टाइगर हिलकी पुनमको पोखरामा चर्चा (भिडियोसहित) - रुपिन्द्र प्रभावी

Saturday, November 5, 2022

टाइगर हिलकी पुनमको पोखरामा चर्चा (भिडियोसहित)

 


पोखरा । साहित्यकार अनिल श्रेष्ठको निबन्ध कृति टाइगर हिलकी पुनमको पोखरामा शनिबार चर्चा गरिएको छ ।

बुकमार्ट पोखराले आयोजना गरेको कार्यक्रममा कृतिको चर्चा गर्दै गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कृतिमा अनिलको शैलीगत वैशिष्ट्य झल्केको बताए । लेखकलाई पहिचान दिलाउने मूल कुरा नै शैली भएकोमा जोड दिँदै अधिकारीले जीवनका उतारचढावहरूलाई विशिष्ट शैलीमा निबन्धगत स्वाद दिनु अनिलको विशेषता भएको बताए । उनले काव्य र आख्यानको संयुक्त स्वादयुक्त निबन्ध समेटिएकाले कृतिले जुनसुकै स्तरका पाठकलाई पनि आकर्षण गर्न सक्ने धारणा राखे । निबन्धलाई सरल र सरस ढङ्गले प्रस्तुत गरिएको भन्दै २ दशकभन्दा बढी समयको इतिहाससमेत कृतिमा पाइने उनको भनाइ थियो ।



अर्की समीक्षक सिर्जना ढकालले निबन्धकारले आफूले देखेका र भोगेका विषयवस्तुलाई इमानदारीपूर्वक निबन्धमा समेटेकाले कृति पठनीय बनेको धारणा राखिन् । वैचारिक दृष्टिकोणले पनि बलिया निबन्धहरू भएकाले पाठकका लागि महत्त्वपूर्ण कृति भएको भन्दै ढकालले विचारलाई काव्यको लेपन लगाउँदै निबन्धात्मक स्वरूप दिएर अनिलले निबन्ध लेखेका बताइन् ।

निबन्धकार श्रेष्ठले आफूले बाल्यकालदेखि जीवनका विभिन्न मोडमा अनुभूत गरेका कुराहरूलाई निबन्धगत स्वरूप दिएको बताए । आफूले कुनै विचारधाराप्रति पूर्वाग्रह नराखी निबन्धको विषयवस्तुलाई अघि बढाएको उनले बताए । केही निबन्धमा प्रयोगात्मक प्रस्तुति दिने प्रयत्नसमेत गरेको भन्दै उनले आफ्नै पारिवारिक विखण्डन, बाल्यकालका दुःख, युवाकालका सङ्घर्ष, राजनीतिक जीवनका जेलनेल, भ्रमणलगायतका विषयवस्तुलाई वैचारिकीसहित निबन्धमा प्रस्तुत गरेको उनले बताए ।



२१ ओटा निबन्धहरू समेटिएको कृतिको चौथो संस्करण हालै विवेक सिर्जनशील प्रकाशनमार्फत् बजारमा आएको छ । यसअघि उनका आरू फुलेको साँझ, मफलर युद्ध, प्रजातन्त्र र पागल, अनिल श्रेष्ठका प्रतिनिधि कवितालगायतका कृतिहरू प्रकाशित छन् । तनहुँको आँबुखैरेनीका अनिल सोही ठाउँमा रहेको आँबुखैरेनी स्रष्टा समाज र आँबुखैरेनी वाङ्‍मय परिषद्का अध्यक्ष पनि हुन् ।




No comments:

Post a Comment