नेपाली गजल, गजलकार ईश्वरमणि र उनको हृदयको आलाप गजलसङ्ग्रह (समालोचना) - रुपिन्द्र प्रभावी

Friday, April 3, 2015

नेपाली गजल, गजलकार ईश्वरमणि र उनको हृदयको आलाप गजलसङ्ग्रह (समालोचना)

समालोचना

नेपाली गजल, गजलकार ईश्वरमणि र उनको हृदयको आलाप गजलसङ्ग्रह

                                                                                                        -रुपिन्द्र प्रभावी ‘कटु’

१) प्रारम्भः


लमजुङको भार्ते गा.वि.स. वडा नं. १ देउरालीमा माता सुशीला र पिता चूडामणि अधिकारीका ६ भाइ छोराहरुमध्ये जेठा छोराका रुपमा वि.सं.२०२६ जेठ ३ गते जन्मेका ईश्वरमणि अधिकारी सानैदेखि सुशील, लगनशील र इमानदार व्यक्तिका रुपमा चिनिए । उनी बाबुआमाका आज्ञाकारी अनि गुरुहरुका जेहेन्दार र प्रिय छात्रका रुपमा चिनिए भने साथीभाइका बीच सहृदयी र सहयोगीका रुपमा स्थापित भए । भार्तेकै सूर्योदय माध्यमिक विद्यालयमा उत्कृष्ट अङ्कका साथ प्रवेशिकासम्मको अध्ययन सकेर प्रमाणपत्र (विज्ञान) तहदेखि अध्ययनलाई निरन्तरता दिन वि.सं.२०४२ मा पोखरा आइपुगेका उनी प्रमाणपत्र तह सकेर वि. सं. २०४४ मा गाउँ फर्के र ३ वर्ष गाउँकै सूर्योदय माध्यमिक विद्यालयमा शिक्षणमा लागे । त्यसपछि २०४७ देखि लगभग पोखरेली भएरै जमिरहे । पोखरामा उनले आफ्नो व्यक्तित्वमा अनेकौँ आयामहरु निर्माण गरे । अलि–अलि राजनीतिक चासोसमेत राख्ने अधिकारी बढी जसो अध्ययनशील विद्यार्थीकै रुपमा चिनिए । पछि एक कुशल शिक्षकको पहिचानसमेत स्थापित गराउन सफल ईश्वरमणिको जीवनले सर्वाधिक बाजी मारेको व्यक्तित्व भने साहित्यकार व्यक्तित्व नै हो । लमजुङ रहँदै पनि साहित्यिक चेत भरिएका उनी पोखरा आएपछि चेतनशील लेखक भएका हुन् अर्थात् उनको साहित्यिक यात्राको कोसेढुङ्गो पोखरा नै हो । उनको लेखनको प्रारम्भ विक्रमाब्दको २०४०÷०४१ तिरै भए पनि प्रकाशनको सुरुवात् भने २०४२ मा पोखराबाट प्रकाशित ‘विकल्प’ पत्रिकामार्फत् ‘बहिराहरु’ शीर्षकको कविताबाट भएको पाइन्छ । पञ्चायती कालरात्रिका विरुद्धसमेत ईश्वरमणि अधिकारी सक्रिय रहे । विद्यार्थी राजनीतिमार्फत् उनले कालो शासन सत्ताको अन्त्यका लागि उठाएका मसालले कतिको मनमा चेतनाको आगो सल्कायो, त्यो भिन्न पाटो हुन सक्ला, तर उनी भने एक सचेत व्यक्तित्व बने, उत्तरदायी र असल नागरिक बने ।

ईश्वरमणि अधिकारीले चालीसको दशकको प्रारम्भतिरै कविताबाट लेखन यात्रा सुरु गरे पनि पोखरेली युवा साँस्कृतिक परिवारसँग निकटता बढेपछि पचासको दशकको मध्यतिर उनीभित्रको कवित्व राम्ररी जुर्मुराएको देखिन्छ । उनले पोखरेली युवा साँस्कृतिक परिवारको समता काव्य सन्ध्यालाई आफ्नो कविताको पाठशाला मानेका छन् । समता काव्य सन्ध्यामा कविता सुनाउँदासुनाउँदै खारिएका अधिकारीको २०६१ मा समयको तस्वीरनामक कवितासङ्ग्रह प्रकाशन भएपछि उनको नामका अगाडि ‘कवि’ शब्द झुण्डिने गरेको पाइन्छ भने उनी अन्य विधामा पनि राम्ररी कलम चलाउन सक्छन् । त्यसो त उनले समयको तस्वीरभन्दा अगाडि नै साहसी बालक अरविन तिमिल्सिनाको जीवनीमा आधारित कृति ‘सगरमाथा आरोही अरविन’ वि. सं.२०५८ मा प्रकाशन गरिसकेका थिए । 

२) कवि ईश्वरमणिः

समयको तस्वीरले उनलाई फोटोकविका रुपमा चिनायो । अझ यसो भन्दा ठीक होला– समयको कवितात्मक फोटोग्राफर बनायो समयको तस्वीरले कवि ईश्वरमणि अधिकारीलाई । समकालीन युगीन यथार्थको चित्रण उनको कवितात्मक वैशिष्ट्य हो । तात्कालीन समयमा देशमा व्याप्त हत्याहिंसाको वातावरणबाट उनी सबैभन्दा बढी प्रताडित छन् त्यसैले शान्तिको कामना र चाहनामा उनी आफ्ना काव्य–हरफहरु खर्चिन्छन् । जसरी गाउँ–गाउँमा आज पनि देश दुखिरहेको छ, ईश्वरमणिको छातीभित्र पनि सबैभन्दा बढी केही दुख्छ भने देश नै दुख्छ । स्वच्छन्दतावादी धारलाई अँगाल्ने कवि अधिकारीको कवितामा यथार्थवादी चेतनाको रमरम छाप पनि पाइन्छ । सरल बिम्ब तर घुमाउरो–घुमाउरोजस्तै प्रस्तुतीले अलिकति मीठास थप्ने प्रयास उनका कविताहरुमा पाइन्छन् । मानवीय उत्पीडनका विरुद्धमा उनका कविताहरु बोलेका हुन्छन् । बौद्धिकताको झिल्को पाइने कविताहरुले सम्प्रेषण गर्न खोजेका विचार भने असहज प्रायः लाग्दैनन् । सशक्त कविका रुपमा आफ्नो पहिचान बनाइसकेका कवि ईश्वरमणि अधिकारीले अर्को गहन विधा गजलमा पनि आफूलाई समाहित गराएका छन् । 

३) गजल र गजलकार ईश्वरमणिः

नेपाली साहित्यको वर्तमान माहौलमा सर्वाधिक लेखिने र पढिने विधाका रुपमा गजलले आफ्नो पहिचान निर्माण गरेको छ । यसले आफ्नो प्रभाव दिन दुगुना रात चौगुनाको गतिमा विस्तार पनि गरिरहेको छ । नवप्रवेशी स्रष्टाहरुको प्रवेशद्वारमात्र भएको छैन गजल, स्थापितहरुलाई समेत नवप्रवेशीका रुपमा स्वागत् गरिरहेको छ । आजभोलि त्यस्ता साहित्यिक गोष्ठीहरु छैनन् जहाँ गजल नसुनाइएको होस्, त्यस्ता पत्रिका छैनन् जसमा गजल नछापिएको होस्, त्यस्ता विद्युतीय सञ्चार माध्यम छैनन् जहाँ कुनै न कुनै कार्यक्रममा गजलले स्थान नपाएको होस् । मानौँ, मानिसको जिब्रोमै झुण्डिएको छ गजल; जीवनकै अभिन्न अङ्ग बनेको छ । 

