल र मीठो शैलीमा आफ्ना मुक्तकहरु समेटेका छन् । मुक्तकमात्रै हैन, जनआन्दोलनका सजीव तस्वीरहरु प्नि उनको जनआन्दोलन पुस्तिकाभित्र सजिएका छन् । उर्दुू, फारसी र हिन्दी साहित्यबाट नेपाली साहित्यका क्षेत्रमा मुक्तककार भीमदर्शन रोकाले भिœयाएको मुक्तक विधालाई कतिपय स्रष्टाहरुले ‘मुक्त’ रुपमा लेख्ने गरे पनि यसको आफ्नै नियम छ । ‘मुत्तक’ को अर्थ पनि शब्दकोशहरुले ‘नियममुक्त रचना’ का रुपमै प्रस्तुत गरिदिनाले स्रष्टा र पत्रिकाहरुले २÷३ देखि ८÷१० हरफका छोटा कविताहरुलाई पनि मुक्तकका नाममा प्रकाशन गर्दै आएको बग्रेल्ती नमुनाहरू भेटिन्छन् । तर, रुवाइ र चतुष्पदी शैलीको नेपाली रुपान्तर नै मुक्तक हो जसमा जम्मा चार हरफ हुन्छन् । यसमध्ये पहिलो, दोश्रो र चांैथो हरफमा पूर्वान्त्यानुप्रास÷अन्त्यानुप्रास मिलाइएको हुन्छ भने तेश्रो हरफ स्वतन्त्र हुन्छ । अर्को कुरा, यो कविताको ‘लघुरुप’ वा ‘छोटो कविता’ होइन । यो त काव्यको एक स्वतन्त्र र पूर्ण विधा हो । मुक्तकलाई कविताको लघुरुप भन्ने हो भने किन ‘मुक्तक’ भनिरहनु प¥यो ! छोटो कविता भने भइहाल्यो नि ! मुक्तकका चार हरफमध्ये पहिलो हरफमा विषयवस्तुको उठान हुन्छ, दोस्रो हरफमा विषयवस्तुलाई थप पुष्टि गरिन्छ, तेश्रो हरफले अझ कौतुहलता जगाउँछ भने चौंथो हरफमा विषयवस्तुको निचोड दिइन्छ । मुक्तककार धनराज गिरीका अनुसार, मुक्तकको पहिलो हरफमा धनुमा वाण चढाइन्छ, दोस्रोमा डोरी तन्काइन्छ, तेश्रोमा निशाना दागिन्छ भने चौथोमा तीर छोडिन्छ । विम्व र प्रतीकको उचित समायोजन गरी शील्प र कलायुक्त रसिलो र चोटिलो चारहरफे काव्य नै मुक्तक हो । गजलकार÷मुक्तककार दीपक समीपका अनुसार, मुक्तकले छोडेको वाण कहाँ लाग्यो भन्ने हेर्नुभन्दा पनि के खस्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मुक्तककार गोविन्द गिरीका मुक्तकहरू मुक्तकका नियमबाट कत्ति पनि विचलित छैनन् । नेपाली मुक्तक साहित्यको उत्थानका लागि नै पोखराले महत्वपूर्ण योगदात पु¥याएको छ । यही परिवेशमा जन्मेर हुर्केका गोविन्दलाई मुक्तकको राम्रो ज्ञान छ । उनका सबै मुक्तकहरू रूवाइ शैलीका छन् । जसमा पूर्वान्त्यानुप्रास र अन्त्यानुप्रासको कुशल संयोजन छ । मुक्तकमा हुनुपर्ने चोटिलोपन त उनका मुक्तकका वैशिष्ट्य नै हुन् । अझ उनको समसामयिक विषयवस्तुको छनोटले उनलाई कुशल मुक्तककारको संज्ञा दिन करै लाग्छ । जनआन्दोलनभित्र उनले जनआवाजको प्रतिबिम्ब चित्रण गरेका छन् । लोकतान्त्रिक गणतन्त्रको स्थापना र सामन्ती राजतन्त्रको विस्थापन नै उनका मुक्तकहरूको महत्वाकांक्षा हुन्, जुन नेपाली जनताले जनआन्दोलन–२ मार्फत छताछुल्ल पारेका छन् । रातारात खोजेर नि भेट्नुपर्छ साथी मण्डलेको अस्तित्व नै मेट्नुपर्छ साथी जनता मार्ने तानाशाही हत्यारालाई अब जसले जहाँ देखे पनि रेट्नुपर्छ साथी । स्वयं जनतालाई नै मारेर आफू असीमित भत्ताको आडमा मोज गर्ने पनि के राजा ? त्यस्ता जनहत्यारालाई त सबै