लेखन, पठन र समय व्यवस्थापन
- राजिन
पनेरू
सन्दर्भ
'एक वर्ष बाँच्न छ भने खेती गर, दस वर्ष बाँच्न छ
भने रुख रोप र सयौं वर्ष बाँच्न छ भने शिक्षा रोप ।' यो चिनीयाँ उखान
हो । उखानको मुख्य तात्पर्य वा अर्थ हुन्छ शिक्षाको महत्त्व दीर्घकालीन छ । आज
हामी जुन समय रेखामा उभिएका छौँ, यहाँसम्मको यात्रा शिक्षाबाट नै सम्भव भएको हो । पहिलो विश्व मानिएका
अमेरिका, बेलायतजस्तो
राष्ट्र होस् या त विकासोन्मुख नेपाल जस्तो राष्ट्र, सबैमा विकासको मुख्य मेरुदण्ड नै शिक्षा
हो ।
शिक्षाको सन्दर्भलाई संसारमा सबैभन्दा महत्त्वका साथ हेरिन्छ भने यस्तो शिक्षा सहजै कसरी ग्रहण गर्न सकिन्छ ? शिक्षा आर्जन गर्न शिक्षार्थी (विद्यार्थी) ले पठन, लेखन र समय व्यवस्थापनलाई कसरी हेर्नुपर्छ ? यसै सन्दर्भमा रही प्रस्तुत लेख तयार पारिएको छ ।
शिक्षाको सन्दर्भलाई संसारमा सबैभन्दा महत्त्वका साथ हेरिन्छ भने यस्तो शिक्षा सहजै कसरी ग्रहण गर्न सकिन्छ ? शिक्षा आर्जन गर्न शिक्षार्थी (विद्यार्थी) ले पठन, लेखन र समय व्यवस्थापनलाई कसरी हेर्नुपर्छ ? यसै सन्दर्भमा रही प्रस्तुत लेख तयार पारिएको छ ।
पठन
पठ् आधार पदमा अन
प्रत्ययको योगबाट बनेको पठन शब्दको अर्थ हुन्छ पढ्नु । पढ्नुको अर्थ हो बोध
गर्नु वा जान्नु । कुनै पनि कुराको पठनपछि त्यस कुराको विषयमा धेरै वा थोरै बोध
हुनु स्वाभाविक हुन्छ । विद्यार्थीका निम्ति पठन सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
निश्चित तह उत्तीर्ण गर्न वा उत्कृष्ट नतिजा हासिल गर्नका निम्ति पठन प्रारम्भिक
आधार हो । साक्षर व्यक्ति जो कोही पढ्न जान्दछन् तर के पढ्ने र कसरी पढ्ने भन्ने
कुरा कमैले जान्दछन् । हाम्रो समाजमा पठन संस्कृति (Reading Culture) ज्यादै कम
देखिन्छ । हिजोआजका युवा पुस्तामा पठनप्रतिको वितृष्णा बढ्दै गइरहेको छ । पढ्नुलाई
'किताबी किरा'को संज्ञा दिने आम मानिसहरू पनि प्रशस्तै पाइन्छन् । यस अर्थमा पढ्ने
इच्छा भएकाहरू समेत किताबी किरा भइने डरले नपढ्ने र पढे पनि कम पढ्ने गर्दछन् ।
ज्ञानार्जन गर्नु र सोको सही प्रयोग गर्नु पठनको मुख्य धर्म हो । आफ्नो विषय
क्षेत्र र रुचीअनुसारको पठन हुन सक्यो भने मात्र पढ्नुको धर्म पूरा हुन्छ र
त्यस्तो पठन प्रभावकारी ठहर्दछ । अनावश्यक कुरा पढ्नु भनेको आफैँलाई नष्ट गर्नु हो
। सही पठनका लागि सही विषयवस्तुको छनोट आवश्यक रहन्छ । विषयवस्तु छनोट गरी सो
विषयसँग सम्बद्ध सामग्रीको सङ्कलन गर्नु अर्को महत्त्वपूर्ण पाटो हो ।
आजको युग
सूचना सङ्कलन (Information Collection) को युग हो । जोसँग बढी आधिकारिक सूचना
रहन्छन् ऊ नै सबैभन्दा शक्तिशाली रहन्छ । सूचनाको प्रशस्त सङ्कल र सोको सही
प्रयोगले पठन संस्कृतिलाई थप प्रभावकारी र उपयोगीमूलक बनाउँदछ । आजको समाज बढी
प्रयोगमूलक बनेको छ । प्रयोगलाई मात्र सर्बेसर्वा ठानियो भने सिद्धान्त ओझेलमा
पर्दछ । यसर्थ सिद्धान्तको अध्ययन र सोही अनुरूप व्यावहारको परीक्षण गरियो भने
मात्र सफलता हात पर्दछ । पठन प्रक्रिया विद्यार्थीको सन्दर्भमा मुख्य आधार हो ।
यसलाई शैक्षणिक क्षेत्रको मेरुदण्डका रूपमा हेरिन्छ । सही विषयको छनोट, छनोटमा परेका
सामग्रीको वर्गीकरण र वर्गीकृत सामग्रीको अध्ययन तथा विश्लेषणले पठन प्रक्रिया
सम्पन्न हुन्छ । अध्ययन गर्दा सकेसम्म प्राथमिक स्रोत (विद्यार्थीका सन्दर्भमा
निर्धारित लेखकबाट सम्पादन गरिएको वा लेखिएको विषयवस्तुगत पुस्तक) का सामग्रीलाई
छनोटमा राख्नु पर्दछ । अनि मात्र प्राथमिक स्रोतमाथि लेखिएका वा टिप्पणी गरिएका
सामग्री (समीक्षा, पत्रपत्रिकामा
प्रकाशित लेखरचना आदि)को अध्ययन गर्नुपर्दछ । यसो गरिएमा आधिकारिक सामग्रीको
अध्ययन हुन गई नतिजामा सफल भइन्छ ।
विषयवस्तु माथि धेरै ज्ञान हुनु एउटा पाटो हो भने जानेको कुरालाई मिलाएर लेख्नु अर्को पाटो हो । हाम्रो लागि दोस्रो पाटो महत्त्वपूर्ण ठहर्दछ ।
लेखन
लेख् आधार पदमा अन
प्रत्ययको योगबाट बन्ने लेखन शब्दको अर्थ हुन्छ लेख्नु । लेख्नुको अर्थ
रहन्छ अभिव्यक्त गर्नु । जानेको कुरा वा ज्ञानलाई लेख्य साधन (कापी, कलम वा कुनै
प्रविधि) का माध्यमबाट प्रकट गर्नु नै लेखन हो । पठन प्रक्रियाबाट प्राप्त
ज्ञानलाई लिपिबद्ध गर्नु नै लेखन हो । विद्यार्थीका सन्दर्भमा लेखनको महत्त्वपूर्ण
भूमिका रहन्छ । आन्तरिक वा बाह्य परीक्षा, गृहकार्य वा कक्षाकार्यका निम्ति लेखन प्रक्रिया अपनाइन्छ । मूलतः कुनै
तह उत्तीर्ण गर्न वा राम्रो नतिजा हासिल गर्नका लागि लेखन प्रक्रियामा
विद्यार्थीहरू संलग्न हुने गर्दछन् । यहाँ महत्त्वूर्ण सवाल उत्पन्न हुन्छ,
विद्यार्थीले
कसरी लेख्ने ? कति लेख्ने ? के लेख्ने ? किन लेख्ने ? यी र
यस्ता सवालको जवाफ हुन्छ, जानेको कुरालाई आवश्यकता अनुसार लेख्ने । प्रश्नले अपेक्षा गरेको वा
मागेको मात्र लेख्ने । उचित भाषाशैली र विषयवस्तुको मिश्रणबाट उत्तर लेखन गर्ने ।
यसो गर्दा विद्यार्थीले अपेक्षा गरे अनुसारको नतिजा प्राप्त हुन सम्भव हुन्छ ।
धेरै जान्दैमा वा धेरै लेख्दैमा धेरै अङ्क प्राप्त हुन्छ भन्ने सोच्नु भ्रम हो ।
प्रश्नको दायरा हेरी वा पूर्णाङ्क हेरी उत्तर लेखन गर्नुपर्छ । प्रश्न उही रहे पनि
प्रश्नको पूर्णाङ्कका आधारमा उत्तर लेखन गर्नु आवश्यक रहन्छ । लेखनमा समय
व्यवस्थापनको अहम् भूमिका रहन्छ । जसको बारेमा सोही शीर्षकमा प्रस्ट पारिएको छ ।
जानेको विषयवस्तुलाई सुन्दर तथा सफा अक्षरमा लिपिबद्ध गरी सही समयमा उत्तर लेखन
गर्न सकियो भने मात्र लेखनको उचित मूल्याङ्कन हुनेछ । अन्यथा हाम्रो सोचाइ र नतिजाबीच
ठूलो अन्तर हुनु स्वाभाविक रहन्छ ।
समय व्यवस्थापन
उचित कामलाई उचित समय छुट्याएर फुर्सद
र व्यस्थताको बीचमा सन्तुलन कायम गर्न सक्ने मानवीय कलालाई समय व्यवस्थापन भनिन्छ
। अर्को अर्थमा समयको सही प्रयोग हुनु समय व्यवस्थापन (Time
Management) हो ।
मानिसको जीवन सयमको एउटा सानो अंश हो । समय अटुट प्रक्रिया हो । समयले न त कसैलाई
पर्खन्छ न त कसैको निर्देशनमा चल्छ । समय सबैको लागि बराबर हुन्छ । यस बीचमा जसले
सिर्जनात्मक कार्य गर्न सक्दछ ऊ नै सफल हुन्छ । जो समयअनुसार चल्न सक्दैन ऊ असफल
ठहरिन्छ । यहाँनेर विद्यार्थीको सन्दर्भमा समय व्यवस्थापनको अहम् भूमिका देखिन्छ ।
उचित पठन र उचित लेखन उचित समयमा सम्पन्न गर्न सकियो भने मात्र उचित नतिजा प्राप्त
गर्न सकिन्छ । धेरै विषयवस्तुको ज्ञान हुँदैमा वा धेरै लेख्दैमा सफल भइहाल्छ भन्नु
भ्रम हो ।
विषयवस्तु माथि धेरै ज्ञान हुनु एउटा पाटो हो भने जानेको कुरालाई मिलाएर
लेख्नु अर्को पाटो हो । हाम्रो लागि दोस्रो पाटो महत्त्वपूर्ण ठहर्दछ । हाम्रो
परीक्षा प्राणाली लेखन प्रक्रियाले निर्धारण गरेको छ । जसले निर्धारित समयमा सही कुरा
लेख्न सक्यो ऊ नै उत्कृष्ट ठहरिने हुँदा लेखन नै अन्तिम सत्य बनेको छ । यसर्थ
लेखाइलाई चुस्त बनाई प्रश्नले अपेक्षा गरेको उत्तर लेखनमा लाग्नु नै सबैभन्दा
बुद्धिमान हुन्छ ।
अन्त्यमा
प्रत्येक मानिसलाई जीवनमा सफल बन्ने
अहम् इच्छा हुन्छ । इच्छा हुँदाहुँदै पनि धेरै मानिसहरू असफल हुने गर्दछन् । किन
मान्छे असफल हुन्छ ? प्रश्न उठ्नु
स्वाभाविक हो । भन्नेहरू पनि छन् इच्छाशक्ति भयो भने असफल भन्ने कुरा संसारमा केही
पनि छैन । महत्त्वपूर्ण सन्दर्भ इच्छाशक्तिलाई व्यवहारमा परिवर्तन गर्नु रहन्छ ।
पढेर वा लेखेर मात्र सफल नभइने कुरा माथिका सन्दर्भमा आइसकेको हुँदा यहाँनेर केही
सफलताका प्रारम्भिक आधारहरूलाई मनन गर्नु जरुरी देखिन्छ ।
सबैभन्दा पहिले आफूले
पढ्नुपर्ने मुख्य विषयवस्तुको छनोट गर्नु आवश्यक रहन्छ । विषयवस्तुको छनोटपछि सो
विषयसँग सम्बन्धित पुस्तक वा पुस्तकसँग सम्बद्ध लेखरचनाको सङ्कलन गर्नु पर्दछ ।
यसरी सङ्कलित पुस्तक अथवा लेखरचनालाई विषयवस्तु अनुसारको वर्गीकरण (Classification) गरी सोको
राम्रोसँग अध्ययन गर्नुपर्दछ । अध्ययन गर्दा आफूलाई महत्त्वपूर्ण लागेका हरफ वा
शब्दलाई रेखाङ्कन गरी सोको टिपोट गर्दै जानुपर्दछ । यसरी टिपोट गरिएका बुँदाका
आधारमा अनुच्छेदको निर्माण गरी उक्त सामग्रीलाई शिक्षक वा आधिकारिक व्यक्तिलाई
देखाउनु पर्दछ । शिक्षक वा आधिकारिक व्यक्तिबाट प्राप्त सुझाउ र सच्चाइएको
सामग्रीलाई पुनर्लेखन गरी नोटको रूपमा तयार गर्ने र यसैलाई परीक्षाको आधिकारिक
सामग्री बनाउनु आवश्यक ठहर्दछ । परीक्षादेखि तसर्ने र पछि हट्ने बानीलाई हटाइ
सक्दो आन्तरिक परीक्षामा सहभागी भई परीक्षालाई नजिको साथी बनाउनु सबैभन्दा राम्रो
काम हो । यसो गर्नाले परीक्षादेखि डराउने बानीको अन्त्य भई उत्कृष्ट नतिजाको
सम्भाव्यतालाई नजिक ल्याउन सकिन्छ ।
०००
saranginews.com बाट साभार
No comments:
Post a Comment