आलेख
पर्यटन साहित्य र अक्षरयात्रा
– रुपिन्द्र प्रभावी ‘कटु’
नेपाल सरकारले अङ्ग्रेजी वर्ष २०११ लाई १० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित पर्यटनवर्षका रूपमा मनाउने घोषणा ग¥यो । पर्यटनका लागि सँगसँगै’ भन्ने नारा तय गरिएको सो पर्यटन वर्षको औचित्य औपचारिकताभन्दा त्यति धेरै माथि उठ्न सकेन । यसका पछाडिका कारणहरुबारे आ आफ्नै विश्लेषणहरु हुन सक्लान् । नेपाली राजनीतिमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेका कारण धेरैले देखाउने गर्छन्, त्यसमा आंशिक सत्यता पनि होला ।
पर्यटन व्यवसाय संसारका सबै देशका लागि उत्तिकै महत्वपूर्ण व्यवसाय हो । अझ नेपालका लागि यस व्यवसायको महत्व खास छ । औद्योगिक र अन्य आधुनिक विकासले गति लिन कतिपय सन्दर्भमा हाम्रै भौगोलिक बनावटले पनि बाधा पु¥याइरहेका छन् भने तिनै बाधाहरूलाई प्रयोग गरेर वैकल्पिक व्यवसायका रूपमा पर्यटन व्यवसाय सञ्चालन गर्न सकिने सम्भावनाहरु नेपालमा प्रशस्त छन् । यस यथार्थलाई नेपाल सरकार र नेपाली जनताले हृदयङ््गम गर्नै पर्ने हुन्छ । हामीसँग भएका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाहरूलाई उचित प्रचारप्रसार र समयानुकूल सुगम गन्तव्यका रूपमा विकास गर्न सकिएमा विश्वकै उत्कृष्ट आकर्षण केन्द्र बन्न सक्ने सम्भावना हामीसँगै सुरक्षित रहन्छ । ती पर्यटकीय सम्भावनाका ढोका खोलेर पर्यटकहरूलाई स्वागत गर्ने इच्छाशक्तिभन्दा पनि हामीसँग परम्परित र प्रचलित पर्यटकीय गन्तव्यलाई नै काफी सम्झने मनोवृत्ति हावी छ जसको प्रतिफल ‘यथास्थिति’ मात्र हुन्छ, उन्नति हुँदैन । यस्तै पर्यटकीय सम्भावनाको चाबी खोल्ने अभियानका रूपमा आएको नेपाली साहित्यको एउटा नवीन अभियान हो – अक्षरयात्रा ।
अक्षरयात्रा सुन्दर र पर्यटकीय नगरी पोखराबाट सञ्चालित साहित्यिक अभियान हो । वि.सं. २०६२ असार १८ गते कास्कीको लेखनाथ नगरपालिकास्थित सुन्दरी डाँडाबाट पहिलो यात्रा सुरु गरेको अक्षरयात्रा त्यसपछि प्रत्येक महिनाको तेस्रो शनिबार विभिन्न स्थानमा पुग्ने गरेको छ । गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवारले संयुक्त रूपमा आयोजकको तुल समातेर अघि लागे पनि पोखराका नवप्रवेशीदेखि अग्रजसम्मको समान सहभागिता अक्षरयात्रामा रहन्छ । अक्षरयात्रीहरू विभिन्न ठाउँमा गई कुनै न कुनै रूपमा स्थानीय बिम्ब र प्रतीकहरू समेटेर अक्षरको खोजी गर्छन् र त्यहाँको पर्यटकीय सम्भावनालाई आफ्ना तत्स्थानीय सिर्जनामार्फत् उजागर गर्दछन् । साथै, स्थानीय जनजीवनको झलक पनि ती सिर्जनामा पाइन्छन् । यसले एकातिर साहित्यकारहरूबीचको पुस्तान्तरको दूरीमा कमी ल्याउँदै सार्थक सिर्जनाका लागि अन्तरक्रिया र भेटघाटको अवसर प्रदान गरेको छ भने अर्कोतिर लुकेर रहेका पर्यटकीय स्थानहरूलाई जनसमक्ष प्रस्तुत गर्ने कार्य पनि गरेको छ ।
