सरुभक्तकाे 'असमय अमौसम' नाटकको चरित्रचित्रण - रुपिन्द्र प्रभावी

Tuesday, April 21, 2020

सरुभक्तकाे 'असमय अमौसम' नाटकको चरित्रचित्रण

'असमय अमौसम' नाटकको चरित्रचित्रण

- रुपिन्द्र प्रभावी 

परिचय

वि.संं २०१२ भदौ तीजमा माता लक्ष्मी र पिता गणेशबहादुर श्रेष्ठको पाँच भाइ छोरा र दुई बहिनी छोरीमध्ये जेठा सन्तानका रूपमा पोखराको बागबजारमा जन्मेका भक्तराज श्रेष्ठ नै नेपाली साहित्यका क्षेत्रमा सरुभक्त नामले सुपरिचित छन् । कविता लेखनबाट साहित्यिक यात्रारम्भ गरेका सरुभक्त बहुविधाका स्रष्टा हुन । उनले मौलिक साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन् । २०३४ को रूपरेखामा तीनमुक्तक प्रकाशन गरेर साहित्यिक प्रकाशन यात्रा सुरु गरेका सरुभक्तले यसअधि नै अन्य कविता र नाटकहरू लेखिसकेका थिए । २०३५ सालमा ‘बन्द खामभित्र’ मुक्तकसङ्ग्रह पहिलो कृतिका रूपमा प्रकाशन भएपछि सरुभक्तका ‘प्रतिगन्ध’ (२०७६) सम्म आइपुग्दा झण्डै चार दर्जन कृति साहित्यिक क्षेत्रमा आइसकेका छन् ।
  
नेपाली नाटकका क्षेत्रमा विशिष्ट पहिचान बनाएका सरुभक्तलाई नेपाली नाटकमा विज्ञान नाटकको प्रथम प्रयोक्तको श्रेय पनि प्राप्त छ । उनले ‘ईथर’ (२०४३) मार्फत् नेपाल नाट्यक्षेत्रमा विज्ञान नाटकको सफल प्रवेश गराएका हुन् । “विज्ञान नाटकको कल्पना र प्रयोग सर्वप्रथम नेपाली नाट्य साहित्यमा सरुभक्तले गरेका हुन् । सरुभक्तमा आएर नेपाली नाटकले वैज्ञानिक मान्यता प्राप्त गरेको छ” (पोखरेल, २०६२ ः ५००) । आधुनिक नेपाली नाट्यसाहित्यका चर्चित प्रयोगवादी नाटकको छवि बनाएका सरुभक्तले सर्वप्रथम लेखेको नाटक ‘असिना पग्लन्छ’ (२०३०, एकाङ्की) हो । त्यसपछि २०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको सुरुवाती कार्यक्रममा ‘डढेलोले खाएको वन’ नामक एकाङ्की नाटक सर्वप्रथम मञ्चन गरियो ।  प्रकाशनका दृष्टिले प्राङ्गण पत्रिकामा छापिएको ‘सराप परेको घर’ एकाङ्की (२०३५) हो । ३३ भन्दा ज्यादा नाटक लेखिसकेको भए पनि उनका हालसम्म १३ वटा नाटक प्रकाशित छन् । केही नाटकहरू भने विभिन्न पत्रपत्रिकामा पुटकर रूपमा प्रकाशन भएका छन् । उनका प्रकाशति पूर्णाङ्की र एकाङ्की नाट्यकृतिहरूमा ‘युद्धः उही ग्याँस च्याम्बर भित्र’ (२०३७), ‘इतिहासभित्रको इतिहास’ (२०४१), ‘ईथर’ (२०४३), ‘एसोधम्मो सनतनो’ (२०४५), ‘गाउँघरका नाटकहरू’ (२०५०), ‘बालबालिकाहरूको नाटक’ (२०५३), ‘जस्तो दन्त्यकथा’ (२०५०), ‘सिरुमा रानी’ (२०६१), ‘गाउँको कथा यस्तो हुन्छ है’ (२०६१) र  ‘शरणार्थीहरू’ (२०६३) रहेका छन् । यसबाहेक उनका मञ्चनका दृष्टिले चर्चित नाटकहरूमा ‘मलामी’, ‘बरै’, ‘मलामीहरू’, ‘थाङला’ आदि रहेका छन् । बालबच्चालाई अनावश्यक बढी माया दिइयो भने पनि बिग्रन्छन् भन्ने विषयमा आधारित बालमनोवैज्ञानिक नाटक ‘आधा मरेका सन्तान’ २०४७ मा नेपाल टेलिभिजनबाट लय सङग्रौलाको निर्देशनमा टेलिश्रृङ्खलाका रूपमा प्रसारण पनि भएको छ । उनी पछिल्लो समय पनि नाटकमा क्रियाशील छन् ।

नाटककार सरुभक्त

“सरुभक्त शून्यावादी साहित्य सिद्धान्तका प्रतिपादक, प्रबद्र्धक नै हुन् । नेपाली नाटकको रङ्गमञ्चमा शून्यवादी रङ्गमञ्चको खोज गर्ने पहिला र सफल अन्वेषक पनि यिनै हुन्” (आचार्य, २०६६ : ४५३) । “उनका भनाइमा अहम्केन्द्रित मानवताका अभिव्यञ्जनाहरू परिवर्तनशील छन् र शून्यवादी साहित्यले अहम् अधिव्यक्तिका नवीन क्षितिजहरूको खोजी गर्दछ । उनले शून्यवादी जीवन दर्शनमा मानवीय अहम्अन्तरगत प्रेम, घृणा, यौन भोक यी चार मूल अभिव्यञ्जना रहन्छन् भनेका छन्” (अधिकारी, २०६६ : २५१–२५२) । साहित्य जन्माउन सजिलो हुन्छ तर दीर्घजीवि तुल्याउन गाह्रो हुन्छ भन्ने सरुभक्त साहित्यलाई मानवीय अहम्को सर्वाेत्तम सिर्जनात्मक अभिव्यक्ति ठान्छन् । साहित्य र जीवनलाई अहम्वादी सापेक्षमा हेर्ने उनी एक दार्शनिक, चिन्तक हुन् । नेपाली साहित्यमा उनको शालीनता र धीरतापूर्ण साधनाले विशेष महŒव राख्दछन् । आख्यान र नाटकमा सर्वाधिक फस्टाएको सरुभक्तको साहित्यिक व्यक्तित्वले नेपाली नाटकलाई त उर्जा मात्र दिएको छैन, नयाँ मोड नै प्रदान गरेको छ । उनले सामाजिक, वैज्ञानिक, ऐतिहासिक, राजनीतिक, आर्थिक आदि विषयमा नाटक लेखेर नेपाली नाट्यसाहित्यलाई समृद्ध तुल्याएका छन् भने नेपाली नाटकको संस्थागत विकासका लागि युवा नाटक परिवार, प्रतिबिम्ब नाट्य समूह, पोखरेली युवा सांस्कृतिक परिवारजस्ता संस्थाका माध्यमबाट नाटकमा अभिनय, निर्देशित र लेखन कार्यमा संलग्न भएर जागरण पनि ल्याए ।
सरुभक्तका नाटकहरू विश्वजनीन परिवेशमा डुल्न रुचाउँछन् । नेपाली परिवेशगत सङ्कीर्णताबाट यिनका नाटकहरू मुक्त छन् । आजका मान्छेका पीडा र सन्त्रस्त जिन्दगीलाई नाटकीय दृष्टिकोणको अभिव्यक्ति पनि पाइन्छ ।
 २०४८ मा प्रकाशित उनको बहुचर्चित उपन्यास ‘पागलवस्ती’ का लागि मदनपुरस्कार (२०४८) प्राप्त गरेको सरुभक्तले सर्वोत्तम नाटक पुरस्कार (अन्तराष्ट्रिय अपाङ्ग वर्ष, २०३८), सर्वाेत्तम नाटक पुरस्कार (राष्ट्रिय युवा महोत्सव, २०४१), सर्वश्रेष्ठ नाटककार (राष्ट्रिय नाटक महोत्सव, ने.प्र.प्र.२०४२) लगायतका पुरस्कारहरू नाट्य क्षेत्रमै प्राप्त गरेका छन् भने झण्डै दुई दर्जन लोकेन्द्र साहित्य पुरस्कार (२०५२), रत्नश्री पदक (२०५२) जस्ता अन्य सम्मान÷पुरस्कारहरू प्राप्त गरेका छन् । 

असमय अमौसम नाटक

असमय अमौसम सरुभक्तको आठौं नाट्यकृति हो भने समग्र कृति प्रकाशनको क्रममा सत्रौं कृति हो । २०५४ मा प्रकाशित उक्त नाट्यकृति जीवनको विभिन्न चरणको प्रकटीकरणमार्फत् समाज र जीवनको चित्रण गर्ने नयाँ परिपाटीका रूपमा असमय अमौसम नाटक लेखिएको सरुभक्त बनाउँछन् । उनको नाट्यलेखनको मूलधारको नाटकका रूपमा यस नाटकलाई लिन सकिन्छ । स्वैरकाल्पनिक विषयवस्तु भए पनि मानवीय जीवनका विविध सङ्गति÷विसङ्गति सापेक्ष प्रस्तुतीले नाटकलाई रोमाञ्चक तुल्याएको छ यद्यपि सामान्य पाठक भने अल्मलिन सक्छन् अथवा जो कोही निर्देशक यस नाटक मञ्चनका लागि तयार नहुन सक्छन् । हुन पनि विषयवस्तु र प्रस्तुतीमात्र प्रयोगवादी नभई मञ्च पनि प्रयोगवादी शैलीकै भएका कारण मञ्चनका दृष्टिले नाटक अझ जटिल लाग्दछ । रङ्गमञ्चमा हिमप्रदेशको गोलघरको चित्रण छ जो तीनचार खुड्किलो भएको गोलाकारमात्र नभई वास्तवमै घुम्नुपर्ने हुन्छ । झ्याल नभएको घरको चार दिशामा चारवटा ढोका छन् जो स्थिर नभई कथाले मागेअनुसार उत्तरायन र दक्षिणयन वा पूर्व–पश्चिममा, स्थान परिवर्तन गर्नुपर्ने हुन्छ । यसले गर्दा रङ्गमञ्च संरचना जटिल छ, जसले गर्दा मञ्चनमा कठिनाइ उत्पन्न हुन सक्छ । 

मान्छे नचाहेरै जन्मन्छ र मर्छ, जीवन र मृत्युका बीचमा कुनै सामञ्जस्य छैन विसङ्गतिवादी–अस्तित्ववादी दृष्टिकोण असमय अमौसम नाटकमा पाइन्छ । नाटकमा दृश्य र अङ्कको स्पष्ट उल्लेख नगरिए पनि अलिकति ध्यान दिएर हेर्ने हो भने स्पष्ट रूपमा तीनवटा पुस्ताका पात्रहरूको भूमिका यहाँ प्रस्तुत गरिएको छ, जुन कुराको पुष्टि फरकफरक पुस्ताका पात्रहरूको भूमिकासँगै अङ्क र दृश्य परिवर्तन भएबाट हुन्छ ।  

“आजका मानिसले भोगेका पीडा, छटपटी, सन्त्रास र समस्या असमय अमौसम नाटकको कथावस्तु हो” (पोखरेल, २०६२ : ४७५) । नाटककारको उज्यालोप्रतिको प्रेम पनि नाटकमा देखिन्छ । पहिलो दृश्यमा अतिवृद्ध–१ र अतिवृद्ध–१ ले घामको खोजी गर्नु यसैको पुष्टि हो । अर्काेतिर मृत्युको खेल रचेर जीवनको शून्यता देखाउने प्रयास पनि नाटककारले गरेका छन् भने जीवन र मृत्यु मानवीय चाहनाअनुरूप नहुने मत राखिएको छ । शृङ्खलाहीन प्रस्तुतीका माध्यमबाट नाटकमा सामाजिक विसङ्गति र विशृङ्खलता देखाइएको छ नाटकमा । मौसमहीन र समयहीन परिवेश परिकल्पना गरिए पनि नाटकमा हिमप्रदेशको चिसो मौसम, घाम लाग्ने/नलाग्ने मौसम तथा विभिन्न समयको चित्रण पाइन्छ । विषयवस्तु प्रस्तुती, पात्रविधान, परिवेश, रङ्गमञ्च, आदिका दृष्टिले पनि नाटक एक सफल प्रयोगमूलक नाटक बनेको छ । “प्रस्तुत नाटकको कथावस्तु निकै रोचक, आकर्षक, विशृङ्खलित अचम्म अनौठो र गम्भीर छ” (आचार्य, २०६६ : ४५६) । नाटकले शून्यवादी जीवनदर्शनका साथै अस्तित्ववादी –विसङ्गतिवादी चिन्तनसमेत पस्केको छ । प्रेमलाई साश्वत सत्य मान्ने सरुभक्त प्रेमका लागि उमेर वा अन्य कुनै बन्धन स्वीकार्य नहुने तर्क पनि नाटकमार्फत् राख्छन् । सरल र झिनो कथावस्तुलाई जटिल ढङ्गले प्रस्तुत गरिएको ‘असमय अमौसम’ आधुनिक नेपाली नाट्यसाहित्यको एक महत्त्वपूर्ण प्रयोगवादी नाटक हो ।

'असमय अमौसम'को चरित्रचित्रण

“नाटकलाई सफलताको धुरीमा चढाउने तथा यसलाई टलकाउने सीपमा नाटकका पात्रहरूले जति महत्त्वपूर्ण भूमिका ओगटेका हुन्छन् त्यति सायद अरू कुनै नाटकीय तŒवको होला भन्न सकिन्न” (रेग्मी, २०६६ : ७०) । नाटकको सम्पूर्ण प्रस्तुती नै पात्रमा केन्द्रित हुन्छ । पात्रका माध्यमबाट नै नाटककारले आफ्ना विचारहरू सम्प्रेषण गर्छन् र पात्रको संवाद क्रियाकलाप वा भूमिकाबाट नै पाठक वा दर्शकले नाटकको रसास्वादन गर्छन् वा विरेचन पनि हुन्छ । नाटकका सहभागीलाई पात्र वा चरित्र भनिन्छ । पात्रहरू आफ्ना आफ्ना निर्दिष्ट भूमिकामा आउँछन् र कि वक्ता श्रोता, कि सम्बोधक सम्बोधित, कि प्रेषक प्रापक भएर सहभागी बन्छन् (शर्मा, २०५५ : ४६६) । नाटकमा अनुकूल र प्रतिकूल गरी दुई प्रकारका पात्रहरूको प्रयोग गरिएको पाइन्छ । नाटकको कथावस्तुअनुसार उपयुक्त अभिनय गर्ने पात्रहरू अनुकूल पात्र हुन् भने कथावस्तुअनुसार अनुकूल पात्रको विरुद्धमा प्रस्तुत हुने पात्रहरू प्रतिकूल पात्र हुन् (लम्साल र अन्य, २०६५ : ७) ।

सरुभक्त स्वयम्मा प्रयोगवादी नाटककार हुन् । उनी नाटकमा पात्रको संयोजन पनि प्रयोगवादी ढङ्गले नै गर्छन् । उनका कतिपय नाटकमा सङ्ख्यावाची र समूहवाची पात्रहरूको प्रयोग गरिएका पाइन्छन् भने कतिपयमा प्राविधिक नामहरूको प्रयोग । ‘असमय अमौसम’ नाटकमा पनि सरुभक्तले मूलतः तीनवटा वर्गीय पात्रलाई सङ्ख्यावाची विशेषणसहित प्रयोग गरेका छन् । अतिवृद्धावस्था, वृद्धावस्था र तरुणवस्थाका पात्र÷पात्राहरूलाई १, २, ३ गरी प्रस्तुत नाटकमा पात्रविधान तयार पारिएको छ भने एक नग्नबालिकालाई पनि अत्यन्त छोटो भूमिका दिइएको छ । सरसर्ती हेर्दा नाटकमा स्वाभाविक जीवनको ठीक उल्टो जीवनचक्र पात्रहरूको देखाइएजस्तो लाग्दछ अर्थात् अतिवृद्धावस्थाबाट वृद्धावस्था हुँदै तरुणावस्थामा उमेर घट्दै आएको जस्तो लाग्दछ तर यथार्थमा उमेर घटेको नभई एउटै पात्रले फरक दृश्यमा फरक भूमिका निर्वाह गरेका हुन् । जम्मा १८ जना पात्र÷पात्राको प्रयोग गरिएको यस नाटकमा पात्रहरू गतिशील र परिवर्तनशील छन् । अतिवृद्धा १, २, ३ क्रमशः वृद्धा १, २, ३ मा र तरुणी १, २,३ मा परिवर्तन भएका छन् । अतिवृद्ध १, २, ३ क्रमशः वृद्ध १, २, ३ मा र तरण १, २, ३ मा परिवर्तन भएका छन् । नाटकमा वृद्धा १, २, ३ ले आमा र वृद्ध १, २, ३ ले बालक र छोराहरूको भूमिका पनि निर्वाह गरेका छन् । नाटकका नग्नबालिकाबाहेक अन्य सबै संख्यावाचक चरित्र हुन् (पोखरेल, २०६२ : ४७८) । सुरुमा पात्रविवरण नदिइएको नाटकको पात्रहरूको भूमिका परिवर्तनमा अनौठो तरिका अपनाइएको छ । नाटककारको चरित्र परिवतृनको तारतम्यलाई हेर्दा यहाँ केवल अतिवृद्धा ३ र अतिवृद्ध ३ चरित्रसँगे एक नग्न बालिका मात्रै पात्रका रूपमा उपस्थित देखिन्छन् (आचार्य, २०६६ : ४५७) । नाटककार सरुभक्तले ‘असमय अमौसम’मा आफ्नो चरित्रहरूलाई दिएका भूमिकाका आधारमा सङ्क्षेपमा यसप्रकार चरित्रचित्रण गर्न सकिन्छ :

१. अतिवृद्धा १
पन्चानब्बे वर्षीय सेतै फुलेकी, चाउरी परेकी, कुप्री तर साह्रै हिस्सी परेकी अतिवृद्धा १ पर्दा खुल्ने वित्तिकै देखिने घुमिरहेको घर र सुनिने विशृङ्खलित गायन रोकिएपछि दक्षिणायन लेखिएको ढोकाबाट बाहिर निस्किएर नाटकमा पहिलो संवाद बोल्ने नारी चरित्र प्रिय, कृपया बाहिर निस्कनुहोस् .... मौसम सुध्रिएला जस्तो छ । ... सुन्दै हुनुहुन्छ प्रिय .... ? आफ्नो पतिलाई सम्बोधन गर्दै उसले यो संवाद बोलेपछि नै नाटकको संवाद सुर हुन्छ । अतिवृद्धा १ शारीरिक रूपमा बूढी भएर पनि मानसिक रूपमा जवान युवतीझैँ देखिन्छे । ऊ जीवनलाई पर्वतारोहणको नाम दिने आशावादी चरित्र हो । ऊ आफूलाई सधैं जवान देखाउन चाहन्छे । जीवनको उत्तराद्र्धमा नि श्रीमान्ले १५।१६ वर्षे जवानीले भरिएकी प्रेमिकासरह वर्णन गर्दा मख्ख पर्ने अतिवृद्धा १ प्रेम–प्रणयका कुरा गर्दै प्रेममा पारिने स्वाभाविक नखरा पार्न पनि सिपालु छे । पतिकै काखमा ऊ निदाउँछे । मौसममा बदली भएर हावा चलेपछि पतिको ........... छिमेकी अतिवृद्धा १ जताजता, घाम लाग्छ त्यते दौडिन्छे । श्रीमान्प्रतिको विश्वासको नमुना प्रस्तुत गर्नुका साथै नाटककारले नारी यौनमनोविज्ञानको स्वाभाविक चित्रण पनि यो पात्रमार्फत् गरेका छन् । सबैभन्दा बढी अतिवृद्धा १ को चारित्रिक विशेषता भनेकै जीवनप्रतिको आशावादी सोच नै हो र एक ठाउँमा उसले भनेकी छे “जीवन भनेको यही हो, कहिले घाम, कहिले छायाँ ।”

२. अतिवृद्ध १

अतिवृद्ध १ अतिवृद्धा १ की पति हो । ऊ एकसय वर्षीय पात्र हो जसको हातमा लट्टी छ र आँखाको क्षमता आधा मात्र बाँकी छ । यो आफ्नी श्रीमतीप्रति आस्थाभाव राख्ने पात्र हो जसले आफू आफ्नो विश्वासले भन्दा बढी श्रीमतीको आशाले बाँचेको मत राख्छ, त्यसो त श्रीमती अतिवृद्धा १ पनि श्रीमान्कै विश्वासले बाँचेको बताउँछे । यिनीहरू एक आपसमा समर्पित छन् र सधैँभरि प्रेममा डुबिरहन चाहन्छन् । अतिवृद्ध १ आफ्नो जीर्ण शरीरलाई घाम ताप्नुपर्ने आवश्यकता बोध गर्छ र जाडोले काँप्दै घामको खोजी गर्छ । श्रीमतीको घाम लाग्ने आशाले मूर्त रूप लिएपछि खुसी हुन्छ । कहिले घाम लाग्ने, कहिले हावा चल्ने हुँदाहुँदै निदाएको अतिवृद्धा १ बुढेसकालमा पनि जवानीको सपना देख्छ । प्रेमका लागि अतिवृद्ध १ शङ्कालु पात्र हो । ऊ पटक–पटक आफूलाई मनपरेको न्यानो घाम सर्छ वा डुब्छ कि भन्ने शङ्का गर्छ । जीवनको प्रतिकूलतालाई स्वीकार्न गाह्रो मान्ने यो चरित्रमार्फत् नाटककारले मान्छेले जीवनमा आइपर्ने दुःखहरूलाई नचाहेरे पनि भोग्नैपर्छ भन्ने तथ्य देखाउन खोजेका छन् । रुन्चे हुँदै यो मर्ने काँतर इच्छासमेत प्रकट गर्छ तर मर्न त के मर्ने खेल खेल्नसमेत ऊ डराउँछ, मरेको सम्झनसमेत सक्तैन । न जीवन, न त मृत्यु मानिसको चाहनाअनुरूप हुन्छ । जीवन र मृत्युका सन्दर्भमा अतिवृद्ध १ ले जीवन मर्छ, मृत्यु जन्मदिन भन्नुले पनि यही तथ्य प्रष्ट्याउँछ । यो मानसिक रूपमा कमजोर पात्र हो जीवनको सङ्घर्ष देखेर मर्न चाहने, प्रेमिकाको साथ सम्झेर बाँच्न चाहने । गतिशील पात्रका रूपमा चित्रित अतिवृद्ध १ जीवनका लागि सम्झौताहरू स्वीकार्न तयार छ ।

