नयाँ वर्ष (कविता) – रुपिन्द्र प्रभावी - रुपिन्द्र प्रभावी

Monday, April 13, 2020

नयाँ वर्ष (कविता) – रुपिन्द्र प्रभावी

नयाँ वर्ष           

                         – रुपिन्द्र प्रभावी 



समयको छङ्गाछुर भीर हेर्दै

सुखद् आत्महत्याको कल्पनामा
चैते पाइला उचालिरहेको दृश्य
आहा !
साहै्र मनमोहक देखिँदो रहेछ  ।

प्रियजनको निधारमा टाँसिदिएर
बिदाइको टीका
उत्तरदायित्वका काँधहरु सुम्पिएर
वैशाखको पोल्टामा
लालीगुराँस फुलाउँदै गालाभरि
समयको छङ्गाछुर भीरबाट
आत्महत्याको उत्साहजनक प्रयास ग¥यो चैतले
मानौं,
कुनै महान् अभियानको सुरुवात गर्दै छ ऊ ।

प्राचीनताको भकारो ओगट्नुको पीडा अनुभूत गरेर
नवीनताको स्वागत्मा
ओछ्याएर आफ्नै रगतको तूल
ऊ हात हल्लाई हल्लाई जाँदै छ
सायद नयाँको आगमनमा
ऊसमेत हर्षित छ ।
                                             
                                     रचनाकाल : २०६६ चैत ३१

4 comments: