लघुकथा- तारिख - रुपिन्द्र प्रभावी

Monday, April 8, 2019

लघुकथा- तारिख

तारेख 

* रुपिन्द्र प्रभावी

उमेर : ३५ वर्ष । नाम : मातृप्रेम । ठेगाना : मातृभूमि, नेपाल । पेसा : तारेख धान्ने । कसुर : आमालाई बचाउने प्रयास । 

यो ‘बायोग्राफी’ पढेर सायद तपाईँलाई अचम्म लागेको छ । यो कुनै काल्पनिक ‘बायोग्राफी’ होइन, न स्वैरकाल्पनिक कथा नै हो । यो पूर्णतयाः यथार्थ घटना हो, यदि कसैलाई काल्पनिक लागेमा संयोग मात्र हुने छ ।

हो, उसले विगत २० वर्षदेखि एउटै पेसा गर्दै आएको छ– तारेख धान्ने ।

उसले कैयौँ पटक बाले आमालाई कुटेको देखेको थियो । डरले कैयौँ पटक घर छोडेर भागेको थियो आमासँगै ऊ पनि । 
त्यस दिन विद्यालयबाट भर्खरै घर फर्केको थियो । सधैँ जस्तै आमालाई बोलाउँदै भित्र पस्यो तर सधैँ जस्तै आमाको स्वर सुनेन । बरु आमालाई कोठाको पङ्खा मच्चिने ठाउँमा पिङ खेलिरहेकी देख्यो । ऊ एक छिन अचम्मित भयो । त्यसपछि आत्तियो । खै कुन होसमा हो, उसले हतार हतार चक्कु ल्यायो र टेबुलमाथि चढेर आमाले पिङ खेलिरहेकी सल काटिदियो । भुईँमा बजारिएकी आमा अलिअलि चलमलाउँदै थिइन् । ऊ आमालाई काखमा राखेर ‘आमा ! आमा !’ भनेर चिच्याउँदै रुन थाल्यो । फिल्मी शैलीमा ४ जना प्रहरी कोठाभित्र छिरे र उसलाई प्रहरी थानामा लिएर गए । प्रहरीको पछि पछि उसको बा पनि थिए । सायद बा रिपोर्ट गर्न प्रहरी थानामा गएका थिए ।

# # # 


No comments:

Post a Comment