उदिपको गजलमा विनोदको स्वर (भिडियो) - रुपिन्द्र प्रभावी

Friday, March 25, 2022

उदिपको गजलमा विनोदको स्वर (भिडियो)



पोखरा । गजलकार उदिपराज ढुङ्गानाको रचनामा रहेको गजल ‘बानी पर्‍यो सुरामा...’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायक विनोद बानियाले आफ्नै सङ्गीतमा उक्त गजलमा स्वर दिएका छन् ।

पोखरामा पत्रकारहरूका बिच गायक विनोदले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा बोल्दै विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेलीको पूर्णतयाः सहयोग मिल्नेमा उनी विश्वस्त छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष तथा परिचय डटकमका प्रधान सम्पादक सुरेश रानाभाटले गजललाई विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुने धारणा उनको थियो ।

गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार अमृत सुवेदीले पोखरा पर्यटकीय शहरसँगै सङ्गीत क्षेत्रको पनि ऊर्वरभूमि भएकाले नयाँनयाँ सिर्जना आउनु सुखद भएको उल्लेख गरे ।

गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष तथा पत्रकार मन क्षेत्रीले विनोद बानिया सङ्गीतका राम्रा साधक भएको उल्लेख गरे । सङ्गीतको सङ्गत भएकाले बानी पर्‍यो सुरामा... आज सार्वजनिक गरिएको धारणा उनको थियो । पछिल्लो समय विनोद बानिया गायक मात्र नभएर सङ्गीतकारका रूपमा समेत परिचित हुँदै गएको उनले बताए । उदिपको पहिलो पटक रेकर्ड भएको गजल बानी पर्‍यो सुरामा... को उनले प्रशंसा गरे ।

म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफूले गायक विनोद बानियासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उक्त गीतमार्फत नै रानाले म्युजिक भिडियो अभिनयमा डेब्यू गरेका हुन् । लामो समय भारतीय सेनामा आबद्ध भई हाल पोखरामा व्यवसाय गर्दै आएका राना अभिनय क्षेत्रमा अघि बढ्ने चाहना व्यक्त गरेका छन् ।

विनोदको म्युजिक भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । छायाङ्कन मिलन शङ्करको रहेको भिडियोमा टिकटक स्टार बिना राउत र प्रदिप बास्तोलाको अभिनय रहेको छ । गीतलाई पोखराको हेमजास्थित डिलबारीमा छायाङ्कन गरिएको हो । गीत विनोद बानियाकै अफिसियल युटुब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ ।

गजल रेकर्डिङको कथाः

गजलकार उदिपराज ढुङ्गानाले एउटा गजल लेखे । समय साँझको रमझम थियो । साथीभाइसँग सुरामा रमाउँदै थिए उदिप पनि । मात चढिरहेका बेला गजल फुर्‍यो । उनले सुनाइहाले । त्यहीँ थिए अर्का गजलकार तथा गीतकार मन क्षेत्री । उदिपको गजलको पहिलो हरफ मनको दिमागमा बस्यो । पछिल्लो दिन गायक विनोद बानियासँग साँझकै बेला सुरामा रमाउँदै गर्दा मनले भने ‘दाइ उदिपले एउटा मिठो गजल लेखेको छ, सङ्गीत भर्नुपर्‍यो ।’ बानियाले उक्त गजल सुने । पहिलो हरफ नै मन पर्‍यो । दिमागमा एउटा धुन बन्यो । उनले तत्काल नै मनलाई सुनाए ।

विनोदको बलेनी... भर्खरै सार्वजनिक भएको थियो । दर्शकको रोजाइमा परिरहेका बेला उनले सुरामा निकाल्न सकेनन् । पछि देशमा कोरोना महामारी आयो । गीतको रकर्डिङदेखि छायाङ्कनसम्मका सबै काम प्रभावित हुन पुग्यो । विनोद समयको पर्खाइमा थिए । राम्रो समय फर्किएला र गीत सार्वजनिक गरौंला भन्ने सोच उनमा थियो, जुन शुक्रबार आएर पूरा भएको छ ।

 


No comments:

Post a Comment