चुनावको मौसम (कविता)- रुपिन्द्र प्रभावी - रुपिन्द्र प्रभावी

Wednesday, May 4, 2022

चुनावको मौसम (कविता)- रुपिन्द्र प्रभावी

चुनावको मौसम

- रुपिन्द्र प्रभावी

तपाईँले मलाई पछाडि राखेर कुदाउने मोटरसाइकललाई

केवल मोटरसाइकल

यसैमा लहरिएको झन्डालाई 

मात्रै झन्डा देख्नुभयो ?

यो मेरो लक्ष्यको भर्‍याङ हो

यो फरफर गरेको चाहिँ

पेट्रोल हो,

बहुमूल्य पेट्रोल

यो मौसममा पेट्रोल तरतर होइन

फरफर गर्छ

यसको भाउ थाहा छ तपाईँलाई ?

 

मैले चिच्याएको आवाजलाई

नारा मात्रै सुन्नुभो ?

भविष्यको,

मेरो व्यक्तिगत भविष्यको ‘बार्गेनिङ’ हो यो त !

 

मैले बोकेको डन्डा

केबल डन्डा देख्नुभो ?

यससँग मेरो इखालु साइनो छ

देखाइदिनु छ कसैलाई यसैको सहारामा पाइन

 

मैले लुछेको ब्रोइल, खसी, सुँगुर वा राँगाको मासुलाई

कुनै पशुपन्छीको मासु मात्रै सम्झने गल्ती नगर्नुहोला

निकट भविष्यको सत्तास्वाद जोडिएको छ यससँग कसैको

यसैसँग जोडिएको छ

मेरो भोकविरुद्धको युद्धमा मेरो विजय ।

 

म छु नि

तपाईँकै अघि

बेकामे

मूल्यहीन

बनी हिँड्ने ख्याउटे पनि

यतिखेर चाहिँ

मूल्यवान्

कामयावी

झण्डै बहुमूल्य

बनेको छु

किनकि यो मौसम मेरो हो

यो मौसम मेरो अर्थात् चुनावको हो ।

                 * * *

No comments:

Post a Comment