गाउँघरको पिरती (कविता) - रुपिन्द्र प्रभावी - रुपिन्द्र प्रभावी

Sunday, April 12, 2020

गाउँघरको पिरती (कविता) - रुपिन्द्र प्रभावी

गाउँघरको पिरती

                           –रुपिन्द्र प्रभावी


दिलमै रोपिए पनि पीडाको सुस्केरा
आँखैअघि फूल देखेपछि
पिरती सुसेल्ने रहर फुल्दो रहेछ मनमा ।

यी हेर्नुस् न
मेरो गाउँका यी घरहरुको चेहरा
हेर्नुस् न यी घरअघि फुलेका राताम्य फूलहरु
कुन बैँसालु जोडीको भन्दा कम लाग्छ यिनको पिरती ?
कतै खोट पाउनुभो तपार्इँले ?

यो घर छ नि !
हो लालुपातेको अघिल्तिरको घर
यही घरले हुर्काएको थियो
परिवर्तनको सपना डराई डराई
सपना देख्नै नदिने रातसँग पनि बिठ्याइँ गरी गरी हुर्कायो सपना
छोडेर गयो हुर्कौलो सपनाले आफैँ हुर्केको पिँढी, आँगन र मझेरी
अझै पनि सपना देख्न छोडेको छैन यो घरले
रिमालकी आमाले जस्तै सपना
बरु अहिलेको सपनाको रङ लालुपातेसँग साटेको छ यो घरले ।

यो लालुपाते देख्नुभो ?
हो यही घरअघिल्तिरको लालुपाते
यसले हजारौँ पटक झिम्क्याएको छ आँखा
अघिल्तिरको घरलाई
किरिया पनि हालेको छ
घरले देखेको सपना पूरा गर्न सँगै होमिने
सपनाको समरमा ।

डरलाग्दो घर र रहरलाग्दो फूलको जोडी जमिरहँदा
मेरो गाउँमा
न घर रित्तिन छोडेको छ
न लालुपाते फुल्नै छोडेको छ ।


No comments:

Post a Comment