> पोखरा पर्यटन साहित्य उत्सव, अधिकारीका २ कृति सार्वजनिक - Rupindra Prabhavi


 

Saturday, November 13, 2021

पोखरा पर्यटन साहित्य उत्सव, अधिकारीका २ कृति सार्वजनिक

 पोखरा । अन्तर्राष्ट्रिय साहित्य समाज, केन्द्रीय समिति, वासिङ्टन डिसीको आयोजनामा शनिबार पोखरामा पर्यटन साहित्य उत्सव गरिएको छ ।

पोखराको पर्यटकीय स्थल सराङ्कोटमा आयोजित सो कार्यक्रममा साहित्यकार तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह ‘जूनका टुक्राहरू’ र अधिकारीकै विषयमा लेखिएका लेखरचनाहरूको सङ्कलन ‘साधनाका स्वर्ण वर्षः मुक्तकमणि तीर्थराज अधिकारी’ गरी २ कृति एक साथ विमोचन गरिएका छन् । दुवै कृतिको विमोचन साहित्यकार तीर्थ श्रेष्ठले गरेका हुन् । अधिकारीका यसअघि ५ मुक्तकसङ्ग्रहसहित १२ ओटा कृति प्रकाशित छन् ।



साहित्यकार तीर्थराज अधिकारीले साहित्य लेखनको सुरुवात् गरेको ५० वर्ष पुगेको सन्दर्भ पारेर प्रकाशित कृतिमा अधिकारीका कृतित्व र व्यक्तित्वमा आधारित ९२ जनाका लेखरचना समावेश छन् । लमजुङमा जन्मेका साहित्यकार अधिकारी हाल अमेरिका बस्दै आएका छन् । उक्त कृतिको सम्पादन साहित्यकार तथा सञ्चारकर्मी असफल गौतम र उपप्राध्यापक/साहित्यकार कल्याण पन्तले गरेका हुन् । कृतिको समीक्षा गर्दै डा. जगन्नाथ रेग्मीले स्रष्टा जीवित हुँदैमा गरिएको यो सत्कर्म प्रेरणादायी रहेको धारणा राखे । विभिन्न खण्डमा विभाजन गरेर पाठकमैत्री सामग्री प्रस्तुत गरिनु कृतिको बलियो पक्ष रहेको रेग्मीको भनाइ थियो ।

मुक्तकसङ्ग्रह जूनका टुक्राहरूमा नेपाली मुक्तकसँगै अङ्ग्रेजी अनुवाद गरिएका १०० मुक्तकहरू समेटिएका छन् । मुक्तकको अङ्ग्रेजी अनुवाद भोजराज न्यौपानेले गरेका हुन् । सङ्ग्रहको समीक्षा गर्दै डा. भूमिराज बस्तकोटीले अङ्ग्रेजी र नेपालीमा लेखिएको सङ्ग्रहको सशक्त पक्ष व्यङ्ग्यचेत रहेको बताए । आलङ्कारिक लेखनशैलीले मुक्तकलाई बलियो बनाएको बताउँदै डा. बस्ताकोटीले रचना अनुवाद गर्दा शब्दानुवाद मात्रै गरेर नपुग्ने विचार राखे ।





अनेसास गण्डकी प्रदेशका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तीर्थ श्रेष्ठले स्रष्टाले प्राप्तिलाई खोजको विषय बनाउँदा साधना अपूरो हुने बताए । उनले स्रष्टाको काम देखेर नै असल भावना जन्मिने अवस्था सिर्जना हुनुपर्नेमा जोड दिए । स्रष्टालाई मृत्युपछि प्रदान गरिने अनेकौँ सम्मान र उपाधिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘स्रष्टाको वास्तविक सम्मान गर्ने हो भने जिउँदैमा गर्नुपर्छ, तीर्थराज अधिकारीले त्यो पाएका छन् ।’ पर्यटन साहित्य उत्सव गरेर अनेसासले स्तुत्य कार्य गरेको भन्दै श्रेष्ठले पर्यटनको मूल तत्त्व प्रकृति र संस्कृति नै भएको तर नेपाल सरकारले संस्कृतिलाई उपेक्षा गर्ने गरेको बताए ।

सोही अवसरमा सम्पन्न पर्यटन साहित्य उत्सवमा ठाडो भाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान गुरुङ ‘धम्पु’, अनेसास बेलायतका अध्यक्ष सुमल गुरुङ, साहित्यकार दीपक समीप, रुपिन्द्र प्रभावी, बलराम पौडेल, रामनाथ अधिकारी, सावित्रा गिरी, रमा प्रासर, सुवास पौडेल, सुरज पौडेल, गीता तिवारी, कृष्णप्रसाद पौडेल, मदन भण्डारी, रामजीप्रसाद आचार्य, नवीन भण्डारी, कल्याण पन्तलगायतले आफ्ना विचार तथा रचना प्रस्तुत गरेका थिए ।

अनेसास गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा न्यौपानेको स्वागतमा भएको कार्यक्रमको संयोजन महासचिव असफल गौतमले गरेका थिए । बोर्ड अफ ट्रस्टिज ऋषि बरालले कार्यक्रमको  औचित्यमाथि प्रकाश पारेका थिए ।

No comments:

Post a Comment