पहिलो भ्रष्टाचारी राज्य हो
नाम : श्यामल (हरिहर अधिकारी)
जन्म : सन् १९५७ जनवरी १३, पगनाथ–८, दैलेख,
हाल : काठमाण्डौं–१४, कालीमाटी
माता/पिता : कलावती र स्व. उदयराम अधिकारी
पेशा : विकास कार्यक्रम परामर्शदाता + पत्रकारिता (दृष्टि साप्ताहिक)
शिक्षा : स्नातकोत्तर (नेपाली)÷सिर्जना विधा ः कविता + कथा + अनुवाद
कृति : तपाईँहरुमार्फत् (२०४४) र लय ब्रम्ह (२०६०) (कविता संग्रह) र अन्य फुटकर कविता/कथाहरु प्रकाशित ।
पुरस्कार/सम्मान : हृदयचन्द्र सिंह सम्मान, लोकन्द्र साहित्य पुरस्कार, दैवीप्रकोप उदार पदक लगायत अन्य ।
- भ्रष्टाचार के हो र किन हुन्छ ?
- मुलत: भ्रष्टाचार अनधिकृत काम हो । केहीको महत्वाकांक्षा र मेहनत विना अनुचित लाभ प्राप्त गर्ने ढंगबाट भ्रष्टाचार हुन्छ ।
- साहित्यिक क्षेत्रमा भ्रष्टाचार कत्तिकाे हुन्छ ?
- व्यापक रुपमा साहित्यिक भ्रष्टाचार हुने गरेको छ । विशेषतः कोष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाटै साहित्यिक भ्रष्टाचारको थालनी हुन्छ । असल चरित्रका स्वाभिमानी मान्छेलाई त्यहाँ लगिदैन । अर्को कुरा, गलत ढंगले कमाइएको पैसाबाट साहित्यिक पुरस्कार स्थापना र वितरण गर्ने प्रचलन पनि छ । लेखकस्व नदिने र रचनाहरु विना स्विकृति दुरुपयोग गर्ने परम्परा पनि छ ।
- हाम्रो सँस्कृतिमै भ्रष्टाचारको पकड छ रे नि ?
- बलियो छ । दह्रोसँग बस्या‘छ । यसको मुल जरो सामन्ती सँस्कृति हो । अझ भनौं कमाई हेरेर प्रेम गर्ने सँस्कृति आयो । आचरण नहेरी कमाई राम्रो हुनेलाई मात्र छोरी दिने चलन छ । साँच्चै भन्ने हो भने आमाले पनि कमाई गर्ने छोरालाई बढी माया गर्छिन् । यसले जसरी पनि कमाउनु पर्छ भन्ने सँस्कृति बढेको छ ।
- लेखन यात्रा कहिले देखि थाल्नु भो र प्रकाशनका लागि कत्तिको दु: ख झेल्नु प¥यो ?
- मैले २०२६ तिरबाट लेखेपनि २०३० तिर प्रकाशन आरम्भ भएको हो । मैले प्रकाशनका लागि चाहीं हण्डर खानु परेन ।
- प्रकाशनका लागि पनि प्रकाशक÷सम्पादकको चिनेजानेको हुनुपर्छ रेनी शुरु–शुरुमा त ?
- त्यो पनि एउटा भ्रष्टाचार हो । रचनाको स्तर हेर्नुपर्छ, नकि रचनाकार नयाँ–पुरानो, आफन्त–अर्का, धनी–गरिब । मान्छे कुल यरानमा जन्मदैमा ठूलै हुन्छ भन्ने छैन ।
- समालोचकीय भ्रष्टाचार के हो ?
- समालोचकले व्यक्तिगत लाभका लागि गुणगानपूर्ण समालोचना लेख्छ भने त्यो समालोचकीय भ्रष्टाचार हो । यसो गर्नु “श्रोतको अपचलन गर्नु हो ।”
- तपाई स्वयं भ्रष्टाचारको शिकार भएको घटना छ ?
- वि.सं. २०३७ माघ २१ गतेको कुरा हो । म नागरिकता लिन जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं गएको थिएँ । त्यतिवेला हालको शाही आयोगका अध्यक्ष भक्तबहादुर कोइराला प्र.जि.अ. थिए । उनको पियन रु ७५।– लिन चारखाल अड्डाबाट मेरो बागबजार सम्म आयो । तर मैले दिइन र हप्काएर पठाएँ ।
- भ्रष्टाचारको मुल जड के हो ?
- राजनीतिक व्यवस्था भित्र पसेका जुकाहरुले जनतालाई उठ्न दिदैनन् । त्यसैले पहिलो भ्रष्टाचारी राज्य हो । वर्षौ मेहनत गरेर पढेपछि सटिफिकेट लिन घुस खुवाउनु पर्छ । हामीले पनि प्रोत्साहन गरिरहेका छौं भ्रष्टाचारलाई । घुस कसैले खान्न भन्यो भने हामी खानै पर्छ भन्छौं । घुस नखाई गरेको काम प्रति हामी विश्वास गर्न सक्दैनौं ।
- भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो कानून कति सक्षम छ ?
