४३ औँ प्रगतिशील साहित्य सम्मेलन मध्यनेपालमा - रुपिन्द्र प्रभावी

Sunday, October 2, 2022

४३ औँ प्रगतिशील साहित्य सम्मेलन मध्यनेपालमा

 

नृत्य प्रतियोगिताका विजेता ईशानेश्वर माविका विद्यार्थीहरूसँग निर्णायक कल्पना पौडेल


पोखरा । लमजुङको मध्यनेपाल-७, रामबजारमा शनिबार ४३ औँ प्रगतिशील साहित्य सम्मेलन सम्पन्न भएको छ ।


लमजुङ, तनहुँ कास्कीको संयुक्त सङ्गमका रूपमा रहेको माहेन्द्री प्रगतिशील जनसांस्कृतिक सङ्गमले कार्यक्रम आयोजना गरेको हो । सङ्गमले वि. सं. २०३७ देखि हरेक वर्ष बडा दसैँका अवसरमा सम्मेलन गर्दै आएको छ ।


सो अवसरमा भएको खुला कविता प्रतियोगितामा डा. अच्युतशाली घिमिरे पहिलो भएका छन् । प्रतियोगितामा सकुन्तला घिमिरे, चन्द्रबहादुर विक र विवेचन घिमिरे क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भएका छन् । यस्तै बालसाहित्यतर्फको प्रतियोगितामा करुणा विश्वकर्मा, दीपिका घिमिरे, अप्सरा सोती र अनुष्का पौडेल क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भए । यसै गरी सोही अवसरमा सम्पन्न सामूहिक नृत्य प्रतियोगितामा ईशानेश्वर मावि, जनमन्दिर मावि, पश्चिमभूमि मावि र कालिका मावि (रूपा-१, कास्की) क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भए । प्रतियोगिताका निर्णायकहरूमा स्थानीय रामभक्त पौडेल, प्रगतिशील लेखक सङ्घ, तनहुँकी अध्यक्ष कल्पना पौडेल र साहित्यकार रुपिन्द्र प्रभावी रहेका थिए ।


सल्लाहकार समितिका संयोजक रामकृष्ण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले समाजको उपरी संरचनाका रूपमा कला, साहित्य र संस्कृतिलाई औँल्याए । समाजको गुणात्मक परिवर्तनको संवाहक भनेकै कला, साहित्य र संस्कृति भएकाले चेतना विकाससँगै मानिसको आर्थिक जीवन र उत्पादनसँग जोडिने गरी साहित्य सिर्जना गर्नुपर्नेमा गुरुङको जोड थियो । हाम्रा पूर्वीय दर्शनमा भौतिकवादको प्रभाव ज्यादा भए पनि केही मानिसहरूले तिनलाई अध्यात्मवादसँग जोडिदिएको उनको भनाइ थियो । उत्तरआधुनिकताका नाममा इतिहास, संस्कृति, संस्कार भत्काइकाले व्यक्तिवादी चिन्तन बढ्दै जाँदा सामाजिक विखण्डन बढेकाले सांस्कृतिक अभियानहरूका माध्यमबाट समाजलाई एकताबद्ध गर्नुपर्नेमा उनको जोड थियो । हामी र हाम्रो’ भन्ने मान्यतालाई विस्थापित गरेर  , मलाई र मेरो लागि भन्ने चिन्तन बढ्दै गएकोमा गुरुङको चिन्ता थियो ।


देशमा आउने सङ्कट मोचनका लागि सांस्कृतिक अभियानका अलावा राजनीतिक अभियानसमेत चाहिने भन्दै लमजुङबाट प्रतिनिधि सभाका सांसद् बनिसकेका गुरुङले देशको संविधान मिचेर सङ्कटग्रस्त बनाउने तत्त्वहरूलाई पराजित गर्न उनले घुमाउरो पारामा आग्रह गरे । प्रजातान्त्रिक अधिकारहरू स्थापित गर्दै दलीय स्वतन्त्रता प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै गुरुङले ५ दलीय गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए ।


गठबन्धनका तर्फबाट लमजुङबाट प्रतिनिधि सभा सांसद् पदका प्रस्तावित उम्मेद्‍वारसमेत रहेका उनले अब लमजुङ अन्य जिल्लाको छायाँमा पर्न नपर्ने दिन आएको जिकिर गरे । अब सोझै केन्द्रमा लमजुङे जनताका समस्या लैजान सक्ने प्रतिनिधि मङ्सिर ४ को निर्वाचनबाट आउने उनको भनाइ थियो ।


सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पारसमणि पौडेल, नेकपा (एमाले) का केशव अधिकारी, नेपाली काङ्ग्रेस वडा नं. ७ का सभापति गुणराज घिमिरे, संस्थाका संस्थापक बाबुराम घिमिरेलगायतले शुभकामना दिएका थिए ।


कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सोतीले र  स्वागत सदस्य रामचन्द्र भट्टराईले गरेका थिए ।


No comments:

Post a Comment