३. अतिवृद्धा २ र अतिवृद्ध २

यी जोईपोइ हुन् । अतिवृद्धा १ र अतिवृद्ध १ प्रेमालाप गर्दा गर्दै मञ्चमै निदाएपछि मोटो चस्मा लगाएको, शरीर पातलो भएको अतिवृद्ध २ मोटी श्रीमती अतिवृद्धा २ को घुम्ने इच्छा पूरा गर्ने ध्येय चाँडो तयार हुन आग्रह गर्दै मञ्चमा देखिन्छ । यिनीहरूबीचमा प्रेम राम्ररी फुल्न पाएको छैन । श्रीमान् श्रीमती भइकन पनि आपसी प्रेमको अभावले अतिवृद्धा २ मर्ने इच्छासमेत गर्छे । यी दुईमा मतभेद छ । सँगै घुम्न त निस्कन्छन् तर एकले अर्काेतिर अर्काेले अर्काेतिर घुम्ने जिद्धी गर्छन् । अन्तमा पतिकै पछि लाग्न अतिवृद्धा २ बाध्य हुन्छे । दुवैभित्र अजम्बरी प्रेमको चाहना छ तर आआफ्ना दम्भले गर्दा आपसी प्रेम झाङ्गिन पाएको छैन । अर्काको प्रेम हेरेर लोभिनचाहिँ दुवै माहिर छन् । अतिवृद्ध २ ले मानिसहरू अजम्बरी प्रेम कसरी गर्न सक्छन् ... भन्नुले पनि ऊभित्रको आन्तरिक चाहना खुलेको बुझ्न गाह्रो हुँदैन । पति पत्नीबचि नै वैमनस्य भयो भने जीवनप्रतिको मोहमा कमी आउँछ । अतिवृद्धा २ र अतिवृद्ध २ दुवै एक अर्कालाई व्यङ्ग्य गर्नमा रमाउँछन् । आन्तरिक कलहले यिनीहरूको जीवनलाई विशृङ्खलित बनाउँछ । अतिवृद्धा २ अलि घमण्डी स्वभावकी चरित्र हो । ऊ भौतिक सुखको तीब्र चाहना राख्छे जसका लागि श्रीमान्लाई वशमा राख्न खोज्ने तर ढङ्ग नभएकी पात्रका रूपमा देखिन्छे ।

४. अतिवृद्धा ३ र अतिवृद्ध २

अतिवृद्धा २ पूजाआजामा रुचि राख्ने पात्र हो । पूजा गर्नुमा उसलाई अपार आनन्द प्राप्त हुन्छ । दुनियाँलाई दुःख देखाएर रुनुको सट्टा ईश्वरको भजन गर्ने सल्लाहसमेत दिन्छे । ऊ भजनकर्तिनको अतृप्त प्यासी हो । जसले गर्दा हरक्षण ईश्वरको नाम जप्छे । १६।१७ वर्षकै उमेर विवाह भएकी ऊ लोग्नेले दोस्रो विवाह गरी घरबाट निकालिदिएपछि ईश्वरको शरणलाई बाँच्ने आधार ठान्छे र बाँकी जीवन भक्तिनीको रूपमा बिताउने निश्चय गर्छे ।
अतिवृद्ध ३ भने विवाह गर्न ठीक पारिएकी केटीको मृत्यु भएपछि अविवाहित छ । यो नास्तिक पात्र हो । ईश्वरमाथि अविश्वास गर्ने यो पात्र प्रकृतिप्रदत्त फूललाई ईश्वरका लागि भनेर चुँड्नुलाई निरर्थक हत्या ठान्छ । अझ ऊ भन्छ– जसले पाप गर्छ उसैले धर्म गर्छ । आफ्नो मन सफा भए पूजा गर्नु आवश्यक छैन भन्ने विचार उसको छ । अतिवृद्ध ३ अतिवृद्धा १ र अतिवृद्ध १ को प्रणय लीला चलिरहेको बखत दक्षिणायण ढोकाबाट निस्केर पिँढीमा टुक्रुक्क बस्ने पात्र हो । ऊ पनि घामको न्यानोपन खोज्ने पात्र हो । ऊ मृत्युको खेलको परिकल्पनाकार हो । मृत्युलाई सहज, सरल र ग्राह्य तुल्याएउने विचार आफूले सोचेको भन्दै भित्र गएर कोदाली र साबेल बोकी आउँछ र मरेपछि गाडिने जमिनमा मृत्युको पूर्वाभ्यास गर्न खाडल खन्ने विचार व्यक्त गर्छ । जहाँ सुतेर मरेको अनुभव गर्न सकियोस् । मृत्यु स्वाभाविक भएकाले यसलाई नचाहेरे पनि वरण गर्नुपर्छ, त्यसैले मृत्युदेखि नडराउनका लागि अभ्यास जरुरी हुने उसको मत छ । मृत्युभन्दा मृत्युको डर अझ डरलाग्दो हुन्छ भन्ने ऊ त्यही डरलाई जित्न मृत्युको खेल खेल्नुपर्ने बताउँछ । ऊ भन्छ– मान्छे इच्छाले जन्मन र विवेकले मर्न स्वतन्त्र हुनुपर्छ । मृत्युप्रति उदार विचार राख्ने यो पात्र मृत्युलाई जीवनको उपलब्धि मान्छ । 