जनता मिली अस्तित्व नै मेट्नुपर्छ । उनी आफन्तको हत्याको पीडाबाट आक्रोशित हुँदै अझ भन्छन्– एउटा अपराधी दानव मासेर धेरै देवहरूको रक्षा हुन्छ भने त्यो कदम पनि चाल्नुपर्छ । उनी कतै आक्रोशित भावमा राजतन्त्रको सामन्ती प्रथाबाट सिर्जित दुरावस्थालाई दुत्कार्छन् त कतै बलसुलभ भावनाको प्रस्तुतीद्वारा राजाको कुकामहरूप्रति व्यङ्गय गर्छन् । उनी जनताका भावना बुझ्न नसक्नेले शासनको वागडोर हातमा लिनु नै व्यर्थ छ भन्दै जनता उर्लेपछि जस्तोसुकै तानाशाहको अन्त्य हुने विश्वास व्यक्त गर्छन् । जनआन्दोलनका क्रममा तत्कालीन शाही सरकारबाट भएका अमानवीय र क्रुर दमनप्रति उनी तीब्र रोष व्यक्त गर्छन् । सैन्य शक्तिको चरम दुरूपयोग गरी शक्ति प्रदर्शन गर्ने शैलीलाई हाँक दिंदै र जनतालाई साहसपूर्वक एक हुन उनी आव्हान गर्छन् । अझै पनि तितरबितर पार्छु भन्छ त्यसले सकेसम्म दमन गरी टार्छु भन्छ त्यसले उठ–उठ जनता अब गाँउगाँउबाट उठ दुईचार सय जनतालार्इृ त मार्छु भन्छ त्यसले । गोविन्दको यही आव्हानअनुसार आन्दोलनमा सबै एकैसाथ ओर्लिए सडकमा र आफ्नो मौलिक आधिकारको प्राप्तिका खातिर आवाज उल्र्याए । जनआन्दोलनभित्र उनी राजालाई मात्र गाली गर्दैनन् । विभिन्न कालखण्डका शासकहरूलाई शिक्षा पनि दिन्छन् भने अशान्तिको वातावरण सिर्जने शक्तिहरूलाई पनि शान्ति कायमका लागि सहकार्य गर्न आग्रह गर्छन् । कतै कठोर गाली गर्छन्, कतै आत्मीय भावमा सम्झाउँछन् । कतै वर्तमानमा शक्तिको आडमा शेर बन्नुको भावी परिणामप्रति सजग गराउँछन् भने कतै दरबार हत्याकाण्डका नायक, मुर्ति चोरी गर्ने र देशका गरीब सोसेर धनी राजा बनेको आरोप पनि उनी लगाउँछन् । उनी राजतन्त्रको हार्दिक विरोध गर्छन् र राज्य पुनःसंरचनाको आकांक्षा राख्छन् । राजतन्त्रको सामन्ती प्रथाले नेपालीलाई पछि पारेको संकेत पनि उनी गर्छन् । शाही सत्ताका नोकर तत्कालीन सेना र प्रहरीको बुट, लाठी, अश्रुग्याँस र गोलीको प्रवाह नगरी देशका लागि बलिदानी हुन तयार योद्धाहरू र बलिदानी भएका सहिदहरूप्रति उनी सम्मान व्यक्त गर्न पनि चुक्दैनन् । उनी जनक्रान्तिका बेला लुक्नु हुत्तिहारापन हो भन्छन् । देशभक्तिको साँचो नमूना देश संक्रमणकालमा रहँदा सन्तानले देखाउनु पर्ने सन्देश नेपाल आमाको माध्यमबाट उनी समस्त नेपालीसामु पु¥याउँछन् । जान्न नभन् यस्तो बेला जानुपर्छ छोरा साथीसंगी बटुलेर लानुपर्छ छोरा साँच्चै आफ्नो पौरखले देश बन्छ भने हाँसी–हाँसी गोली पनि खानुपर्छ छोरा । गोविन्द लेखकवर्गको जिम्मेवारी देखेको कुरा निडर भई लेख्नु हो र परिआउँदा देशका लागि धरापमा पनि टेक्नुपर्छ भन्दै सडकमा क्रान्तिका पक्षमा आवाज उठाउँदै हिंडे । गोविन्दका दुई भागमा विभाजित ‘जनआन्दोलन’ पुस्तिकाभित्र खण्ड ‘ख’ ‘म मरेपछि’ मा जीवन र प्रेमका सुमधुर र आन्दोलित भावनाहरु समेटिएका छन् । उनी साँच्चै मायामा पनि क्रान्तिचेत छर्छन् र आन्दोलित छन्ः
मनको फूल झार्नेलाई किन सजायँ हुँदैन ?
