जनार्दन दाहालका दुई लघुकथा - रुपिन्द्र प्रभावी

Sunday, April 26, 2020

जनार्दन दाहालका दुई लघुकथा


                             -जनार्दन दाहाल


रामेश्वर उसको पसलमा धेरैजसो गइरहन्थ्यो । ऊ अर्थात् जबेगु माइलो । सानो कपडा पसल सुरु गरेको माइलाले व्यापार निक्कै बिस्तार गरेकोे थियो । माइलाको पहिलो विवाह स्थायी हुन सकेन, कारण चाहिँ कसैलाई थाहा छैन । श्रीमती माइतैबाट टाप कसेकी थिई । उसले दोस्रो विवाह गर्‍यो- एउटा छोरो पनि भयो । पसलको आधा हिस्सा रामपियारी अर्थात् माइलाकी हालकी श्रीमती माइलीले धानेकी थिई ।

रामेश्वर हप्ता-पन्ध्र दिनमा माइलाको पसलमा पुगेकै हुन्थ्यो । केही न केही किनेकै हुन्थ्यो । एउटै मात्र कपडा किन्नु छ भने एक डेढ घण्टा बसेकै हुन्थ्यो- कारण थिई माइली ।

रामेश्वर आउनासाथ माइली नै कपडा बेच्न अगि सर्थी । रामेश्वर पनि माइलीको नजिकै जान्थ्यो- खै के जादु थियो माइलीमा कुन्नि !

कपडामा माइली नाफमाथि नाफा खान्थी । रामेश्वर एक वचन नबोली पैसा तिर्थ्यो । बेलुकी बुढालाई भनेर ऊ रामेश्वरबाट आएको नाफा छुट्याउँथी । एक वर्षमा उसले निक्कै पैसा सङ्कलन गरी । रामेश्वरले पैसा बगाइरह्यो ।

एक हप्ता रामेश्वर नआउँदा माइली भन्थी- दाजु, हजुर त आउनै छाड्नुभो ।
उसलाई 'दाजु' शब्द खासै मन नपरे पनि जवाफ दिन्थ्यो- यो हप्ता त हो नि नआएको, काम 'थ्यो के !

अचानक रामेश्वरको जागिर सरूवा भो । ऊ कसैलाई थाहा नदिई त्यो सानो बजारबाट अन्यत्रै हिँड्यो ।

केही महिना त माइली मणि हराएको सर्पझैँ भई तर ऊ निक्कै अनुभवी थिई । हिजो आज माइलीले अरू चार जना रामेश्वरहरू बनाएकी छ अनि आम्दानी थपिरहेकी छ । अन्ध रामेश्वरहरू कपडा किनिरहेछन्- ऊ बेचिरहिछे । माहिली उही हो- रामेश्वरहरू फेरिइरहेका छन् ।

सुविधा- असुविधा


"राधेका बा ! यो राधेले असाध्यै खोक्न थाल्यो, के गर्ने होला ?"

"चुलो यहीँ छ, ओछ्यान यहीँ छ, तँलाई बाहिर खाना बना न भन्यो, पटक्कै टेर्दिनस्, कोठाभरि धुवाँ उकुसमुकुस छ, त्यही भएर हो ।"

राधेको बा उता फर्केर कागजमा चुर बेर्न थाल्यो ।

"बाहिर हाम्लाइ जाडो हुन्न... पुस - माघको मैनामा ?" सुन्तलीले गुनासो पोखी ।

राधेकी आमा सुन्तली पनि दुई महिनादेखि खोकीबाट ग्रसित छे ।

तीन महिनाको सुई हान्न जाँदा हेल्थपोस्टमा जन्तरे रिमालकी बुहारीसँग उसले लामै भलाकुसारी गरी ।

"लोग्ने बाहिर भए पनि मेरा त ससुरा साह्रै असल हुनुहुन्छ, ए... धेरै भयोे मेरो त घरमा ग्यास चुलो छ, न धुवाँ, न कालो लाग्ने केहीको पीर छैन ।" जन्तरे रिमालकी बुहारी अनिताले आफू निक्कै सुखी र खुसी भएको अनुभव बताई ।
राधेकी आमा घर फर्कँदा गह्रौँ अनुभूति लिएर फर्की ।

अनिताले भनेका धेरै कुरा उसले त्यही बेला बिर्सी तर ग्यास चुलो भने उसको हृदयमा छाप बनेर बस्यो । त्यो सुनेदेखि सुन्तली दिनमा एकपटक राधेका बासँग कचकच गर्न थाली ।

कचकच खप्न नसकेर राधेका बा बाँधेको खसी फुकाएर डोर्‍याउँदै बजारतिर लाग्यो । सरासर अष्टमानको पसलमा पुगेर केके गनगन गर्‍यो अनि त्यति गतिलो खसीसँग ग्यास चुलो र सिलिन्डर साट्यो अनि नाम्लो लाएर गाउँ फर्क्यो । भोलिपल्ट अष्टमानको कामदारले गाउँमै आएर चुलो जोडिदिएर बाल्न पनि सिकाइदियो ।

राधे बिहानै उठेर चुलोभन्दा टाढै बसेर चुलो बालेको दृश्य हेर्थ्यो ।

सुन्तलीमा ग्यास चलाउने बानी पर्‍यो ।

दुई अढाइ महिनामा ग्यास सकिन्थ्यो । नाम्लो लगाएर बोकेर राधेका बा सिलिन्डर साटेर ल्याउँथे ।

यस पटक कतै सिलिन्डर छैन । अष्टमानकोमा नि छैन । ऊ अरू झैँ सिलिन्डर बोकेर डिपोतिर लाग्यो । तीन दिन भयो सिलिन्डर बोकेर यताउति हिँडेको । सुन्तली निराश छे । राधे चुलोको नजिक गएर हेर्छ तर बल्दैन चुलो । राधेका बालाई थाहा छैन सिलिन्डर सर्टेज किन भयो ? सुन्तली राधेका बा आएतिर हेर्छे, छ दिन भयो यसरी हेरेकी । सिलिन्डर भरि छ कि खाली छ । उसले टाढाबाट ठम्याउन सक्दिन । हिजोबाट मुसलधारे पानी परिरहेछ, दाउराको जोहो छैन ।
saranginews.com बाट साभार 

No comments:

Post a Comment