५. वृद्धा १

अघिल्लो दृश्यमा अतिवृद्धा बनेका पात्रहरू नै दोस्रो दृश्यमा वृद्धाका रूपमा देखिएका छन् । वृद्धा १ नेताकी पत्नी हो । ऊ आफ्नो पतिले गरेका कामहरूको बयान गर्नमा आफूलाई आनन्दित ठान्छे । त्यतिमात्रै होइन, पतिको बढाइचढाइ प्रशंसामा समेत उसको कुशलता देखिन्छ । आमाको भूमिका पनि उसको राम्रे देखिन्छ । पतिको खुबै ख्यालराख्ने वृद्धा १ सकेसम्म आफूलाई पतिको ‘प्रिय’ बनाइ राख्ने चेष्टा राख्छे । यो आम नेपाली पत्नीहरूको प्रतिनिधि पात्र हो जो आफ्नो पतिव्रत धर्म पालना गर्नुका साथै पतिको सफलतामा खुसी हुन्छन् ।

६. वृद्धा २

वृद्धा २ नाटकको प्रतिकूल पात्र हो । यो साह्रै घमण्डी स्वभावकी छे । अतिवृद्धा २ बाट वृद्धा २ मा परिवर्तन भएकी यो पात्र छोरालाई समेत मायाले जित्न सक्दिन । महात्माकी पत्नी वृद्धा २ पतिव्रति पनि असन्तुष्ट छे । छोरालाई गाली गर्दासमेत पतिलाई मुछ्ने स्वभावकी यो महात्मा पतिले पाएको अभिनन्दनको पनि इज्जत गर्दिन । भन्छे– “त्यस्तो अभिनन्दनले के गर्ने बाबु न खान पुग्छ, न लाउन” तर वृद्ध ३ को जागिर छुट्ने कुराबाट भने ऊ चिन्तित देखिन्छे र नेता वृद्ध १ सँग जागिर टिकाइराख्न ऊ अनुरोध गर्छे । यो परिवर्तनशील पात्र हो कहिले झर्किने, रिसाउने, कहिले खुसी पनि हुन्छे । वृद्धा २ गतिशील पात्रका रूपमा देखा पर्दछे । 

७. वृद्धा ३

अतिवृद्धा ३ बाट वृद्धा ३ मा परिवर्तन भएकी यो एक सामान्य जागिरेको श्रीमती हो । ऊ विसङ्गत जीवन बाँच्छे । सामान्य कर्मचारीकी पत्नीले भोग्नु परेका व्यथा, पीडा यसले भोग्छे । लोग्नेको जागिर रहन्न कि भन्ने पिर यसको मनमा सधैं रहन्छ । घरको आर्थिक अवस्थाप्रति यसको चिन्ता उच्च गतिमा छ । असल श्रीमती र असल आमाको भूमिका यसले निर्वाह गरेकी छे । 

८. वृद्ध १

अतिवृद्धबाट वृद्धका रूपमा परिवर्तन भएका पात्रहरूको उमेर ७० को वरिपरि देखाइएको छ । वृद्ध १ नेता हो । गाडी चढेर हिँड्ने यसको आर्थिक हैसियत भएको वृद्ध १ ऐस आराममा निकै रुचि राख्छ । वाकपटुता उसको विशेषता नै हो । सबैलाई बोलीले मख्ख पार्ने ऊ महात्मा (वृद्ध २) को अभिनन्दन खुसीयालीमा रमाइलो गर्दै रक्सी पिउँछ । ऊ जीवन रहुन्जेल यस्तै सुख, ऐश्वर्य, रमाइलो रहोस् भन्ने चाहन्छ । उसलाई आफ्नो नेता व्यक्तित्वको ज्यादै माया पनि छ किनभने उसले सबै वर्गका मानिसको मन जितेको छ । 

९. वृद्ध २

वृद्ध २ महात्मा हो । ऊ श्रीमतीलाई खुसी पार्न नसकेको व्यक्ति हो । जनसेवाको काममा लाग्दा लाग्दै आफ्नो उमेर ढल्काएको वृद्ध २ धार्मिक आस्थासमेत राख्छ । पचास वर्ष अघि अन्धो भाग्ने, असक्त कोढी र टुहुरी बालिकालाई घरमा ल्याएर महानिर्माण सेवान्दोलन थाल्दा पागलको संज्ञा पाएको उसले अहिले महात्मा कहलिएको छ । उसको आन्दोलन सफल भएको पनि छ तर उसको अन्तिम इच्छा भने श्रीमतीको मन जित्ने नै छ  जनसेवामा लागेर महात्मा कहलिनेहरूको दारुण कथा यसले प्रस्तुत गरेको छ । 

१०. वृद्ध ३

वृद्ध २ सामान्य कर्मचारी हो । नेपाली कर्मचारीहरूको आम मनोविज्ञान यसले बोकेको छ । मर्नुअघिसम्म जागिरमा जुकाझै टाँसिइरहने प्रवृत्तिको चित्रण नाटककारले वृद्ध ३ को माध्यमबाट गरेका छन् भने यसलाई नकारात्मक रूपमा नलिई कर्मचारीहरूको दयनीय आर्थिक अवस्था देखाएर बाध्यताका रूपमा पनि उभ्याएका छन् । अर्काेतिर सरकारी सेवामा टिक्नका लागि नेताहरूलाई भनसुन गर्ने परम्पराको चित्रण पनि वृद्ध ३ को माध्यमबाट गरिएको छ । पहिलो जागिरबाट निवृत्त भएर करारमा खाएको जागिरबाट पनि अनिवार्य अवकाश पाउने बेला भएपछि श्रीमतीको चिन्तासँगे यो पनि चिन्तित छ । यो आफैंप्रति पनि असन्तुष्ट पात्र हो । 

१२ तरुणी १, २ र ३

अतिवृद्धाबाट वृद्धा भएका महिलाहरू नै तरुणी १, २ र ३ का रूपमा नाटकमा देखिएका छन् । वृद्ध १ की आमाका रूपमा तरुणी १, वृद्ध २ की आमाका रूपमा तरुणी २ र वृद्ध ३ की आमाका रूपमा तरुणी ३ को भूमिका नाटकमा प्रस्तुत गरिएको छ । तरुणी १ मोटरसाइकल घुमाइरहने आफ्नो पतिलाई केही काम गर्न सुझाव दिन्छे । छिनमै हाँस्ने र छिनमै रुने क्रियाकलापमा संलग्न हुने तरुणी २ श्रीमान्को दार्शनिक चर्तिकलाबाट आजित छे भने तरुणी ३ बेरोजगार श्रीमान्ले रोजगारी पाउन सकून् भन्ने कामना गर्छे । यसरी यी तीनै पात्रहरूको भूमिका नाटकमा सहायक पात्रका रूपमा देखिन्छ । 

१२. तरुण १

अतिवृद्ध र वृद्ध १ बाट तरुण १ भएको यो पात्र आधुनिक युवाको प्रतिनिध पात्र हो जो मोटरसाइकल घुमाउनुमा आनन्दित हुन्छ । योग्यता र क्षमताको अभावमा केही इलम गर्न नसकेको तरुण १ निद्राबाट बिउँझेरसमेत क्षमता क्षमता भन्दै क्षमता खोज्न हिँड्नुले योग्यताको भोको युवाका रूपमा देखिएको छ । यो तरुण २ को डार्विन विरोधी मोर्चाको पनि सक्रिय कार्यकर्ता बनेर देखिएको छ । 

१३. तरुण २

तरुण २ अतिवृद्ध र वृद्ध २ बाट परिवर्तित पात्र हो । यशुले क्रुस बोकेझै काँधमा वैज्ञानिक चाल्र्स डार्विनको पुत्ला बोकेर देखा पर्ने तरुण २ दार्शनिक पाराको पात्र हो । डार्विनको विकासवादी सिद्धान्तको कट्टर विरोधी यो मान्छेलेलाई बाँदरको प्रजाति भनेर मानव जातिको हृदयमा डार्विनले सबैभन्दा ठूलो चोट पु¥याएको दावी गर्छ । त्यति मात्र होइन, ऊ त डार्विन विरोधी मोर्चाकै नेतृत्वकर्ता बनेर डार्विनलाई साङ्केतिक फाँसी दिनुपर्ने विचार राख्छ । मानव जातिलाई पुनः प्रतिष्ठित बनाउने यसको दावी छ । एक दार्शनिक पात्र तरुण २ निद्राबाट बिउँझेर पनि आइज विचार .. .आइज दर्शन .. .भन्दै हिँड्छ ।

१४. तरुण ३

अतिवृद्ध र वृद्ध ३ बाट तरुण ३ मा परिवर्तन भएको पात्र हो । योग्यताका प्रमाणपत्रहरू फाइलमा बोकेर रोजगारको खोजमिा भौतारिने यो बेरोजगार नेपाली युवाहरूको प्रतिनिधि पात्र हो । बेरोजगार समस्याले यसलाई आफ्नै योग्यताको प्रमाणपत्रहरू जलाउने स्थितिसम्म पु¥याएको छ भने आफ्नो श्रीमतीलाई पोइला जाने सल्लाहसमेत दिएको छ । उसलाई योगयताका प्रमाणपत्रहरूले आत्म अपमान गरेका महसुस भएको छ । अर्काेतिर, हरेक संस्थाले अनुभवी कर्मचारी खोज्ने कारण प्रशस्त क्षमता भएर पनि अनुभव गर्ने मौका नै नपाएपछि बेरोजगार बस्नु परेको यथार्थता पनि नाटककारले तरुण ३ का माध्यमबाट प्रकट गरेका छन् ।  

१५. नग्न बालिका

सर्वाङ्ग नगन बालिकाका रूपमा नाटकको अन्तमा थोरै भूमिका मात्र निर्वाह गर्ने यो पात्र तरण २ तरुणी १, २, ३ “बाघ आयो ... बाघ आयो ... अबुई अबुई..” भन्दै रुँदै गुहारेपछि देखापर्छे । के भयो मेरा बाबाहरूलाई ? ” भन्दै लडीबुडी खेलेका तरुण÷तरुणीहरू भएका ठाउँमा गएर अँगालो हाल्छे । यसले “ह ह बाबा हह” भनेपछि नाटकको अन्त हुन्छ । समाजको चरम विसङ्गति यसमा देखाइएको छ । 