गजल इतिहासदेखि वर्तमानसम्म चुलिँदो गतिमा लोकप्रियता हासिल गरिरहेको एउटा विशिष्ट साहित्यिक विधा हो । अधिकांश समीक्षकहरुले अरबी शब्दका रुपमा ‘गजल’लाई स्वीकारेका छन् भने केहीले फारसी शब्दका रुपमा प्रस्तुत गरेका छन् । गजल अरबी शब्द भए तापनि काव्य विधाका रुपमा यसको वास्तविक जन्म फारसी साहित्यको जमिनमा भएको हो । त्यसो त अरबीमा पनि गजल भन्ने परम्परा थियो भनिन्छ । इसाको सातौँ शताब्दीको उत्तराद्र्धतिर उमर इब्न आर्बि रबि आह (मक्का शैलीका) र जमील अल उधरी (मदिना शैलीका) आदिले गजल लेखेका थिए भन्ने उल्लेख पनि भएको पाइन्छ । कसैकसैले के पनि भनेका छन् भने अरबीमा गजल अनपढ रुपमा थियो । त्यस भाषामा यसले लिखित रुप ग्रहण गरेको नभए पनि सामान्यतः सुनाउने र सुन्ने परम्परा भने थियो । अरबीकै एउटा काव्य भेद तश्बीबबाट यस विधाको जन्म भएकाले गजल अरबीमा पनि थियो भन्दा अस्वाभाविक लाग्दैन । वस्तुतः अरबी गजल लेख्यभन्दा पनि कथ्य स्वरुपमा बाँचेको थियो । (परिश्रमीः २०६५;१६) अरबले इरानलाई आफ्नो अधिनमा लिएपछि इरानीहरुले अरबीहरुबाट गजललाई ग्रहण गरी आफ्नै मौलिकतासहित फारसीमा गजल लेखनको परम्परा सुरु गरेको पाइन्छ । विधिवत् रुपमा फारसका शायर रौदकी (रुदकी) ले इसाको दसौँ शताब्दीमा गजल लेखन सुरु गरेका हुन् भन्ने भनाइ छ । यस विधालाई अझ लोकप्रिय बनाउन सादी सिराजी, अमीर खुसरोहरुको महत्वपूर्ण भूमिका स्मरणीय मानिन्छ । 
 यसरी प्रारम्भ भएको गजलले स्त्रीसँगको प्रणयपरक वार्तालापको परम्परागत अर्थ बोके पनि अरबी, उर्दू, हिन्दी, अङ्ग्रेजी, टर्केली, नेपाली, जर्मनेली आदि भाषाहरुमा लेखनको विकाससँगै परिभाषागत सीमा पनि नाघेको पाइन्छ । हुन पनि स्त्रीसँग प्रणयका अलावा अन्य विषयमा पनि कुराकानी हुन सक्छ । प्रेम र शृङ्गारको साँघुरो घेरामा गजललाई कैद गर्नु सर्वथा अनुचितमात्र हुँदैन, एउटा स्वतन्त्र साहित्यिक विधामाथिको अन्याय पनि हुन्छ । यही सत्यको मनन गरेर उर्दूका प्रसिद्ध शायर मौलाना अल्ताफ हुसेन ‘हाली’ र मौलाना मोहम्मद हुसेनी ‘आजाद’ ले सर्वप्रथम गजललाई समग्र जनवर्गको जीवन र युगबोधसँग संयोजन गराए । वि.सं. १९४० मा मोतीरामले नेपाली साहित्यमा शृङ्गारिक विधाकै रुपमा भिÊयाएका नेपाली गजलले आज आफूलाई समग्र जीवन र जगत्सापेक्ष विकास गरिसकेको छ । जीवन र जगत्को सर्वपक्षीय समाविष्टिको सम्भावनासहित संरचनागत सुगठनयुक्त सुललित अभिव्यक्ति नै गजल हो । मोतीरामले सुरु गरेको गजललाई शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर, गोपीनाथ लोहनी, लक्ष्मीदत्त पन्त ‘इन्दु’, नरदेव पाण्डे ‘सुधा’ आदिले वि.सं.१९९६ सम्म निरन्तरता दिए पनि त्यसपछि नेपाली गजल सुस्तायो । बीसको दशकमा मनु ब्राजाकी, ललिजन रावल, बुँद राना, धर्मोगत शर्मा ‘तूफान’हरुले गजल लेखेको चर्चा पाइए पनि नेपालीमा प्रकाशनमार्फत् पुनः गजललाई चर्चामा ल्याउने काम भने ज्ञानुवाकर पौडेलले गरे । पौडेलको छ सेरको ‘वर्षा...’ गजल २०३५ असारको अभिव्यक्ति पत्रिकामा सर्वप्रथम प्रकाशित भएपछि नै नेपाली साहित्यमा गजलको चर्चा हुन थाल्यो । पौडेलको २०३५ कै असोज र माघको रुपरेखामा क्रमश दोस्रो र तेस्रो गजलहरु पनि छापिए । त्यसपछि थुप्रै गजलकारहरु गजल लेखनमा लागे पनि गजलसङ्ग्रहको प्रकाशन भने २०४२ मा ललिजन रावलको ‘केही गजलहरु’लाई पुनःजागरणपछिको पहिलो मानिन्छ यद्यपि ‘मोतीराम भट्टका गजलहरु’ भट्टको ३२ गजलहरु समेटेर २०३८ मा नेपाली शिक्षा परिषद्ले प्रकाशन गरेको थियो । रावलकै ‘बिरानो ठाउँमा’ २०४६ मा प्रकाशन भएपछि भने नेपाली गजलका कृति सम्पादन र प्रकाशनको गति पनि बढ्यो र हालसम्म आइपुग्दा नेपाली गजलमा सयौँका सङ्ख्यामा गजलसङ्ग्रहहरु प्रकाशन भएका छन् । यही भीडमा गजलकार ईश्वरमणि अधिकारीको ‘हृदयको आलाप’ (२०६६) पनि मिसिएको छ । 
चालीसको दशकको सुरुतिरै कविता प्रकाशन गरेर साहित्यिक पाइलो अघि सारेका ईश्वरमणि अधिकारी गजल लेखनमा भने निकै पछि मात्र सक्रिय रहे । शैक्षिक, साहित्यिक र राजनीतिक चेतनाले खारिएका अधिकारीले आफ्नो पहिलो गजलमै समयलाई सम्बोधन गरेका छन् । भन्नुको तात्पर्य, उनले गजलको परम्परागत अन्तर्वस्तुको साँध मिचेका छन् । उनको तरुण राष्ट्रिय साप्ताहिको वर्ष–१ अङ्क–११ मा २०५४ असार २ गते प्रकाशित गजललेखनकै सर्वप्रथम गजलका केही सेरहरु यस्ता थिए–
खसीबोका भए मान्छे, मान्छे खसी बोका भए
भोका नाङ्गा भए मान्छे, मान्छे भोका, डोका भए

साटासाट भो, किनबेच भो, के पो हुन बाँकी भो र !
अछुत जो’थे हिजो, अस्ति, आज उनै चोखा भए

जालीझेली भए मान्छे, मान्छे बाङ्गा सोझा भए
पापी, लोभी भए मान्छे, मान्छे भोकैभोका भए

ह्रासोन्मुख मानवीय प्रवृत्तिप्रति कटाक्ष गरेर आफ्नो पहिलो गजल नै अछुत हुनुपर्नेहरु चोखा भएका र भोका वर्गलाई हेप्ने दुष्प्रवृत्तिप्रति विद्रोह जनाउँदै सशक्त र नवीन शैलीगत प्रस्तुतीले सिँगार्ने ईश्वरमणिले गजल लेखनमा त्यति धेरै सक्रियता भने देखाएनन् । २०५४ देखि २०६१÷२०६२ सम्मको अधिकारीको गजललेखनलाई नियाल्ने हो भने मुस्किलले आधा दर्जनको सेरोफेरोमा मात्र गजल लेखेका होलान् । यस बीचमा अधिकारी कवितातिर बढी नै लहसिए र समयको तस्वीर कवितासङ्ग्रह नै प्रकाशन गरे । २०६२ को उत्तराद्र्धतिर जब गजल सन्ध्या, पोखराको समीपमा यिनी तानिए, यिनको गजल लेखनले पुनर्जागरण पायो । त्यसपछि भने यिनको गजलयात्राले गति लिन थालेको देखिन्छ । गजल सन्ध्या, पोखराले हरेक महिनाको दोस्रो शनिबार गर्ने गजलवाचनमा यिनको उपस्थिति सार्थक बन्दै गयो । गजलकार अधिकारीका केही भावुक गजलहरुले स्रोताको मनमस्तिष्कमा बासमात्र पाएनन्, वाह् ! वाह् ! नै पाए, र त हौसिएर २०६६ मा यिनले गजलसङ्ग्रह नै प्रकाशन गरे अनि नाम दिए – हृदयको आलाप । 

४) हृदयको आलापमा ईश्वरमणिको गजलकारिताः
हृदयको आलाप गजल सन्ध्या, पोखराले आफ्नो सातौँ प्रकाशनमालाका रुपमा प्रकाशन गरेको जम्मा ७१ वटा गजलहरुको सुन्दर सङ्ग्रह को । स्तरीय कागज र छपाइका साथ आएको कृतिभित्र डा.कृष्णहरि बराल, डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, तीर्थ श्रेष्ठ, सरुभक्त, दीपक समीप, प्रकट प्रगेनी ‘शिव’, रमेश श्रेष्ठ, गोविन्दबहादुर कुँवरलगायतको भूमिका, दृष्टिकोण तथा शुभकामनाहरु छन् । ‘हृदयको आलापलाई गजल मानें मैले’ भन्दै कृतिको नाम र गजलप्रतिको आफ्नो मान्यता प्रस्तुत गरेर गजल पस्कने क्रमको आरम्भ गरेका छन् अधिकारीले । गजलकारले भनेका पनि छन् कृतिमा कतै – ‘जिन्दगीको नजिकबाट यात्रा गर्दै जाँदा सुख, दुःखका अनगिन्ति मोडहरुमा हृदय आफैँ पोखियोः मैँले अलिकति बनोट मिलाएँ र गजलको नाम दिएँ ।’ उनले सुरुमा रहरले गरिएको लेखन कार्य पछि आदत नै बनेको र जिन्दगी नै सामल बनेको स्वीकारोक्ति पस्केका छन् । गजल सङ्ग्रह भित्र अधिकारीले अधिकांश प्रणयपरक सेरहरु बुनेका छन् भने संरचनाका दृष्टिले निकै सुन्दर संयोजन देखिन्छ । हृदयको आलापमा गजलकार अधिकारीको गजलीय मूल स्वर प्रेम÷प्रणय नै झल्किन्छ कृतिमा । 

५) गजल संरचनामा हृदयको आलापः
गजलको संरचना तथा तत्व अन्र्तगत के–के कुरा पर्दछन् भन्ने सन्दर्भमा कतिपय समीक्षकहरु बीच विवाद पनि देखिन्छ । गजलमा प्रयोग हुने सेर, बहर, मतला, मक्ता, काफिया तथा र रदिफ बाह्य बनोटअन्र्तगत पर्ने कुराहरु हुन् । भाव, कल्पना, लय, अलङ्कार आदिका अभावमा सेर, मक्ता, मतला, काफिया आदि भएर मात्र गजलले आफ्नो साहित्यिक अस्तित्व प्राप्त गर्न सक्दैन । यस अर्थमा कविता वा गीति कविताअन्र्तगत पर्ने तत्वहरुलाई नै गजलका पनि तत्व मान्नु उपयुक्त हुन आउँछ भने यसलाई कविता वा गीतबाट अलग गराउने सेर, काफिय, रदिफ आदि बाह्य उपकरणलाई चाहिँ गजलको रुप वा बनोट वा व्याकरण वा अंग जे भने पनि भिन्नै विवेचना गर्नु आवश्यक देखिन्छ । (बराल ः २०६४; ३) गजलमा मुख्यतयाः इवारत (शैली), इशारत (प्रतीक) र अदा (भाव) गरी तीन तत्वहरु हुुनुपर्दछ । गजललाई लयात्मक, गेयात्मक र हृदयस्पर्शी तुल्याउन शैलीको महत्वपूर्ण भूमिका हुन्छ । सीधै शब्दले सोझो प्रहार गरिएको गजल मीठासपूर्ण हुँदैन । घुमाउरो तवरबाट फूलले हानेर घायल बनाउन सक्ने खूबी गजलमा हुनुपर्दछ । (अधिकारी ः २०६७; १७) यसमा पाइने विषयको वैयक्तिक अभिव्यञ्जना, साङ्गीतिक माधुर्य एवम् कसिलो निश्चित संरचनाले चमत्कार पूर्ण सौन्दर्य सिर्जना गर्छ र पाठक÷स्रोतालाई रोमाञ्चित पार्दछ । (एटम ः २०६४; १६) संरचनात्मक सुगठन गजलको महत्वपूर्ण पक्ष हो । वर्तमानका कतिपय गजलहरुमा संरचनात्मक मर्यादालाई ख्याल गरिएको पाइँदैन । प्रत्येक दुई हरफका अन्त्यमा अनुपात मिलाउँदैमा गजल बन्न सक्तैन । यस्ता खाले गजल लेख्ने प्रवृत्तिको विकासले गर्दा अहिलेका केही गजलहरुले यस विधाको बद्नाम गरिरहेका छन् । गजलको सैद्धान्तिक ज्ञान सामान्य रुपमा भएर पनि ‘काफिया’ मिलाउने रहरमा भावगत विचलन ल्याउने र निरर्थक शब्दहरुको संयोजन गर्ने परिपाटीको विकास वर्तमानका धेरै जसो गजलहरुमा भएको पाइन्छ । (नेपाल ः २०६२; १०८) 
 गजल साहित्यिक विधा हो र साहित्यका विभिन्न विधाहरुको आ–आफ्नै अनुहार भए जस्तै गजलको पनि आफ्नै अनुहार हुन्छ । आफैँमा पूर्ण सेरहरु तथा काफिया, रदिफ, तखल्लुस, छन्द आदिको प्रयोगका कारण गजलले साहित्यका अन्य विधा भन्दा छुट्टै प्रकारको पहिचान प्राप्त गर्छ भने काव्य रुप भएका सन्दर्भमा भाव तथा विषयवस्तु, कल्पना, बिम्ब तथा प्रतीक, सङ्गीत अनि भाषाशैलीको प्रयोग पनि यसमा अनिवार्य रुपमा हुने गर्छ । (बराल ः २०६४; १) यसै सन्दर्भमा गजलकार ईश्वरमणि अधिकारीको गजलसङ्गह हृदयको आलापमा समाविष्ट गजलहरुलाई गजलका आधारभूत संरचनाका आधारमा चर्चा गर्नु सान्दर्भिक हुन्छ । 

अ) काफियाः 
गजलमा काफिया महत्वपूर्ण मानिन्छ । गजलको सन्निकट गीतबाट गजललाई पहिचान्ने प्रमुख आधार यही नै देखिन्छ । (लामिछाने ः २०६२; ८) काफिया गजलको मुटु नै हो जुन एउटा सिङ्गो गजलको स्वरुप निर्माणका लागि अनिवार्य छ । काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो, यसको अर्थ बारम्बार आउने भन्ने हुन्छ । स्वर मात्रामा अलिकति पनि गडबडी वा असन्तुलन नभएको अनुप्रासयुक्त अर्थात् तुक मिलेको शब्द, शब्दांश वा अक्षर नै काफिया हो । (परिश्रमी ः २०६४; ३३) यो रदिफभन्दा अगाडि प्रयोग हुन्छ । काफिया मतलाको दुवै मिसरामा र अन्य सेरहरुको मिसरा ए सानीमा प्रयोग गरिन्छ । काफियाका पूर्ण, आंशिक, एकाक्षरी, मिलित, मिश्रित गरी विभिन्न प्रकारहरु प्रचलनमा छन् । 
गजलकार ईश्वरमणिका गजलहरु काफियाका दृष्टिले अत्यन्त सफल छन् । अधिकांश पूर्ण काफिया प्रयोग गर्ने अधिकारी आंशिक र मिश्रित काफियाको प्रयोगमा पनि अग्रसर छन् । जम्मा ७१ मध्ये ५५ वटा गजलमा अधिकारीले पूर्ण काफिया प्रयोग गरेका छन् भने ७÷७ वटामा आंशिक र मिश्रित तथा २ वटामा मिलित काफिया प्रयोग गरेका छन्; उनले एकाक्षरी काफिया प्रयोग गरेका छैनन् । मिश्रित काफिया प्रयोग गरिएको एउटा गजलमा त उनले दोहोरो काफिया समेत प्रयोग गरेका छन् । दोहोरो काफियाको त्यस्तो कुनै खास अस्तित्व, संरचना वा विशेष सैद्धान्तिक महत्व उल्लेख गरिएको नपाइए पनि यसलाई गजलकारको प्रयोग परक खूबी मान्नुपर्छः 

प्यास ट¥यो अनि आयौ
आस म¥यो अनि आयौ

आउन त आयौ ‘ईश्वर’कै
लास प¥यो अनि आयौ ।

गजलकार ईश्वरमणि काफिया प्रयोगका सन्दर्भमा निकै सचेत छन् । उनको स्वाभाविक काफिया चयनले गजलीय इवारतको उचाइ  बढाएका मात्र छैनन्, गेयात्मक गुणलाई पुट पनि दिएका छन् । केही हमकाफिया भने उनले कमजोर प्रयोग गरेका छन्, हुन सक्छ, गजलकारले भावको मोहमा त्यसो गरेका हुन् । 
काफियाका विभिन्न प्रकारहरु भए पनि सफल गजल सिर्जनामा पूर्ण काफियाको प्रयोगमा गजलकार सचेत रहनुपर्छ । सके          सम्म एकाक्षरी काफिया प्रयोग नगर्नु राम्रो मानिन्छ । (ओझा र अन्य ः २०६६; १८) गजलकार ईश्वरमणि यस कुरामा पूर्ण सचेत छन् । त्यसो त, पूर्ण काफियाको प्रयोगमा रमाउनु पोखरेली गजलहरुको वैशिष्ट्य नै मानिन्छ । 

आ) रदिफः
‘रदिफ’ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो जसको कोशीय अर्थ ‘अनुगामी’ वा ‘पछि–पछि हिँड्ने’ भन्ने हुन्छ । गजलका सन्दर्भमा काफियका पछि आउने शब्द वा शब्दसमूहलाई नै रदिफ भनिन्छ । रदिफ मतलाको दुवै मिसरामा र अन्य सेरहरुको मिसरा ए सानीमा मात्र आउँछ र यो एउटै शब्द वा समूह पटक–पटक दोहोरिने गर्छ अर्थात् एउटा गजलमा एउटा मात्र रदिफ हुन्छ । गजलमा रदिफ अनिवार्य तत्व भने मानिँदैन । गजलकारको इच्छाअनुसार यसको ऐच्छिक प्रयोग हुन सक्छ । रदिफ प्रयोग भएका गजलहरुलाई मुरद्धफ र नभएका गजललाई गैरमुरद्धफ गजल मानिन्छ । 
गजलकार ईश्वरमणि अधिकारीका अधिकांश गजलहरुमा रदिफ प्रयोग गरिएका पाइन्छन् । परम्परागत शास्त्रीय मान्यतामा उकदेखि तीन शब्दसम्मका रदिफ प्रयोग गर्ने मान्यता भए पनि आम समकालीन गजलकारहरुले जस्तै यिनले पनि शब्दको बन्धन तोडेका छन् । यिनले एकदेखि पाँच शब्दसम्मका रदिफहरु प्रयोग गरेका छन् । रदिफको प्रयोगले पनि गजलकारको पहिचान स्थापित गर्न निकै मद्दत गर्दछ । यिनी जनजिब्रोमा झुण्डिने खालका रदिफ चयनमा सिपालु देखिन्छन् । यिनका रामकसम, मेमसाब, हजुर, सहर, होसियार, महाशयजस्ता प्रचलनका र सार्थक रदिफहरु सजिलै जनजिब्रोमा बस्छन् । कृतिमा यिनले ६ वटा गैरमुरद्दफ र ६५ वटा मुरद्दफ प्रकृतिका गजलहरु समावेश गरेका छन् । यिनका मुरद्दफ गजलहरुले गजल गायनका लागि मार्गप्रशस्त गरेका भान पाठकलाई पर्न जान्छ ।

इ) सेरः 
गजलका प्रत्येक दुई हरफलाई सेर भनिन्छ । गजलका प्रत्येक हरफलाई मिसरा भनिन्छ भने प्रत्येक सेरका पहिलो मिसरालाई मिसरा ए–उला र दोस्रो हरफलाई मिसरा ए–सानी भनिन्छ । गजलको पहिलो सेरलाई ‘मतला’ भनिन्छ भने अन्तिम सेरलाई ‘मक्ता’ भनिन्छ । ‘मक्ता’ को अर्थ ‘समाप्ति’ भन्ने हुन्छ । केही गजलकार तथा समीक्षकहरुले तुखल्लुसको प्रयोग भए मात्र मक्ता भन्न मिल्ने कुतर्क गरेका पाइन्छन् तर खल्लुस प्रयोग गर्नु र नगर्नुसँग गजलको समाप्तिको कुनै सम्बन्ध देखिनु जरुरी छैन । तसर्थः गजलको अन्तिम सेरलाई मक्ता भन्न सकिन्छ । गजलको वैशिष्ट्य त प्रत्येक सेरले फरक–फरक विषयवस्तु वा भाव बोक्न सक्नुमा अझ बढी रहन्छ । एउटा गजलका प्रत्येक सेरले फरक–फरक विषयवस्तु वा भाव सम्प्रेषण गरेमा त्यसलाई गैर मुसलसल र एउटै विषयवस्तु वा भाव प्रस्तुत गरेमा मुसलसल गजल मानिन्छ । 
ईश्वरमणि अधिकारीले ३ देखि ६ सेरसम्मका गजलहरु कृतिमा समेटेका छन् । गजलमा यति नै सेर हुनुपर्छ भन्ने कुनै मतैक्यता समीक्षकहरुमा नपाइए पनि सामान्यतयाः कम्तिमा पाँच र बढीमा १२÷१३ सेरसम्मका गजलहरु आम प्रचलनमा छन् र यसमै अधिकांशको सहमति पनि देखिन्छ तर गजलकारहरुले ३ देखि ११० सेरसम्मका गजलहरु लेखिसकेका छन् । गजल गेय विधा भएको र गायनका लागि अधिकांश कलाकार÷सङ्गीतकारहरुले ३ सेरका गजललाई उपयुक्त ठह¥याउने हुनाले गजलकारहरु ३ सेरका गजललेखनतर्फ पनि बढी आकर्षिक भएका छन् । अझ पोखरेली गजलकार लक्ष्मण थापाले ३०१ सेरका गजल समेटेर ‘पलापला’ र कमल पौडेल ‘अथक’ ले ३१० सेरका गजल समेटेर ‘प्रेमको मधुमास’ गजलसङ्ग्रह नै प्रकाशन गरेका छन् । यसले अब नेपाली गजल कम्तिमा ३ सेरदेखि माथि जतिसुकै सरेमा लेख्न सकिने मान्यता विकास गरिरहेको देखिन्छ । गजलकार अधिकारीले भने बढी जसो ५ सेरकै गजल लेखेका छन् । उनले कृतिमा ७१ मध्ये ६३ वटा पाँच सेरका, ४ वटा तीन सेरका, ३ वटा ४ सेरका र १ वटा ६ सेरको गजल समेटेका छन् । गजलकार अधिकारी अधिकतम मुसलसल गजल लेख्ने गजलकार हुन् । वास्तवमै भन्ने हो भने, अधिकारीका पूरै जसो गजलहरु मुसलसल शैलीका छन् यद्यपि मुसलसलसापेक्षमै केही गैर मुसलसल गजल लेख्ने प्रयास पनि उनले गरेका छन् । गजलको एउटा सेरले एउटा भाव वा विचार सम्प्रेषण गर्नुपर्छ । गजलका प्रत्येक सेरले स्वतन्त्र अर्थ दिने सामथ्र्य बोकेका हुन्छन् । कतिपय गजलकारहरुका गजलका सेरले एउटा अर्थ स्पष्ट पार्न अर्को सेरको मद्दत खोजिरहेका हुन्छन्; त्यस्ता सेरहरुले गजलको मर्म पूरा गर्न सक्दैनन् । गजलकार अधिकारीका प्रत्येक सेर अर्थपूर्ण छन् जसले आफैँमा कुनै एउटा भाव स्वतन्त्रतापूर्वक दिएका छन् । 

ई) लयः
गजलकार ईश्वरमणि अधिकारीका गजलहरुको एउटा सबल पक्ष लय पनि हो । लयका दृष्टिले अधिकारीका गजलहरु निकै उत्कृष्ट छन् । गजलको अनिवार्य तत्वका रुपमा गेय गुणलाई लिइन्छ । गेयात्मक हुनका लागि लयात्मक पनि हुनुपर्छ । गजलको लयलाई त्यसमा प्रयोग गरिएको अक्षर संरचना तथा मात्राले निर्धारण गर्दछन् । अधिकारीले ६÷७ अक्षरदेखि १६÷१७ अक्षरका गजलहरु हृदयको आलापमा समेटेका छन् । गजलमा प्रयोग गरिने छन्दलाई बहर भनिन्छ । बहरले नै गजललाई लयात्मक बनाउने गर्दछ । गजलकार अधिकारी शास्त्रीय बहरमा गजल लेख्ने स्रष्टा होइनन्, उनी स्वनिर्मित लयविधान अँगालेर गजल लेख्छन् । उनका अधिकांश गजल लोक लयमा आधारित छन् , नेपाली झ्याउरे छन्दमा प्रयोग गरिने १६ अक्षरको संरचना उनका अधिकांश गजलमा पाउन सकिन्छ । एउटा गजलका प्रत्येक मिसरामा समान अक्षर प्रयोग गरिनु लयका दृष्टिले उचित हुन्छ । गजलकार अधिकारी यस सत्यका हिमायती हुन् तैपनि केही सेरहरुमा अक्षर सङ्ख्या घटीबढी भने छन् । उनका केही गजलहरु रेकर्डसमेत भइसकेका छन् । गजल गाउनका लागि मात्रै लेखिन्छ भन्ने मान्यता राखिएको पनि होइन, वाचनका लागि र पठनका लागि पनि गजल लेखिन्छन् र लेखिनुपर्छ । गाउन सक्ने र चाहनेले गाउन मिल्ने गजल लेखिनु चाहिँ राम्रा हो । गजल गाउन जान्नेले गाए हुन्छ, गाउन नजान्नेले स–सुर÷सविवेक वाचन गरे हुन्छ । गाउन र वाचन दुवै गर्न नसकेमा प्रकाशनका माध्यमबाट पाठकको मन जिते हुन्छ । (गिरीः २०६४; १०) यस्तो क्षमता भएका व्यक्तिका लागि ईश्वरमणिका गजलहरु निकै स्वादिला छन् । गति र यतिमा अवरोध नहुने गरी लेखिएका गजल वाचनमा पनि श्रुतिमधुर लाग्छन् । हृदयको आलापमा सवाई छन्द र मुक्त लय विधानको प्रयोग पनि पाइन्छ । जे होस्, लयका हिसाबले अधिकारीका गजलहरु सबल छन् । 

उ) तखल्लुसः 
गजलकारले गजलमा प््रयोग गर्ने आफ्नो नाम वा उपनामलाई तखल्लुस भनिन्छ । गजलकारले आफ्नो पूरा नाम वा उपनाम, तिनको छोटकरी रुप, अगाडि, बीच वा अन्त्यको अंश वा थर प्रयोग गरी गजलमा आफ्नो स्वामित्व दर्शाउने परम्परा छ जसलाई तखल्लुस भनिन्छ । खास गरी मुसायराहरुमा गजलकारहरुले अर्कै गजलकारको गजल सुनाउने प्रचलन बढेपछि त्यसलाई रोक्ने प्रयासस्वरुप तखल्लुसको प्रयोग गर्न थालिएको तर्क पनि पाइन्छ । मूलत ः गजलको मक्तामा तखल्लुस प्रयोग गर्ने प्रचलन भए पनि कुनै पनि सेरमा यो प्रयोग हुन सक्छ । तखल्लुस गजलको अनिवार्य तत्व होइन । तखल्लुस प्रयोग गरिएको सेरलाई मात्र मक्ता मान्नुपर्छ भन्ने राय पनि केही गजल समीक्षकहरुको पाइन्छ, यो तर्कसङ्गत छैन किनकि माथि पनि भनियो– मक्ताको अर्थ समाप्ति हो । तसर्थः न तखल्लुस प्रयोग नगर्दैमा गजलमा मक्ता (अन्तिम सेर नहुने हुन्छ), न त अन्य सेरमा तखल्लुस प्रयोग गर्दैमा त्यो सेर मक्ता नै हुन सक्छ । तखल्लुसको प्रयोग परिचयबाहेक पनि अर्थपूर्ण हुनुपर्ने कुरामा भने दुईमत छैन । 
गजलकार ईश्वरमणि अधिकारी तखल्लुसका सफल प्रयोक्ता हुन् । आफ्ना गजलहरुमा आफ्नो नामको सार्थक प्रयोग उनले गरेका छन् । कतै ‘ईश्वर’ त कैत ‘मणि’ उनले तखल्लुसका रुपमा प्रयोग गरेका छन् । हृदयको आलापमा गजलकार अधिकारीले जम्मा २१ वटा गजलमा तखल्लुसको प्रयोग गरेका छन् जसमध्ये ३ वटामा ‘मणि’ र १८ वटामा ‘ईश्वर’ को प्रयोग गरेका छन् । तीनवटै पुरुष शैलीमा गजलकारले तखल्लुस प्रयोग गरेका छन् । सम्पूर्ण तखल्लुसहरु मक्तामै प्रयोग गरेका छन् भने अर्थपूर्ण पनि छन् । यसर्थ तखल्लुसप्रति अधिकारी मोहित र सचेत नै देखिन्छन् । 

ऊ) भाषाशैलीः
सिर्जनाका व्यक्तिगत पहिचान भाषाशैलीमा निर्माण हुन्छ । उस्तै विषयवस्तु र संरचनाका सिर्जनाहरुमा पनि भाषाशैलीगत भिन्नताले सर्जकको वैशिष्ट्य स्थापित हुन्छ । गजलकार ईश्वरमणि अधिकारी कोमल भाषाका प्रयोक्ता हुन् । गजलमा प्रायः दुर्बोध्य र कडा भाषालाई राम्रो मानिँदैन । बोधगम्य र कोमल भाषाले गजललाई मीठास र लयात्मकता दिने हुनाले पनि गजलमा त्यस्तै भाषाको शुद्ध रुप प्रायः देख्न पाइन्छ । जनजिब्रोका भाषालाई बिम्बात्मक ढङ्गले प्रस्तुत गर्नु अधिकारीको शैलीगत विशेषता हो । भाषामै आन्तरिक लयको सिर्जना गर्ने उनको शैली लोभलाग्दो छ । उनी कतैकतै ‘भिल्लको देशमा मणि’ जस्ता मिथकहरुको प्रयोग गर्छन् भने कतैै आक्रोशका शब्दहरु पनि प्रयोग गर्छन् । सरल प्रतीक र प्रभावकारी बिम्बहरुका साथ साथै बोलीचालीमा प्रयोग गरिने ग्रामीण लवजको प्रयोगले गजलहरु सुन्दर र प्रभावकारी बनेका छन् । कथ्यगत विविधता र लयगत विविधता गजलकार अधिकारीका गजलहरुको अर्को विशेषता हो । शब्द छनोट र लयात्मकता, कोमलभाव सम्प्रेषणको खूबी र संरचनात्मक शिल्पीका हेराइले बजारका सरदर गजलभन्दा ईश्वरमणिका प्रणय–गजलहरु पनि प्रभावशाली छन् । निकै शालीन छन्, श्लील छन् । भाषिक चातुर्यभन्दा पनि कोमलता बढी हावी छ गजलमा, तथापि मालुम, चौरास्ता, गुलजार, इमारतजस्ता हिन्दी शब्दहरुको प्रयोग पनि उनले गरेका छन् । चलनचल्तीमा आइसकेका केही आगन्तुक शब्दहरुको प्रयोगलाई स्वाभाविक मान्न सकिए पनि विदेशी भाषाका शब्दहरुको प्रयोग गर्नु उति श्रेयस्कर लाग्दैन । उनले केही शब्दहरुलाई लय मिलाउनका लागि छोटकरीमा समेत प्रयोग गरेका छन् भने ‘बाती’जस्ता लोपोन्मुख शब्दको प्रयोग पनि गरेका छन् । सलल बग्ने शैलीका गजलकार अधिकारीको लेखन शैलीमा आफ्नोपन पाउन सकिन्छ, उनका गजलका पाठकले उनको नाम नभए पनि भाषा शैलीबाट नै अधिकारीका गजलहरु चिन्न सक्छन् । 

