कविता- कुमारी गुफा - रुपिन्द्र प्रभावी

Sunday, March 17, 2013

कविता- कुमारी गुफा

           कुमारी गुफा

                                         – रुपिन्द्र प्रभावी ‘कटु’

शङ्ख फुकेर कुमारीले
आव्हान गरिरहेझैं लाग्छ
अन्धकारको मलामी जान
उज्यालोका उपासकहरुलाई ।

गर्भमा
कछुवाको आकार बोकेर
कछुवाको व्यवहार बोकेर
कुमारी
आव्हान गरिरहेझैं लाग्छ
एउटा उज्यालो भविष्य आगमनको
अन्धकारविरुद्धको युद्ध जन्माउने
एउटा शुभ घडीको प्रतीक्षा गरिरहेझैं लाग्छ ।

अँध्यारोका उपासक चमेराहरुलाई पनि 
छहारी दिएर
अँध्यारोकै विरुद्ध
एउटा झिल्को नै सही
सल्काउने अभिलाषामा
दर्शनढुङ्गा ठोक्याइरहेझैं लाग्छ
चमेराहरुलाई दूत बनाएर
अँध्यारोको विरुद्ध युद्ध उद्घोष गर्न पठाएझैं लाग्छ
कुमारी
आफैं बाँच्ने अठोटमा
अँध्यारो हटाएर स्वयम् ।

अलिकति बैंसको सुरक्षा
अलिकति कुमारीत्वको संरक्षण
कुमारीको अभिलाषामा
बैंसालु कुमारहरुलाई
खुल्ला बोलपत्र आव्हान गरिरहेझैं लाग्छ–
अँध्यारोले निल्नै लागेको आफ्नै बैंस बचाउन
आफ्नो अस्तित्व बचाउन
कुमारी गुफा आफ्ने जोवन बचाउन ।

No comments:

Post a Comment