> कवि अनिलको मध्यरातमा मुर्कट्टा - Rupindra Prabhavi


 

Thursday, September 9, 2021

कवि अनिलको मध्यरातमा मुर्कट्टा

आँबुखैरेनी (तनहुँ) । कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह मध्यरातमा मुर्कट्टा बिहीबार आँबुखैरेनीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक भयो । 

आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गर्नुभएको थियो । सङ्ग्रहमा ३५ कविता छन् । 


आँबुखैरेनी स्रष्टा समाजका अध्यक्षसमेत रहेका श्रेष्ठका यसअघिराष्ट्रले शोकधुन बजाएको छ (कवितासङ्ग्रह –२०५१),  मृत्युपर्व होइन मेरो देश  (कवितासङ्ग्रह –२०५५),  आरु फुलेको साँझ (कवितासङ्ग्रह –२०६३),   मफलर युद्ध (कवितासङ्ग्रह –२०६९),  प्रतिनिधि कविता (कवितासङ्ग्रह –२०७३), टाइगर हिलकी पुनम (निबन्ध सङ्ग्रह) र  फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु  कृति प्रकाशित छन् ।



कार्यक्रममा प्रमुख अतिथि प्रधानले नेपाली कविताका क्षेत्रमा क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविका रूपमा अनिल श्रेष्ठको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो  । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षका रूपमा अझै सशक्त भएर प्रस्तुत भएका छन् ।’ विशेष अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा आँबुखैरेनी स्रष्टा समाजबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गर्नुभयो ।


सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्पूत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने उहाँको भनाइ थियो । 

अर्का समीक्षक भीम रानाभाटले पनि अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राख्नुभयो । कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार एवम् कवि सानुकाजी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कवि अजुर्नकुमार ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । संस्थाका अध्यक्ष एवम् कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आफ्नो एक कविता वाचन गर्नुभएको थियो । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ले प्रकाशन गरेको हो । 

No comments:

Post a Comment