६) विषयवस्तु र भावः 
कुनै साहित्यिक कृति वा रचनामा रहेको मूलभूत सार, विचार नै अन्र्तवस्तु हो । अन्तर्वस्तुले कवि, लेखकको जीवनजगत्सम्बन्धी दृष्टिकोण वा विचारको प्रतिनिधित्व पनि गर्दछ भने पाठकले ग्रहण गर्ने सन्देश पनि त्यही नै हुन्छ, त्यसैले साहित्यको उद्देश्य वा विचार पनि त्यसको अन्तर्वस्तु नै हो । (लामिछानेः २०६२; २९५) कुनै पनि सिर्जनाले अंगिकार गरेको विषयवस्तुले दिने भाव वा विचार नै त्यसको अन्तर्वस्तु हो । बाह्य संरचनाले सिर्जना जति नै सुन्दर भए पनि विषयवस्तु र भाव पक्ष बलियो नभए त्यसको आयु लामो रहन सक्दैन त्यसैले अन्तर्वस्तु सिर्जनाको महत्वपूर्ण पक्ष हो । विषयवस्तु र भावविहीन गजल हुन सक्दैन । विषयवस्तुका हिसाबले परम्परागत गजलमा प्रेम र प्रणयभाव प्रयोग गरिने भए पनि आधुनिक नेपाली गजलकारहरुले त्यस सीमाभित्र मात्र सीमित नभई जीवन र जगत्का सम्पूर्ण पक्षहरुलाई समेट्न थालेका छन् । जुनसुकै विषयमा लेखिए पनि भाव भने प्रबल हुनु जरुरी रहन्छ नै । गजलका प्रत्येक सेर भावपूर्ण हुनुपर्ने विद्वान्हरुको मत पाइन्छ । 
गजलकार ईश्वरमणिको गजलसङ्ग्रह हृदयको आलापमा प्रेम÷प्रणय विषय अधिकतम प्रयोग गरिएको भए पनि विषयगत र भावगत वैविध्य पाइन्छ । अधिकारीले समेटेका मुख्य विषयवस्तुहरुलाई छुट्टाछुट्टै उल्लेख गर्दै भावगत प्रस्तुतीको सामान्य चर्चा यहाँ गरिएको छः
अ) प्रेम÷प्रणयः
ईश्वरमणि अधिकारी मूलतः सामयिक साहित्यकार हुन् । कविताका माध्यमबाट सामाजिक र राष्ट्रिय परिवेशका विषयवस्तु पस्किने अधिकारी गजलमा भने शृङ्गारिक धारमा रमाएका छन् । हृदयको आलापको मूल स्वर पनि प्रेम÷प्रणय नै हो । अधिकांश गजल अधिकारीले प्रेम र प्रणयकै सेरोफेरोमा लेखेका छन् । अझ अधिकारी त प्रेमको एउटा शृङ्खला नै निर्माण गर्ने गजलकार हुन् । उनले हृदयको आलापमा भर्खरका नवयौवनालाई प्रथम पटक देख्दा एक युवकका मनमा के कस्ता शृङ्गारिक भाव उत्पन्न हुन्छ भन्नेदेखि आँखा जुध्ने, दुवैले मन पराउन थाल्ने, प्रेम सम्बन्ध स्थापना हुने, प्रेमको दौरानका विभिन्न क्षणहरु, विवाहका लागि प्रस्ताव राख्ने, प्रस्ताव लिएर जाने, विवाहका लागि कुरा छिन्न जाँदा युवती लजाउने, विवाह हुने, विवाहपछिका तीता–मीठा सम्बन्धहरु, हुने कुराकानी, आफ्नी नभएको भए कस्को हुन्थ्यौ भन्नेसम्मका शृङ्खलाबद्ध प्रेम–प्रसङ्गहरु समेटेका छन् । अझ कसैको एकोहोरो मायामा फसेकी युवतीले बिहे हुने सपना देख्दादेख्दै बूढी हुनुपर्दाको मनोवैज्ञानिक समस्यासमेत अधिकारीले उठाएका छन् । उनले प्रेमका नाममा हुने विविध विकृतिको चित्रण पनि गजलमा गरेका छन् । उनी श्लील, सभ्य र पवित्र प्रेमको पक्षमा वकालत गर्छन् । प्रेममा धोका दिने धोकवाजलाई अरुले जस्तै अधिकारीले पनि दुत्कारेका छन् भने आफू चाँहि समर्पित प्रेमीका रुपमा प्रस्तुत हुन्छन्; यति सम्म समर्पित कि प्रेमिकाको जीतका लागि जस्तोसुकै हार स्वीकार्न पनि तयारः

मन परेकै मान्छेसित हार्दा पनि मजा लाग्ने
उनकै काखमा हर्ष–आँसु झार्दा पनि मजा लाग्ने

मजा पनि कस्तो मजा सबै मजा बिर्साइदिने
आफू हारी उनले बाजी मार्दा पनि मजा लाग्ने ।

ईश्वरमणिका प्रेम तरङ्गले भरिएका गजलहरु पढ्दा यस्तो लाग्छ, प्रेम÷प्रणयका भन्न मिल्ने र भन्नुपर्ने सबै कुराहरु भनिएका छन् । प्रेमले जिन्दगीलाई नै नयाँ रुप दिने तथ्य पनि अधिकारीले अघि सारेका छन् । प्रणयभावमा लत्पतिएका गजल सेरमार्फत् आफ्नी प्रियसीलाई देउरालीमा माया प्रेमका मानापाथी भरेर पिरतीको हिसाब गर्न विनम्र अनुरोध गरिरहन्छन् । कहिले आकासमा छुपुछुप तारासँग प्रित रोपेको त कहिले आँसु बाँड्यांै, हाँसो बाँड्यांै, सँगसँगै जिन्दगी जियांै, अब देउरालीलाई अजम्बरी प्रीतको फूल दिएर सँगै मरौं भन्ने भाव पोख्छन् । प्रेमका हुने घुर्की, समर्पण, घृणा, वियोग, धोका, मिलन, आनन्दको चरमसीमा आदि सम्पूर्ण प्रसङ्गलाई सम्झी–सम्झी अधिकारीले प्रस्तुत गरेका छन् । यसरी हेर्दा लाग्छ, ईश्वरमणि अधिकारी प्रेमका पूजारी हुन्, प्रेमका कुशल व्याख्याता र प्रवक्ता हुन् अनि अनुभवी प्रेमी र पति पनि हुन् । प्रेम÷प्रणयका कुरा उठाइरहँदा उनको सर्वाधिक सबल पक्ष भनेको उनका प्रेमील अभिव्यक्तिहरु कहीं कतै पनि अश्लील लाग्दैनन् यद्यपि यौनमनोविज्ञानका झिल्काहरु प्रशस्त पाइन्छन् । गायक अर्जुन सुनामले सङ्गीतकार बी.बी. अनुरागीको सङ्गीतमा गाएका चर्चित उनको यो गजलमा पनि यौनमनोविज्ञानको छनक पाइन्छः

तिमी देख्दै मनमा प्यासको आँधी चल्छ रामकसम
बिनाबाती, बिनातेल दीप जल्छ रामकसम ।

आ) राष्ट्रप्रेम÷मातृप्रेमः

पेटको दीर्घ रोगी थियौ, दबाई खाइनौ कि आमा
यो ठण्डीमा आङ्मा न्यानो लुगा लाइनौ कि आमा ?

ईश्वरमणि अधिकारीले देखाएका आमाप्रतिको उच्च सद्भाव प्रशंसनीय छ । उनले आफ्नी आमाको बिम्बमा सिङ्गै नेपाल आमाको तस्वीर उतारेका छन् । आफ्नो मातृभूमिप्रतिको अगाध स्नेह अधिकारी प्रस्तुत गर्छन् । उनी आफ्नो मातृभूमि छाडेर जानुपर्दा हीनताबोधसमेत गर्छन् । यसो भनेर उनले नेपाली छोरा÷छोरीलाई आफ्नै देशमा रहेर माृतसेवामा लाग्ने लक्षणा अभिव्यक्ति पस्केका छन् । उनले आमाप्रतिको स्नेह ज्यादै भावुक पारामा प्रकट गर्दै आमाको रोगप्रति चिन्ता गरेका छन् । देशको राजनैतिक अस्थिरताले पारेका खाडल र उब्जाएको दीर्घरोगको निदानको आशा पनि अधिकारीमा छः
देशको मुहार फेरिन्छ कि आशा गरौँ
दीन दुःखीलाई हेरिन्छ कि आशा गरौँ ।

देशको बचाउ गर्न अधिकारी विद्रोहको आवश्यकतासमेत औंल्याउँछन् । उनी देशप्रति बेइमानी गर्नेहरुप्रति ज्यादै रुष्ट छन् । एक देशभक्त भएका नाताले उनी देश दुख्दा आफूलाई पनि दुख्ने विषयवस्तुगत भाव अभिव्यक्त गर्दछन् । 
इ) विद्रोह र क्रान्तिचेतः

