कविता- झ्याउँकिरीको गीत - रुपिन्द्र प्रभावी

Tuesday, December 15, 2009

कविता- झ्याउँकिरीको गीत

झ्याउँकिरीको गीत

– रुपिन्द्र प्रभावी ‘कटु’


हृदयभरि उज्यालो आराधना बोकेर 
आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा
तस्बिरः गुगलबाट

उद्वेलित झ्याउँकिरीहरु
मरुभूमिको उँट बास्छन्–
सपनामा पानी पिएको लैबरी गीत ।

आँखाभरिको सपना खोस्ने तागत 
सायद कुनै तानाशाहसँग हुँदैन
हृदयभरिको गीत लुट्ने दुस्साहस 
सायद कुनै बादशाहसँग हुँदैन ।
गाउँछन् झ्याउँकिरीहरु गाउँछन्
अभाव र तनावका गीतहरु गाउँछन् 
प्रबल श्रवणशक्तिका 
महानतम् सुस्त श्रवणकर्ताहरुलाई सुनाउँछन् ।

उनीहरुलाई थाहा छ,
सपनाको कुनै इतिहास लेखिँदैन
इतिहास उनीहरुको सपना पनि होइन
तैपनि सपना देख्न छाड्दैनन्
प्यासी जिन्दगीबाट मुक्ति पाएको
अभाव र तनावको माखेसाङ्लो चुँडालिएको 
र त गाउँछन् नि
‘उठ भोका नाङ्गा हो निद्रा त्यागेर 
बस्ती बसाऔं सामन्तको किल्ला ढालेर ।’



No comments:

Post a Comment