गजलकार मणि डुम्रेको गजल - रुपिन्द्र प्रभावी

Wednesday, April 15, 2020

गजलकार मणि डुम्रेको गजल

              गजल 

                                 - मणि डुम्रे





अरे वाह् ! हजुरहरूको समाजमा क्या इज्जत छ मान छ
रगत बगायो सिमानामा परिवार बिर्सी सिपाही गुमनाम छ।

गिटी कुटी दिनरात मजदुरी गरी सक्दिनँ म पेटभर खान
ऊ रातारात गाडी चढ्यो, महल चढ्यो सरकार अन्जान छ।

भो आफ्नै माटोमा खेली खाने आदर्श मलाई नसिकाउनुस्
भन्नुस् शिक्षक र एन. आर. एन. कसको कस्तो पहिचान छ ?

चिच्यायो केही दिन झन्डा बोकी बाकसले बाघ छान्ने बेला
सुविधा लिने बेला प्रश्न गर्छ उसले तेरो के योगदान छ

श्रीमानलाई अरब पठाएसि उसले हाई हिल लगाई बजार तताई
कति छिटो फाट्छ चप्पल कसरी पठाऊँ पैसा श्रीमान् हैरान छ ।

रातभर झगडा सुनेथें तिम्रो महलको चौथो तलामा
घर सानो छ मेरो, तिमीसित के छ ? मसँग मुस्कान छ ।
                         #     #      #

No comments:

Post a Comment