ईश्वरमणि अधिकारी न त क्रान्तिकारी हुन्, न त विद्रोही स्वभावकै व्यक्ति तर उनीभित्र क्रान्तिचेतको औँस व्याप्त छ जसलाई उनी फूलझैँ कोमल शैलीमा व्यक्त गर्छन् । उनीभित्र विद्रोहको ज्वारभाटा नै छ जसलाई उनी भुलभुले मूलको ढाँचामा उमाल्छन् । कतै–कतै भने औँलासम्म ठड्याएर खबरदारी गर्ने प्रयास उनको देखिन्छ तर मुठ्ठी नै उठाएर एकताबद्ध युद्धको शङ्खघोष उनी गर्दैनन् जो उनको स्वभावभित्र पर्दैन पनि । रुपमा उनका गजलहरु जति विद्रोही छन् त्योभन्दा बढी सारमा छन् । उनका क्रान्तिकारी विचारहरु सामाजिक अन्याय, अत्याचारका चित्रणमा बढी केन्द्रित छन्, परिवर्तनप्रति अनुराग राख्छन् तर आफै त्यस यज्ञमा होमिने साहस गर्दैनन् । उनीभित्रका असन्तुष्टिहरु बिम्बात्मक प्रस्तुतीमार्फत् उजागर भएका छन् । अपेक्षित विद्रोह र क्रान्तिचेत अधिकारीका गजलमा नदेखिए पनि जनशक्तिलाई कमजोर ठान्नेहरुलाई चुनौती भने दिएकै छन्ः 
जनतालाई सधैँ कमजोर ठान्नेहरु होसियार
इसाराका कठपुतली मान्नेहरु होसियार ।
 
परिवर्तन आफैँबाट थाल्नुपर्ने बेला आयो
पुराना ती ईश्र्या द्वेष फाल्नुपर्ने बेला आयो ।

ई) व्यङ्ग्यः

पढ्न अलिक कमजोर छ नेता बन्छ कि त
शैली स्वभाव हल्लाखोर छ नेता बन्छ कि त ?

पढाइमा कमजोर, काम चोर, हल्लाखोर र अन्यन्त्र केही गर्न नसकेपछि राजनीतिमा लाग्ने प्रचलनप्रति व्यङ्ग्य प्रहार यस सेरले गरेको छ । अधिकारी राजनीतिक नेताहरुले देश निल्न लागेको दुर्दृश्यप्रति निकै चिन्तित छन् । त्यस्ता अवस्थाको दुहाई दिँदै अधिकारी विभिन्न खालका झण्डाको आडमा लुट मच्चाउनेहरुप्रति तीव्र व्यङ्ग्य नम्र शैलीमा गर्छन् । उनी देश बिगोर्नेहरुप्रति त व्यङ्ग्य गर्छन् नै, प्रेमका नाममा रचिने प्रपञ्चहरुप्रति पनि प्रेमील शैलीमै व्यङ्ग्य गर्छन् । प्रेमलाई सस्तो मनोरञ्जनको साधन ठान्ने र पैसाका लागि प्रेमको नाटक रच्ने मैसाबहरुलाई पनि अधिकारीले छोडेका छैनन् । उनले थाहै नदिई व्यङ्ग्य हान्ने शैली ज्यादै मनमोहक छ । ‘मन प¥यो’ भन्दै घृणाको चुली छुवाउने अधिकारीको यो सेर हेरौँः
                                 सुनपङ्खी चरीहरु दायाँबायाँ राखी
                                    बेमौकामा बास्ने शैली साह्रै मन प¥यो ।

बिम्बात्मक व्यङ्ग्य चेतना पाइनु ईश्वरमणिको गजलीय वैशिष्ट्य पनि हो । एउटा बिम्बले धेरैतिर छुन सक्ने सामथ्र्य बोकेका गजल लेख्ने अधिकारीले सामाजिक विकृति, विसंगतिप्रति व्यङ्ग्य गरेका पाइन्छन् । ‘सोझै भन्दा त्यसबाट आउने आनन्द हराएर जान्छ तर त्यही कुरालाई घुमाउरो शैलीमा भन्दा विकृति, विसङ्गतिको भण्डाफोर पनि हुने, सुन्न वा पढ्न पनि सन्तुष्टि प्राप्त हुने हुन्छ ।’ (प्रणतः२०६७; २६)

उ) समयको तस्वीरः 
साहित्यकारहरु समयबाट निर्देशित भई समय लेख्छन् । समयइतरको सिर्जना दीर्घजीवि हुँदैन तर समयको दुरुस्तै चित्र उतार्नुभन्दा पुनः सिर्जन गर्नु उत्तम हुने विचार विद्धान्हरु राख्छन् । गजलकार अधिकारी भने चित्रणमै बढी रमाउँछ । समयको कुरुप तस्वीरमा बढी जसो ध्यान दिने अधिकारीले तस्वीर कुरुप हुनुको कारण र समाधानको उपाय सुझाउनेतिर भने उति ध्यान दिएका पाइँदैन । उनी कतै विसङ्गतिको तस्वीर उतार्छन्, कतै विकृतिको, कतै मानवीय संवेदनहीनताको, कैत भने राजनीतिक तरलता अधिकारीका गजलमा बोलका हुन्छन् । नेपाल विभिन्न स्वार्थका आगोहरुले जल्दै गरेको तथ्य यसरी चित्रण गर्छन् उनीः

आगोको बीचमा मेरो घर जल्दै गरेको देख्यौ साथी ?
छानो, दलिन एकएक गरी ढल्दै गरेको देख्यौ साथी ?
ईश्वरमणिले सहरको चर्चा अझ राम्ररी गरेका छन् । उनले गाउँको सरल, इमानदार तर कठिन जिन्दगी र सहरको कपटी जिन्दगीको चित्रण गरेका छन् । सहरमा मौलाउँदै गएको जालझेल, कष्ट, दुष्ट्याइँ, छाडा र स्खलित मानवीय प्रवृत्ति, झुट, बेइमानी, मनपरी, अविश्वासजस्ता तस्वीर उतारेका छन् । ईश्वरमणि वास्तवमै समयको तस्वीर खिच्ने कुशल फोटोग्राफर हुन्ः 

आस्था कहाँ होला र खै विश्वास कहाँ होला
पूजा खोज्न ‘ईश्वर’ सडक झर्छ तिम्रो सहरमा ।

ऊ) जिन्दगीः 
बैँस जोवन पढाएर काटियो मजाले
चकसित जिन्दगानी साटियो मजाले ।

पेसाले शिक्षक ईश्वरमणि पोखराका व्यस्त र कुशल शिक्षकहरुमध्ये एक हुन् । विद्यालय र विश्व विद्यालयका विभिन्न तहहरुमा अध्यापन गर्ने ईश्वरमणिको पेसागत समय सूर्योदयसँगै सुरु हुन्छ र सूर्यास्तसम्मै व्यस्त रहन्छ । उनले अनेकौँ विद्यार्थीहरुलाई सपनाको हिसाब सिकाएका छन्, उनका सपनाहरु भने कति पूरा भए, कति अधुरा रहे, ती बेहिसाब नै छन् सायद । जिन्दगीमा उनी कहिले अध्यापक, कहिले सञ्चारकर्मी, कहिले पिता, कहिले पति, कहिले कर्तव्यपरायण नागरिक र सबभन्दा बढी एक आम मान्छे बन्ने धुनमा लागिरहे, जसको चित्रण हृदयको आलापमा सेरहरुमार्फत् गरेका छन् उनले । विशेषतः जीवनवादी गजलकारका रुपमा अधिकारी जिन्दगीलाई एउटा सुन्दर उपहारका रुपमा चित्रण गर्छन्; जिन्दगीको उत्साह, उमङ्ग र प्राप्तिहरुका हिसाबकिताब गरिरहन्छन् । अधिकारी कतै–कतै जिन्दगीका निरासाजनक क्षण र कुण्ठाहरुको चित्रण पनि गर्छन् तर ज्यादै न्यून । जीनवसापेक्ष गजल सिर्जनामा उनी रमाउँछन् । जिन्दगीका विभिन्न पाटोहरुलाई उनले चित्रण गरेका छन् जसलाई विश्लेषण गर्ने मार्गप्रशस्त गर्ने कार्य पनि गरेका छन् अधिकारीले । ईश्वरमणि अधिकारीका गजलहरुमा प्रेमपछि सर्वाधिक उठ्ने विषय पनि जिन्दगी नै हो । सुख, दुःख, हाँसो, रोदन, पीडा, निराशा, प्राप्ति, गुमाइ आदि जीवनका यथार्थ प्रस्तुतीहरुलाई कतै स्वीकारेर कतै दुत्कारेर जीवन विषयक अभिव्यक्ति गजलगो अधिकारीले पस्केका छनः 
जिन्दगीले हिसाब माग्न थाल्यो आफैंसित
नजानिँदो दया जाग्न थाल्यो आफैँसित ।