अक्षरयात्राको स्वर्ण शृङ्खलाको अवसर पारेर पहिलो शृङ्खला सम्पन्न भएकै स्थान सुन्दरीडाँडाबाट अक्षरयात्राको घोषणापत्र पनि २०६६ असोज १७ गते जारी गरिएको छ । यसअघि तीनवटा संस्थाको संयुक्त आयोजनामा सञ्चालनमा हुने अक्षरयात्राको घोषणापत्र जारी गर्दा भने गजल सन्ध्या र नवनीत साहित्य सागरमात्र यसका आधिकारिक आयोजक संस्था बनेका छन् । यही घोषणापत्रमै ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने नारा उल्लेख गरिएको छ । वास्तविक जीवन र वास्तविक जगत् एउटा चौघेरोमा बसेर थाहा पाउन सकिंदैन । यसलाई बुझ्न यात्रा गर्नैपर्छ; बुझेको यथार्थलाई अक्षरमार्फत् प्रस्तुत गर्ने अभियान नै अक्षरयात्रा भएको तथ्य यस अभियानको प्रकृति नियाल्दा बुझ्न कठिन हुँदैन । अझ यसको घोषणापत्रमा उल्लेख गरिएका विभिन्न १२ बुँदाका उद्देश्यहरूमध्ये चारवटा बुँदाहरूमा पर्यटन साहित्यको अवधारणालाई उल्लेख गरिएको छः
१) पर्यटकीय स्थलहरूका प्राकृतिक, ऐतिहासिक आदि महत्वलाई जनसमक्ष पु¥याउने ।
२) साहित्यिक पर्यटन पद्धतिको विकास गर्ने ।
३) ओझेलमा परेका पर्यटकीय स्थलहरूलाई प्रकाशमा ल्याउने ।
उल्लिखित बुँदागत तथ्यहरूले पनि अक्षरयात्राले पर्यटन साहित्यको अवधारणालाई उच्च प्राथमिकता दिएको दृष्टिगत हुन आउँछ । यसअनुसार नै अक्षरयात्राले सुरुवातकालीन यात्राहरूदेखि नै पोखरा र सेरोफेरोका विभिन्न पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावित स्थानहरूमा आफ्नो शृङ्खलाहरू तय गरेको छ । कतिपय यात्राले सार्थकता पनि पाए, कतिपयले औपचारिकता मात्रै पनि । प्रचूर पर्यटकीय सम्भावना बोकेको मट्टीखान, बाँगे फड्के, ढोरबाराही, कुमारी गुफा, कुश्मा–ज्ञादी झोलुङ्गेपुल, हुडीकोट, व्यासगुफा, रामकोटजस्ता स्थानहरूलाई अक्षरयात्राले पर्यटकीय गन्तव्यका रूपमा परिचितमात्र गराएन, मानवीय बेवास्ताका कारण ओझेलमा परेको दिपाङ, खास्टे, मैदीजस्ता ताल संरक्षणको आवश्यकतालाई समेत उद्घोष ग¥यो । पोखरा उपत्यकाभित्रका स्थानहरूमात्र ‘पोखरा’ होइन; यसलाई पोखराका रूपमा चिनाउन यसको सेरोफेरोका ग्रामीण भूभागका पर्यटकीय गहनाहरूको भूमिकालाई न्यूनीकरण गर्ने प्रयास गरिनु युक्तिसंगत हुँदैन ।
त्यसैले पनि अक्षरयात्रीहरूबीच समय–समयमा हामी व्यक्तिगत आनन्दका लागि मात्र नभई पर्यटकीय योगदानका लागि पनि अभियान चलाइरहेका छौं भने सम्बन्धित सरकारी तथा गैरसरकारी निकायको ध्यान किन आइपुग्दैन हामीसम्म ? भन्ने चर्चा हुन थालेको छ । अहिले नेपालमा लुम्बिनी भ्रमण वर्ष जारी छ, यस्ता औपचारिक पर्यटन कार्यक्रमहरुका सन्दर्भमा अक्षरयात्राको उपादेयता अझ बढी छ भन्ने लाग्छ । कतिपय लुप्त रहेका पर्यटकीय स्थलहरूबारे अक्षरयात्रालाई जानकारी भए पनि खर्च व्यवस्थापनका कारण त्यस्ता ठाउँमा कार्यक्रम सञ्चालन गर्न नसकिरहेको अवस्था छ । त्यस्ता स्थानहरूबारे प्रकाश पार्न सकिएमा पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहन्छ । पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राले अघि सारेको पर्यटन साहित्यको अवधारणाबाट प्रेरित भएर देशका अन्य स्थानमा समेत यस्ता पर्यटन साहित्यसम्बन्धी कार्यक्रम हुन थालेका छन् जसले मापनीय उपलब्धिहरू पनि हासिल गरिसकेका छन्; यो खुसीकै कुरा हो । अक्षरयात्राबाटै लेखनयात्रा थालेका कतिपय स्रष्टाहरु आज पोखरेली माहौलमा स्थापित स्रष्टा भइसकेका छन्, कृतिकार नै बनेका छन् । हालसम्म ९० भन्दा बढी शृङ्खला सम्पन्न भइसकेको अक्षरयात्राको अबका केही महिनापछि नै शतक शृङ्खलाको स ङ्घारमा उभिएको छ भने युवा साहित्यकारद्वय कृष्ण देवकोटा र गोविन्द गिरीद्वारा स्थापित अक्षरयात्रा प्रतिभा पुरस्कार पनि अक्षरयात्रा अभियानले नै हरेक वर्ष प्रदान गर्दै आएको छ ।
No comments:
Post a Comment