गजल संरचनाः एक सामान्य जानकारी
– रुपिन्द्र प्रभावी
नेपाली साहित्यिक क्षेत्रको वर्तमान माहौलमा सर्वाधिक चर्चित र प्रगतिशील साहित्यिक विधा ‘गजल’ हो भन्नु अत्युक्ति नहोला । विगत केही वर्षदेखि नवप्रवेशी साहित्यकारहरू ‘गजल’ विधालाई आफ्नो प्रिय विधा मान्छन् । गजल सबैको कलमको नीबले चुम्ने अनि हरेकको मस्तिष्कमा छचल्किने विधा बनेको छ । अझ कतिपय अन्य विधामा स्थापित साहित्यकाहरूले समेत हाल आएर नवप्रवेशी गजलकारका रूपमा आफ्नो कलम गौरवका साथ चलाएको देखिन्छ । वास्तवमा गजल साहित्यका लागि नक्षत्रहरू क्रमश जन्मनु गौरवको कुरा हो तर कतिपय हस्तीहरूले अझ पनि गजलको नाममा केही अगजलहरू पनि प्रकाशित गर्ने परिपाटी हावी हुनु सोचनीय अवस्था हो । गजलको विधागत विकासका लागि देशभरिबाट प्रकाशित विभिन्न लघु साहित्यिक पत्रिकाहरूको देनलाई भुल्न सकिंदैन । हाल एक प्रकारको लहर ल्याउन सफल गजल विधा नेपाली साहित्यमा एक आयातित विधा हो तर अब नेपाली साहित्यमा गजल मौलिक विधाकै रूपमा स्थापित भइसकेको छ भन्नु पनि अनुपयुक्त हुँदैन कि ! मूलतः अरबी, फारसी, उर्दू र हिन्दी साहित्य हुँदै नेपाली साहित्यिक भण्डारमा माध्यमिककालीन साहित्यिक चरणका नेतृत्वकर्ता युवा कवि मोतीराम भट्ट (१९२३–१९५३) ले गजल भित्र्याएका हुन् । त्यसपछि शम्भुप्रसाद ढुङ्गेल, लक्ष्मीदत्त पन्त ‘इन्दु’, नरदेव पाण्डे ‘सुधा’ , गोपीनाथ लोहनी ‘नाथ’, अञ्जत मियाँ हुसेन, गजब, उपेन्द्रबहादुर ‘जिगर’, भीमनिधि तिवारीजस्ता हस्तीहरूले गजलको विकासमा टेवा दिए । वि.सं. १९९६ पछि भने गजल विधा एक प्रकार सुस्ताउन पुग्यो । समयको क्रमसँगै वि.सं. २०३६ सालतिर ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, ललिजन रावल, बूँद रानाहरूले गजल लेखनमा उत्साहजनक पुनर्जागरण ल्याए । मूलतः ‘गजल’ शब्दको शाब्दिक अर्थ “स्त्रीसँग गरिने प्रेमपूर्ण वार्तालाप” लाई आधार मानेर श्रृङ्गारिक गजल लेख्ने परम्परा रहे पनि पछिल्लो चरणमा आएर श्रृङ्गारिक रसका अलावा समसामयिक धारमा रहेर गजल लेख्ने प्रचलन भित्रिइसकेको छ । यसले साहित्य कुनै बन्धनभित्र रहेर लेखिने कुरा होइन भन्ने बुझिन्छ यद्यपि गजल लेखनका लागि केही आधारभूत नियमहरू भने पालना गर्नैपर्छ । सामान्यतयाः गजल लेखनका आवश्यक तत्त्वहरूको आधारभूत चर्चा यहाँ गरिएको छ :
अ) मिसरा : गजलको प्रत्येक हरफलाई मिसरा भनिन्छ ।
आ) शेर : गजलको प्रत्येक दुई मिसरालाई (हरफ) एक शेर भनिन्छ । प्रत्येक शेरको पहिलो मिसरालाई मिसरा ए–उला र दोस्रो मिसरा (पंक्ति) लाई मिसरा ए–सानी भनिन्छ ।
इ) मत्ला : गजलको पहिलो (प्रारम्भिक) शेरलाई मत्ला भनिन्छ ।
ई) मक्ता : गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ ।