- छैन, पर्याप्त छैन । कानूनमा यस्ता कुराहरु छन्, जसले भ्रष्टाचार नियन्त्रणमा बाधा पु¥याउँछन् । मानवधिकारको संरक्षण कानूनले गर्नुपर्छ । आमा छ, आमाको नाम बाट नागरिकता दिन सक्दैन यो कानून । साँच्चै भन्ने हो भने मुलुकी ऐन र संविधान बाझिएको छ । राज्य करको सदुपयोग हुनुपर्छ । नागरिक वडापत्रहरु हात्तीको देखाउने दाँत भएको छ ।
- भ्रष्टाचारीलाई कस्तो कारवाही हुनुपर्छ ?
- हदैसम्मको ।
- मृत्युदण्ड दिए हुन्छ ?
- यसको पक्षमा म छैन । तर त्यस्ताको सर्वस्वहरण गरेर पीडित पक्षलाई उचित क्षतिपुर्ति दिनु पर्छ । भ्रष्टाचारीको हैन भ्रष्टाचारको जरा उखेल्नु पर्छ ।
- देशमा अशान्ति हुनुमा भ्रष्टाचारको भूमिका के छ ?
- धेरै छ । जनताले सेवा÷सुविधा नपाएपछि अशान्ति मच्चिन्छ । अशान्तिले अझ समस्या ल्याउँछ ।
- शान्तिका लागि पहिलो आवश्यकता के हो ?
- राजनीतिक शुद्धता । जनताले आफुलाई मनपरेको नीतिलाई भोट हाल्न पाउनु पर्छ । नागरिक समाज पनि चनाखो भएर झुण्ड–झण्ड जाग्नुपर्छ ।
- साहित्यले भ्रष्टाचार नियन्त्रणमा के भूमिका खेल्न सक्छ ?
- साहित्यको काम चेतनास्तर उकास्नु हो । जहाँको साहित्य धनी छ, त्यहाँ भ्रष्टाचार कम हुन्छ । चेतनास्तर राम्रो भए भ्रष्टाचारी र जनता दुवै सजग हुन्छन् ।
- भ्रष्टाचार विरुद्ध सञ्चालित आन्दोलनहरुबारे तपाईको धारणा ?
- भ्रष्टाचार विरुद्ध लाग्नेहरु धेरै भ्रष्टाचारी, तस्कर र लुटेराहरु नै छन् । मैले शुद्ध नियत हुनेहरु प्रति प्रश्न चिन्ह ठड्याएको चाही हैन । पवित्र र शुद्ध नियत लिएर लाग्नुपर्छ र जनतालाई चक्रव्यूहबाट छुटकारा दिलाउने एउटै लक्ष्य हुनुपर्छ ।
- अख्तियारलाई कसरी हेर्नु भा’छ ?
- पर्याप्त छैन, यसलाई अझ सुसज्जित बनाउनुपर्छ । यस माथि शाही आयोग नामक सौता हालिएको छ ।
- राजधानीका साहित्यकारहरु भ्रष्टाचार विरुद्ध कत्तिको लेख्छन् ?
- उनीहरु आफै सजग छैनन् । लेख्नु पर्ने जति लेखिएको छैन ।
- तपाईं आफू चाहीं कत्तिको लेख्नु हुन्छ नि ?
- मेरा रचनाहरुको मुख्य लक्ष्य भनेकै कुनै न कुनै रुपमा भ्रष्टाचारलाई प्रहार गर्नु हो ।
- भ्रष्टाचारको अन्त्य कहिले होला ?
- लोकतान्त्रिक गणतन्त्र नआइकन नामेट हँुदैन ।
- भ्रष्टाचार नियन्त्रणमा पहिलो कर्तव्य कसको हो ?
- राज्यको, अनि मात्र नागरिक समाजको युवाहरुले सत्ताहातमा लिएर भ्रष्टाचारलाई संवोधन गरेमात्र यो संभव छ ।
- साहित्यमा मोफसलवाद र राजधानीबाद के हो ?
- यो फोकटिया हो । प्रतिभा भए अवसर पनि पर्याप्त छ । यो आन्तरिक कमजोरी हो ।
- भ्रष्टाचार विरोधी धाराप्रति यहाँको धारणा ?
- धेरै राम्रो कुरा हो । यसले एउटा माहौल खडा गर्न सक्छ । तर व्यापकताको लागि मेहनत गरिएन भने अर्को भ्रष्टाचार हुन्छ ।
- अन्तमा केही भन्नुहुन्छ कि ?
- तपाईँहरुको प्रयास राम्रो छ । समाजको कायापलटमा अझ लाग्नुस् । तर नवसाक्षरले पनि बुझ्ने गरी अक्षर आकार, प्रिण्टीङ, डिजाइन, लेआउटमा सहजीकरण गराउनुपर्छ । धन्यवाद
(प्रस्तुति : रुपिन्द्र प्रभावी ‘कटु’)
कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६२ हेमन्त ऋतु, वर्ष–३, अङ्क–२, पूर्णाङ्क–१४ मा प्रकाशित साहित्यकार र पत्रकार श्यामलसँग गरिएको अन्तरवार्ता जस्ताको त्यस्तै ।
No comments:
Post a Comment