निष्कर्ष

सरुभक्त नेपाली नाट्यसाहित्यका विशिष्ट प्रतिभा हुन् । उनी साहित्यमा मौलिक विशेषतासहितको उपस्थिति जनाउने लेखक हुन् । “साहित्य चिन्तनमा उनी वैचारिक सम्झौताको विपक्षमा छन् । स्वाभिमानी चिन्तनका लागि यो एउटा राम्रो पक्ष हो । सम्झौता होइन ‘अहम् रूपान्तर’ को पक्षमा छन् उनी (ढकाल, २०६२ : ३८२) । सरुभक्त शून्यवादी दर्शनका व्याख्याता पनि हुन् । “सामूहिक आन्दोलनमा साहित्यिक अस्मिता दिगो रहन सक्दैन भनेर यिनले आयामेली आन्दोलनको उदाहरण दिएका छन् । यस स्थितिमा सरुभक्तको साहित्यिक दर्शन वैयक्तिक शून्यवादबाट अभिप्रेरित छ (शर्मा, २०५१ : २१६) ।” सामूहिक आन्दोलनलाई महŒव नदिइएको वैयक्तिक शून्यवादबाट पेरित देखिए पनि सरुभक्त २०५५ सालदेखि सामूहिक रूपमै सम्पन्न हुने संरक्षण कविता आन्दोलन लिएर गाउँ गाउँ डुलिराखेका छन् । मूलतः सरुभक्त एक प्रयोगवादी अथक साधक हुन् जसले सम्पूर्ण जीवन साहित्यमै खर्चेको छ । 

“विज्ञान, ग्रामीण जनजीवन र आधुनिक परिवेश आदि क्षेत्र तथा विषयमा नाटकलाई नवीन रूपमा प्रस्तुत गर्ने सरुभक्तका नाटकहरू रङ्गमञ्चीय दृष्टिले अत्यन्त लोकप्रिय र सफल छन्” (मल्ल, २०५७ : १४१) । सरुभक्तका नाटकहरू विश्वजनीन परिवेशमा डुल्न रुचाउँछन् । नेपाली परिवेशगत सङ्कीर्णताबाट यिनका नाटकहरू मुक्त छन् । आजका मान्छेका पीडा र सन्त्रस्त जिन्दगीलाई नाटकीय दृष्टिकोणको अभिव्यक्ति पनि पाइन्छ । “असमय अमौसम आजका मान्छेका पीडा र समस्याका सेरोफेरोमा केन्द्रित नाटक हो । अमय अमौसममा व्यक्तिगत इच्छा र विवशताका बीचको द्वन्द्व छ” (ढुङ्गेल र दाहाल, २०६६ : २९५) । “हामी नचाहिकनै जन्मन्छौं, नचाहिकनै मर्छाै, जीवन र मृत्युका बीचमा कुनै साम्यता छैन भन्ने तथ्यलाई यस नाटकमा प्रस्तुत गरिएको छ” (थापा, २०६६ : १०३) । सरुभक्तको उत्कृष्ट शैलीशिल्पले युक्त नाटक ‘असमय अमौसम’ राम्रो भएर पनि चर्चामा आउन नसकेको नाटक हो । रङ्गमञ्चीय दृष्टिले अलिक जटिल यस नाटकमा प्रयोग गरिएका पात्रहरू पनि प्रयोगवादी छन् । “असमय अमौसममा भाव र शिल्पशैली दुवै दृष्टिकोणले सफल प्रयोगवादी नाट्यचेतना विद्यमान रहेको छ । 

सन्दर्भ सामग्री सूची
अधिकारी, लक्ष्मीशरण (२०६६), सरुभक्तका उपन्यासको प्रवृत्तिगत विश्लेषण, (विद्यावारिधि शोधप्रबन्ध), काठमाडौं : त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय ।
...........................(२०५१), साहित्यकार सरुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (स्नातकोत्तर शोधपत्र), पोखरा : पृथ्वीनारायण क्याम्पस, नेपाली शिक्षा समिति ।
आचार्य, कृष्णप्रसाद (२०६६), नेपाली गद्य र नाटक (एम.एड. प्रथम वर्ष), काठमाडौं : क्षितिज प्रकाशन ।
ढकाल, घनश्याम (सम्पा.) (२०६२), यथार्थवादी नेपाली समालोचना, पोखरा : गण्डकी साहित्य सङ्गम ।
ढुङ्गेल, भोजराज र दुर्गाप्रसाद दाहाल (२०६६), नेपाली नाटक, एकङ्की र निबन्ध (बी एड् प्रथम वर्ष), काठमाडौं : एम.के. पब्लिसर्स एन्ड डिस्ट्रब्टर्स । 
पोखरेल, रामचन्द्र (२०६२), नेपाली नाटक सिद्धान्त र समीक्षा, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार । 
मल्ल, अशेष (सम्पा) (२०५७), समकालीन नेपाली नाटक, ललितपुर : साझा प्रकाशन ।
रेग्मी, शिव (२०६६), शारदा मासिक, वर्ष ३, अङ्क १, काठमाडौं, शान्तबहादुर मल्ल । 
लम्साल, रामचन्द्र, वासुदेव गौतम र गणेशराज अधिकारी (२०६५), नेपाली नाटक, एकाङ्की र निबन्ध (बी.एड. प्रथम वर्ष) काठमाडौं : भुँडीपुराण प्रकाशन ।
शर्मा, गोपीकृष्ण (२०५१), गरिमा, मासिक (समालोचना विशेषाङ्क, वर्ष १२, अङ्क ५), ललितपुर : साझा प्रकाशन । 
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं : नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठान । 

लेखन काल :२०६६

No comments:

Post a Comment