- रुपिन्द्र प्रभावी

Sunday, March 10, 2013

मुक्तक


– रुपिन्द्र प्रभावी ‘कटु’

समाजका कोढहरू नै सबैभन्दा बढी सामाजिक हुन्छन्
यो देशमा भ्रष्ट, लुच्चा, फटाहा नै राजनीतिक हुन्छन्
मयलपोसमा सजिसजाउ झुत्रे दिमागका भरिया
तिनकै मानसम्मान र बोलवाला यहाँ अत्याधिक हुन्छन् ।



नाटकमा सफल भयौ अभिनय जोडदार थियो
थाहा छैन त्यो माया थियो या त व्यापार थियो
तिमीले भन्यौ त्यो रहस्य त्यति महत्वपूर्ण थिएन
मेरा लागि भने त्यो अत्यन्तै दुःखद् समाचार थियो ।



उज्यालो खोजेर हिंडेको मान्छे भासियो अन्धकारमा
घाउ शीतल पार्ने मलम स्वयम् देख्दै छु उपचारमा
बिडम्बनाका शृङ्खलाहरू थपिंदै जाँदा–जाँदै
अरु म के भनूँ तिरस्कृतहरू नै हाँस्छन् यो देशको सरकारमा ।



भोकाहरू भोक खाएर बाँच्दै छन्
नाङ्गाहरू नाङ्गो लाएर बाँच्दै छन्
असमानताको खाडल यति धेरै छ कि
धनीहरू आलिशानमा रमाएर बाँच्दै छन् ।




1 comment: