गजल सन्ध्याको अध्यक्षमा वसन्त विनोद - रुपिन्द्र प्रभावी

Saturday, February 26, 2022

गजल सन्ध्याको अध्यक्षमा वसन्त विनोद

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा वसन्त विनोद निर्विरोध चयन भएका छन् । सन्ध्याको शनिबार पोखरामा सम्पन्न १२ औँ अधिवेशनबाट वसन्तको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिका उपाध्यक्षमा सुरज उपाध्याय, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैया सुवेदी चयन भएकी छिन् । यस्तै सदस्यहरूमा सिर्जना ढकाल, विष्णु सुवेदी, विकास गौतम ‘अर्चुल’ र माधव खतिवडा चयन भएका छन् ।

संस्थापक अध्यक्ष दिलिप दोषीको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र उदिपराज ढुङ्गाना सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति घोषणा गरेको थियो । अधिवेशनको बन्दसत्रमा सचिव त्रुपक र कोषाध्यक्ष महेश्वर बस्ताकोटीले पेस गरेका प्रतिवेदन पारित भएको थियो ।

यसअघि सन्ध्याका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको उद्‍घाटन सत्रमा प्रमुख अतिथि तीर्थ श्रेष्ठले गजलका नाममा रचना लेख्दैमा सबै गजलकार हुन नसक्ने धारणा राखे । ‘कतिले त गजललाई साहित्यको विधा नै नमान्ने र गजल लेख्नेलाई साहित्यकार नै नमान्ने अवस्था थियो’ गजल लेखनको अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘गजलकारहरूकै कारण गजल आज स्थापित विधा बनेको छ ।’

सोही अवसरमा गजलकार गोपाल खनालको पहिलो गजल सङ्ग्रह ‘सम्झनाका लहरहरू’ को विमोचन गरिएको थियो । तारकेश्वर नगरपालिका-१, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहेका छन् । पत्रकारिता र शिक्षणमा समेत लागेका उनको कृतिमा १०१ गजल  समेटिएका छन् । खनालले आफ्नो १ दशकदेखिको कृति प्रकाशन गर्ने धोको पूरा भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दिलिप दोषी, गजलकार प्रकट पगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपिन्द्र प्रभावी, मन क्षेत्रीलगायतले शुभकामना दिएका थिए । वि. सं. २०५९ मा स्थापित भई गजलको उत्थान : हाम्रो अभियान भन्ने मूल नारासहित क्रियाशील सन्ध्यामा यसअघि दिलिप दोषी, दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षेत्री, उदिपराज ढुङ्गाना, बिर्सना बस्नेत, अमृत सुवेदी र मोहन भण्डारीले नेतृत्व गरेका थिए ।

No comments:

Post a Comment