रेशम गिरीको उपन्यास ‘चक्रधूम’ बजारमा - रुपिन्द्र प्रभावी

Friday, November 19, 2021

रेशम गिरीको उपन्यास ‘चक्रधूम’ बजारमा

पोखरा । साहित्यकार रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधूम’ शनिबारदेखि बजारमा आएको छ ।

यसअघि ‘संविधान’ नामक मुक्तकसङ्ग्रह पाठकसामु ल्याइसकेका गिरीको उपन्यास ‘चक्रधूम’ गण्डकी प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बिच साहित्यकार सरुभक्तले लोकार्पण गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले रेशमको साहित्यिक लगावको प्रशंसा गरे । ‘अदालतको गाईजात्राले चर्चा पाइरहेको अवस्थामा आएको अदालतकै विसङ्गतिलाई चिरफार गरिएको उपन्यासले पाठको मन पक्कै जित्ने छ’ सरुभक्तले भने, ‘मैले पनि कुलपति हुँदा न्यायालयको अन्याय राम्ररी भोगेको छु ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको जग्गा विवादसम्बन्धी मुद्दा परेपछि करिब ३ वर्षसम्म अदालत धाउँदाको अनुभव सुनाउँदै उनले सरकारी निकायले नै यस्तो अवस्था भोग्नुपर्ने अवस्था छ भने जनसाधारणको अवस्था कस्तो होला भन्ने प्रश्न गरे । न्यायालयका कारण अन्यायमा परेका व्यक्तिको कथा समेटेर लेखिएको चक्रधूमले समाजको यथार्थ प्रस्तुत गरेको भन्दै यसले नेपाली साहित्यका क्षेत्रमा विशेष महत्त्व राख्ने धारणा सरुभक्तले राखे । उनले गण्डकी प्रज्ञा-प्रतिष्ठानले कम्तीमा पनि गण्डकी प्रदेशको वाङ्‍मयिक अनुसन्धानमा विशेष लगानी गर्नुपर्ने सुझाव राखे ।




निजामती सेवाअन्तर्गत न्याय सेवामै कार्यरत उपन्यासकार गिरीले चक्रधूमलाई आफूले नारीवादी उपन्यासका रूपमा प्रस्तुत गरेको सुनाए । न्यायालयको हरेक मिसिलमा कथा र उपन्यास भेटिने बताउँदै उनले नारीहरूप्रति पुरुषको दृष्टिको चित्रण उपन्यासमा गरेको बताए । उपन्यास परिबन्दमा परी दोषी ठहर गरिएका कैदीको कथामा आधारित रहेको उपन्यासकार गिरीले प्रष्ट पारे ।

कृतिको चर्चा गर्दै समालोचक डा. भूमिराज बस्ताकोटीले रेशमको उपन्यासले एउटा गर्विलो इतिहास कायम गर्ने विश्वास व्यक्त गरे । उपन्यासकारको व्यक्तित्वमाथि प्रकाश पार्दै डोलराज अर्यालले रेशमलाई मिलनसार र सिर्जनशील व्यक्तित्वका रूपमा चिनाए ।

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले कास्कीकोटका साहित्यकार दाजुभाइले सिङ्गो वडाकै इज्जत बढाएकोमा प्रसन्नता व्यक्त गरे । उपन्यासकार रेशमका भाइ शीतल गिरी मबिना कसैकसैलाई मुस्किल छ पोखरामा... बोलको गजलका गजलकार हुन् ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सदस्य सचिव मनकुमार श्रेष्ठले रेशमको उपन्यास पढेपछि पाठकले उनको अर्को उपन्यासको प्रतिक्षा गर्ने विश्वास व्यक्त गरे । प्राज्ञ सभा सदस्य कृष्णप्रसाद पौडेको सञ्चालनमा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत गरेका थिए ।

२३५ पृष्ठको उपन्यास बी. एन. पुस्तक संसारले प्रकाशन गरेको हो ।

No comments:

Post a Comment