गजलकार ईश्वरमणि विषयवस्तु र भावका दृष्टिले विविधता अँगाल्ने गजलकार हुन् । उनी प्रणयपरक गजलमा बढी रमाएका भए पनि जीवन र जगत्का अन्य विषयहरुसँग पनि उत्तिकै परिचित छन् । प्रत्येक गजलमा फरक–फरक स्वाद पस्किने प्रयास गरेका छन् उनले । सरल प्रतीक र सुन्दर बिम्बहरुले सजिएका छन् उनका गजलहरु । उनी जुनसुकै विषयवस्तुलाई पनि बिम्ब र प्रतीकका माध्यमबाट भावगत उचाइ दिने गजलकार हुन् । अधिकारीभित्रको गजलीय चेतनाले बोकेको लालित्यले जो कोहीको हृदय छुन्छ । उनको गजलसङ्ग्रह हृदयको आलापले सुदूरपश्चिमाञ्चल गजल मञ्च, धनगढी, कैलालीद्वारा हरेक दुई वर्षमा देशभरबाट प्रकाशित गजलसङ्ग्रहमध्ये उत्कृष्ट कृतिलाई दिइने पत्थर गजल साधना सम्मान तथा पुरस्कार–२०६६ पनि प्राप्त गरेको छ । हृदयको आलापले नेपाली गजल साहित्यमा एउटा महत्वपूर्ण उचाइ थपेको छ । 

७) उपसंहारः 

विश्वव्यापी प्रसार पाएर एकातिर गजल भाग्यमानी छ भने अर्कोतिर यसका केही मूल भाषामा जस्तो क्षमता र शक्ति अन्य भाषामा हासिल गर्न नसकेर केही अभागीजस्तो पनि हुन आएको छ । (गौतम, २०५१ः३३)  नेपाली गजलले भने समकालीन नेपाली साहित्यमा आफ्नो कर्मशील सफलता प्राप्त गरिरहेको छ । गजल विश्वव्यापी साहित्यिक विधा हो । हरेक भाषामा गजललाई ‘गजल’ नै भनिन्छ ।   

 गजललाई जनजिब्रोको साहित्यिक विधा बनाउन ईश्वरमणिजस्ता गजलकारहरुको अहम् भूमिका छ । गजलकार अधिकारीले बढीजसो गजल प्रणयपरक लेखेकै भए पनि जीवन र जगत्सापेक्ष छन् जो उनको वैशिष्ट्य नै हो । लयका हिसाबले बढी नै सशक्त गजलहरु समेटिएको कृतिको कागज र छपाइको स्तर पनि उत्तिकै सुन्दर छन्, अर्कोतिर कवि तथा प्राज्ञ रमेश श्रेष्ठले गजलको भावलाई छोएर कोरेका चित्रहरुको प्रस्तुती पाठकका लागि थप आकर्षणको विन्दु बनेका छन् । मानौं, एक किन्दा अर्को एक सित्तंैमा अर्थात् गजलको पुस्तक किन्दा चित्रकलाको उपहार । पुस्तकमा ३६ वटा चित्रहरु समेटिएका छन् । वर्णविन्यासको संयोजन पनि उत्तिकै मिलाइएको कृतिमा गजलकार अधिकारीले अझ परिमार्जन गर्न सक्ने ठाउँमा पनि बेवास्ता भने गरेका छन् । समयसम्बोधित सिर्जनाका पर्याय बनेका सर्जकले गजलमा भने समसामयिक विषयमा भन्दा बढी परम्परागत विषयवस्तुलाई प्राथमिकता दिनु त्यति युक्तिसङ्गत लाग्दैन । कला र विचारको संयोजन गजलहरुमा राम्ररी गरिएको भए पनि अधिकारीको लेखकीय मूल स्वरलाई भने कृतिले बोल्न सक्दैन । एक सर्जकले निकै मिहिनेत गरेर सिर्जना तयार पार्छ, त्यसमा आफ्नो प्रक्षेपण होस् भन्ने अभिलाषा सायद हरेक सर्जकको हुन्छ त्यसैले सर्जकले सबैभन्दा पहिले आफ्नो लागि लेख्छ । आफ्नै लागि लेखे पनि त्यसले समाजका लागि पनि केही योगदान गर्न सके सर्जक र सिर्जना दुवैले सार्थकता पाउँछन् । अधिकारीलाई यस विषयमा चुकेकै त भन्न सकिन्न तर पूर्ण सफल भने छैनन् । यो उनको कमजोरी नै हो । प्रणय भाव र युगीन बिम्ब दुवैलाई सार्थक तवरले अगाडि बढाउने प्रयत्न गरेका ईश्वरमणिजस्तो सचेत र व्यावहारिक व्यक्तिको कलमले दस वर्षे जनयुद्ध र यसका पक्षहरुलाई कहीं कतै सम्बोधन नगर्नु बिडम्बनाजस्तो लाग्छ । 

गजलकार अधिकारी कविताका माध्यमबाट आफूलाई स्थापित गराइसकेका साहित्यकार, गजलमा उनको आगमन स्वागतयोग्य मात्र छैन, गौरव गर्न लायक नै छ । पोखरेली गजलमा त उनको उपस्थितिले एउटा उत्साहको लहर नै ल्यायो । उनको कृतिले पोखरेली गजलमा मात्र नभई नेपाली गजल साहित्यमै एउटा महत्वपूर्ण स्थान ओगटेको छ भने पोखरेली गजलको प्रतिनिधि शैली नेपाली गजल फाँटमा पेस पनि गरेको छ । 


सन्दर्भ ग्रन्थ सूचीः
अधिकारी, चन्द्रमोहन, गजलको प्रादुर्भाव, सैद्धान्तिक पक्ष र विकासक्रमः एक चर्चा, वाङ्मय स्मारिका, तनहुँः गण्डकी वाङ्मय प्रतिष्ठान; २०६७
एटम, नेत्र, नेपाली गजलको स्वरुप र सम्भावना, शारदा (गजल विशेषाङ्क–१२), काठमाण्डौः शान्तबहादुर मल्ल; २०६४ 
ओझा, घनेन्द्र, देवी नेपाल र सुरेश सुवेदी, गजल कसरी लेख्ने ?, काठमाण्डौः अनाममण्डली; २०६६
कोपिला, खगेन्द्र गिरी, गजलयात्रा, चितवनः हाम्रो मझेरी साहित्य प्रतिष्ठान; २०६४ 
गिरी, आर.के. अदिप्त (सम्पा.), ई समकालीन नेपाली गजल, पर्वतः ऋतुरङ्ग साहित्य प्रतिष्ठान; २०६४
गौतम, कृष्ण, नेपालीमा गजल–साहित्यः पृष्ठमभूमि, परम्परा र मूल्याङ्कन, गरिमा, (समालोचना विशेषाङ्क), ललितपुरः साझा प्रकाशन; २०५१
नेपाल, देवी, छन्दपराग, काठमाण्डौः भुँडीपुराण प्रकाशन; २०६२
परिश्रमी, घनश्याम, गजल सौन्दर्य मिमांसा, रुपन्देहीः सनसाइन आ.उ.मा.वि.; २०६४
प्रणत, शिव, समकालीन नेपाली गजलः इतिहास र प्रवृत्ति, गजल उत्सव–३, पोखराः गजल सन्ध्या, पोखराः २०६७
बराल, कृष्णहरि, गजलः सिद्धान्त र परम्परा, ललितपुरः साझा प्रकाशन; २०६४
लामिछाने, कपिल, घनश्याम न्यौपाने ‘परिश्रमी’का गजलको अन्तर्वस्तु, यथार्थवादी नेपाली समालोचना, पोखराः गण्डकी साहित्य सङ्गम; २०६२
शर्मा, नगेन्द्र (सम्पा.), अभिव्यक्ति दुई महिने पत्रिका, पूर्णाङ्क–१५०, काठमाण्डौ; २०६७

फेसबुक वा ट्विटमा शेय गर्नमन लागेमा माथि रहेको MORE मा क्लिक गर्नुहोला ।




No comments:

Post a Comment