गीत
-रुपिन्द्र प्रभावी
मान्छे बन्न कति गाह्रो, कति गाह्रो मान्छे भन्न
कति गाह्रो भाको होला मान्छेलाई मान्छे गन्न ?
कोही भेद गरिदिन्छन् नानाथरि जातका नाममा
ढुङ्गा पुजी धर्म ठान्छन् ध्यान छैन कत्ति काममा
धर्म-कर्म भन्दै दुःख मान्छेलाई नै दिन्छन् मान्छे
विरोधीको विचार नै पैसा हाली किन्छन् मान्छे
किन अघि बढ्छन् मान्छे आफैँ पर्ने खाडल खन्न
कति गाह्रो भाको होला मान्छेलाई मान्छे गन्न ?
जसले पिर्छन् मान्छेलाई उही धाउँछन् धर्म भन्दै
कहाँ जालान् परिआउँदा मेला अनि पर्म भन्दै
के होला र नचाहिने, को होला र नचाहिने
भेटिएको मान्छे छोडी के खोज्नु र नपाइने
दुनियाँलाई भोकै राखी आफू मात्रै खान्छन् टन्न
कति गाह्रो भाको होला मान्छेलाई मान्छे गन्न ?


No comments:
Post a Comment