अनिश्चितता--कविता - रुपिन्द्र प्रभावी

Saturday, June 29, 2013

अनिश्चितता--कविता


अनिश्चितता
                                 –    रुपिन्द्र प्रभावी ‘कटु’
सीमाहीन उही आकास ओढेर
यो सिरेटोको छहारीमा
कहिलेसम्म पल्टिन सकिएला
सधैंभरि बोकेर
उही सीमाहीन अभावका घैलाहरु ।

आपसमा ठक्कर खाँदा मात्रै पनि
आगो उम्रेलाजस्तो धूपमा पनि
खै कहिलेसम्म जमिरहने हो
आँसुकै दह
र, भिजाइरहने हो सबैले भन्ने गरेको
यो झुत्रे
यो दुर्गन्धित
यो अलपत्र शरीर ?

हातभरि फलेका छन् ठेला र फोकाहरु
कपाकप खाएर तिनैलाई
कहाँ सकिँदो रहेछ र भोक टार्न ?
शरीरभरि बगेका छन् अविरल पसिनाका धाराहरु
गालाभरि छङ्छङाएका छन् आँसुका झरनाहरु
तिनैलाई पिएर घुघुटुटु
कहाँ सकिँदोरहेछ र तिर्खा मेटाउन ?

आफ्नै छातीको ज्वालामुखीले
डढेर भस्म हुन पनि सजिलो रहेनछ,
अहो ! बाफ् रे बाफ् !
एक्लै भागेर पनि कहाँ पुग्नु र,
पछ्याइरहन्छ आफ्नै छायाँ
खोलीकिनाराले झैं ।

सीमाहीन उही आकास ओढेर
यो सीमाहीन अभावको छहारीमा
कहिलेसम्म निदाउन सकिएला
आफ्नै आँगनमा बिरानो बनेर ?

No comments:

Post a Comment