उ) काफिया : काफियाबिना गजल बन्दैन । यो गजलको अनिवार्य तत्व मानिन्छ, भनौं भने गजलका मुटु नै काफिया हो । रदिफभन्दा अघिल्लो अनुप्रासयुक्त पद, पदावली वा अक्षरलाई काफिया भनिन्छ । काफिया प्रयोगमा विशेष ध्यान पुर्याउनु वा सजगता अपनाउनु अत्यावश्यक छ । गजलको स्तर निर्धारणको कसीका रुपमा समेत काफियालाई लिइन्छ । यो मत्लाको दुवै मिसरामा प्रयोग गरिन्छ भने अन्य शेरहरुमा मिसरा ए–सानीमा मात्र प्रयोग गरिन्छ ।
ऊ) रदिफ : यो काफियाको लगत्तै मत्लाको दुवै मिसरामा र अन्य शेरहरुको मिसरा ए–सानीको अन्तमा प्रयोग हुने, पद, पदावली वा अक्षर हो । यो मत्ला तथा प्रत्येक मिसरा ए– सानीमा उही हुन्छ वा दोहोरिन्छ । यो गजलको अनिवार्य तत्व नभए पनि यसको प्रयोगले गजलमा थप मोहकता थप्छ; गजललाई थप सुन्दरता प्रदान गर्दछ । काफियाबिना गजल लेख्न नसकिने भए पनि रदिफबिना भने गजल लेख्न सकिन्छ । रदिफसहितको गजललाई ‘मुरद्दफ गजल’ भनिन्छ र रदिफरहित गजललाई ‘गैरमुरद्दफ गजल’ भनिन्छ ।
ए) तखल्लुस : गजलको कुनै पनि शेरमा गजलकारले आफ्नो नाम, थर, उपनाम वा छोटकरी नाम प्रयोग गर्नुलाई तखल्लुस भनिन्छ । यसको प्रयोग जुनसुकै शेरमा गर्न पाइने भए पनि मक्तामा गरिनु राम्रो हुन्छ ।
ऐ) बहर : बहर भनेको छन्द हो । फारसी, उर्दू र अरबी गजलमा धेरै बहरहरु प्रचलनमा रहे पनि १९ वटा बहरहरु प्रचलनमा ल्याइएको पाइन्छ यद्यपि बहरहरुको कठोर नियममा रहेर नेपाली गजलहरु ज्यादै कम लेखिएका छन् । हाल बहरको प्रयोगलाई भन्दा संरचना र भाव पक्षलाई बढी ग्राह्यता दिएर गजल लेखिन्छन् तर गजलमा गेयात्मक गुण भने अत्यावश्यक छ । अक्षर संख्याको समानतालाई पनि राम्रो मान्न सकिन्छ । काफियामा हुने स्वर समानताले गजललाई आकर्षक बनाउँछ । जस्तै– पर्नु, गर्नु, छर्नु, सर्नु आदि जस्ता पूर्णरुपमा स्वर समानता भएका काफियालाई राम्रो मानिन्छ ।
प्रत्येक शेरमा छुट्टा–छुट्टै प्रसङ्ग वा सबै शेर एउटै विषयकेन्द्रित भएर लेख्न सकिन्छ । एउटै विषयकेन्द्रित गजललाई मुसलसल र फरक विषयमा केन्द्रित गजललाई गैरमुसलसल गजल भनिन्छ । गजलमा यति नै शेर हुनुपर्छ भन्ने अनिवार्यता निर्धारण नगरिएर पनि कम्तिमा ५ शेरदेखि लेखिनु राम्रो हुन्छ ।
माथि उल्लिखित सैद्धान्तिक नियमलाई व्यावहारिक रुपमा हेर्न पाँच शेरको एउटा गजललाई हेरौ ः–
सुन ! सुन ! पैतालाको माटो बोल्दै
छ पोखिएको रगतको टाटो बोल्दै छ
रगत चुस्ने ठूँड भाँच्न खुसीसाथ बाँच्न
गाउँलेसँगै भीरपाखा बाटो बोल्दै छ
डराएर थरथर काँप्ने डरपोक अब
मुट्ठी कस्दै द¥हो मुटु पाटो बोल्दै छ
धेरै पटक डढ्यो घर जल्यो मन धेरै
स्वाभिमानी खरको छानो भाटो बोल्दै छ
बोलीबिना स्वर थियो ‘कटु’ भोगाइ थियो
बाठाहरु खबरदार ! लाटो बोल्दै छ ।
आहा! गुरू
ReplyDeleteहजुरलाई भेट्न पाउनु हाम्रो शौभाग्यको कुरा हो ।
हजुरका रचना तथा समीक्षाहरू समय मिलेसम्म अध्ययन ज्ञान आर्जन गर्ने छु ।