मनमा काँडा सार्नेलाई किन सजायँ हुदैन ?
यदि सबैभन्दा ठूलो माया हो भने वकिल ज्यू
त्यै माया मार्नेलाई किन सजायँ हुँदैन ?
यस खण्डमा उनले प्रेम, वियोग, जीवनका निराशा कुण्ठा, अनुरागजस्ता भावहरुको कुशल प्रस्तुती गरेका छन् । युवावस्थाको विकृतिलाई उनी नजिकबाट अवलोकन गर्दै त्यस्ता विकृतिबाट बच्न पनि अनुरोध गर्छन् । साँच्चै अन्धोप्रेममा डुबियो भने माया काल पनि बन्न सक्ने सम्भावना झल्काउँदै गोविन्द मायामा घात भएपछि जीउँदै मरेको महशुस पनि गर्छन् । जसलाई आफ्नो सम्झ्यो उही बिरानो बन्दाको पीडानुभूति, वास्तविक प्रेम हृदयमा हुने, माया लाएर बिग्रिएको प्रसङ्ग, आफूले चाहेको प्िरेमकाको प्राप्तिका लागि गरिने त्यागजस्ता अभिव्यक्तिहरुको कुशल प्रस्तुती उनी आफ्ना मुक्तकहरुमा गर्छन् । बैसको फूल झ¥यो भन्दिनू उसले बसाइँ स¥यो भन्दिनू मान्छे त खोज्न आउँदैनन् क्यारे न्याउली चरीलाई म¥यो भन्दिनू । यस्ता मर्मस्पर्शी मुक्तकहरुसहित भावपूर्ण चित्रहरु यस खण्डमा पनि उनले समेटेका छन् । कुल ७५पृष्ठको आयतनमा फैलिएको यस संग्रहभित्रका मुक्तकहरु पढ्दै जाँदा लाग्दछ– अहो ! कति चाँडै सकिएको ! खण्ड ‘क’मा ३३ र खण्ड ‘ख’ मा २७ वटा गरी जम्मा ६० वटा मुक्तकहरु समेटिएको यस संग्रहलाई अझ धेरै मुक्तकहरु समेटी पुस्तक ठूलो बनाउन सकेको भए अझै राम्रो हुन्थ्यो भन्ने प्रायः पाठकहरुलाई लाग्छ । साहित्यका मर्मज्ञहरुले साहित्य नारा बन्नु हुँदैन भन्ने गरे पनि केही रचनाहरु नाराहरुजस्ता लाग्ने तर कलात्मक नारा भन्न मिल्ने रचनाहरु यहाँ समेटिएका छन् । सडकमा तत्कालीन आन्दोलनकारीहरुको मनोभावनालाई समेटेर लेखिएका रचनाहरु जस्ताको त्यस्तेै राखिएको हुनाले बढी आक्रोशित र अघिल्ला मुक्तकहरुमा मान्छे मार्न नहुने सन्देश दिईए पनि पछि–पछि राजालाई मार्नुपर्ने कुरा गरिनुले आन्तरिक विरोधाभास पनि देखिएको छ । जनआन्दोलनभित्रका मुक्तकहरु आन्दोलित भएर पनि अधिकांश संयमित छन् । तीर्थ श्रेष्ठ, सरुभक्त, लक्ष्मण थापाहरुको शुभकामना समेटिएको कला, भाव र शैली पक्षको बेजोड प्रस्तुती रहेको यो मुक्तक संग्रह एक उत्कुष्ट कृति हो भन्नुमा सायद अतिशयोक्ति हुँदैन् । मुक्तकबाहेक गजल, गीत जस्ता विधामा पनि कलम चलाउने गोविन्द गिरीको पहिलो प्रयास उत्कुष्ट हुँदा–हुँदै पनि अझ उत्कृष्ट सिर्जनाहरु मुक्तक र अन्य विधामा पढ्ने चाहना आम पाठकमा छँदैछ ।
कृति–जनआन्दोलन (मुक्तक संग्रह)
कृतिकार– गोविन्द गिरी
प्रकाशक– भू.पू. विद्यार्थी मञ्च छोरेपाटन उच्च मा.वि., पोखरा
पृष्ठ – ६१+१४, मूल्य– रु. ४० ।–
सम्पर्क – पोखरा–१७÷७३७
 समिभञ्ज्याङ्ग–५,लमजुङ

No comments:

Post a Comment