दुःस्वप्नहरुको निर्मम आत्महत्या - रुपिन्द्र प्रभावी

Wednesday, December 23, 2009

दुःस्वप्नहरुको निर्मम आत्महत्या

दुःस्वप्नहरुको निर्मम आत्महत्या – रुपिन्द्र प्रभावी ‘कटु’
धमिलिएको आँखाले ऊ
जलतरङ्ग चल्मलाउँदा
ज्वारभाटा छचल्किँदा
पानी धमिलिएको दृष्य आँखाभरि सजाउँदै
माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ ।

सङ्लो पानी त देख्नै
दह त कल्पना गर्नै सक्दैन
ऊकुदृष्टिको भ्यागुता हाम्फालेर स्वयम् धमिल्याउँछ
निर्मल जलाशय र माछा मार्ने दुःस्वप्न निदाउँछ ।
उज्यालो उसको सपना हैन
आरोहण उसको चाहना हैन
घामको उज्यालो छेक्छ
जून, ताराको उज्यालो छेक्छ
मान्छेको आँखाको नानीभित्रको चमक पनि देखिसहँदैन ऊ
ऊ हरेकपटक ‘ब्ल्याक आउट’को प्रतीक्षामा बस्ती हुँडल्छ अङ्कुशेले

अन्धकारको चस्मा भिरेर तस्करी नाच्छ दिनदहडै बस्ती–बस्तीमा ।
जब रेटिन्छ उसको धमिलो सपनाको घाँटी
सङ्लो करौंतीको धारले,
जब उडाइन्छ उज्यालो बारुदले उसको अन्धकारभित्रको
अङ्कुशे चाहना
ऊ खस्छ तस्करीका झरनाहरूबाट
रगतका छिर्काहरूसँगै,
तब उसकै निर्मम हत्याको अभिलाषामा
सारा दुःस्वप्नहरू निर्मम–निर्मम आत्महत्या गर्छन् उज्यालो चट्याङ्सँगै ।

समिभञ्ज्याङ्–५, लमजुङ
हालः अध्यक्ष, गजल सन्ध्या, पोखरा

No comments:

Post a Comment