साहित्यकार प्रकट पगेनी 'शिव'सँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६२ वर्षा ऋतु, वर्ष–२, अङ्क–७, पूर्णाङ्क–१२) - रुपिन्द्र प्रभावी

Saturday, April 4, 2020

साहित्यकार प्रकट पगेनी 'शिव'सँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६२ वर्षा ऋतु, वर्ष–२, अङ्क–७, पूर्णाङ्क–१२)

सेरोफेरो भ्रष्टाचारकोः विचार साहित्यकारको

नामः प्रकट पगेनी “शिव” (शिवराज पगेनी)
जन्मः २०१३ असोज २४ गते, देउराली–२, कास्की

हाल : पगेनी आर्ट मिडिया, न्यूरोड ८/१४९ पोखरा (५२०८०७)
माताः नन्दकुमारी पगेनी
पिताः पं. कुवेरदत्त शर्मा पगेनी
सिर्जना विधाः गीत, कविता, गजल, मुक्तक, लेख /नाटकमा अभिनय ।
पेशाः  स्वतन्त्र लेखन ÷ शिक्षाः आई.ए.
कृतिहरुः यो मन कतै अल्झेको छ (२०५६), जूनको चिठी जुनालाई (२०६०) (गीतीसञ्चयन)
संलग्नताः पोखरेली युवा साँस्कृतिक परिवार, गजलसन्ध्या लगायत करीब एक दर्जन साहित्यिक संस्थाहरुसँग आबद्ध ।
सम्मान/ पुरस्कारः सर्वोत्कृष्ट अभिनेता (ने.रा.प्र.प्र. २०३९), म्युजिक नेपाल सम्मान, नेत्रस्मृति पुरस्कार लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय र स्थानीय सम्मान/पुरस्कार प्राप्त ।

  • भ्रष्टाचार के हो र किन हुन्छ ?
  • मानवीय मनमा अन्तर्निहीत एउटा रोग हो भ्रष्टाचार । निहीत स्वार्थ, अभाव या उग्र महत्वाकांक्षाका कारण भ्रष्टाचार हुन्छ ।

  • साहित्यमा हुने भ्रष्टाचारको प्रकृति के कस्तो हुन्छ ?
  • साहित्य लेख्दा साहित्यकारले आफ्नो सिर्जनामा भ्रष्ट मानसिकता खन्याउनु ‘साहित्यिक भ्रष्टाचार’ हो ।

  • कहिले देखि कुन विधाबाट लेख्न थाल्नु भयो ?
  • २०३३÷०३४ मा कथाबाट लेखन यात्रा आरम्भ गरे । जो हिमदूतमा छापिएको थियो । 

  • प्रकाशनका लागि त खूब हण्डर खानु प¥यो होला है ?
  • त्यतिबला माध्यम कम थिए । मोफसलबाट त एकदमै कम पत्र–पत्रिका निस्कन्थे । कतिपय रचना त फिर्ता आए । ठाउँ पाउन गाह्रो हुन्थ्यो, तर प्रयास जारी राख्नु पर्छ ।

  • आरम्भमा किन लेख्नु हुन्थ्यो र अहिले किन लेख्नु हुन्छ ?
  • आरम्भमा मात्र रहरले लेखें, अहिले दायित्ववोध थपिएको छ ।

  • साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
  • साहित्य भावना हो । भावना परिभाषित हुँदैन । साहित्यको वास्तविक समालोचक पाठक हुन् ।

  • भ्रष्टाचार नियन्त्रणका लागि साहित्यले कस्तो भूमिका खेल्न सक्छ ?
  • साहित्यले उथलपुथल ल्याउन सक्छ । साहित्य चेतनाको बाहक हो, भ्रष्टाचार विरुद्धको साहित्यिक आन्दोलन अवश्य प्रभावकारी हुन्छ । उदाहरणका लागि २०३६ र ०४६ को सडक कविता क्रान्तिलाई नै लिन सकिन्छ ।

  • समाजका कुन–कुन कुरालाई भ्रष्टाचार भन्न सकिन्छ ?
  • मुख्यत आर्थिक, सामाजिक, शिक्षा, कृषि, समग्रमा सर्वव्यापी छ । 

  • तपाईले सबैभन्दा बढी कुन क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार देख्नु भा’छ ?
  • सामाजिक क्षेत्रमा बढी हुन्छ ।

  • साहित्यिक समालोचकहरुलाई पनि एक किसिमको “घुस” दिए पछिमात्र समालोचना लेख्छन् भनिन्छ नि ?
  • दायित्व विर्सेर आसेपासेको प्रशंसामा समय खर्चने समालोचकको संख्या धेरै छ । स्वच्छ समालोचक कम देखेको छु । 

  • देशमा अशान्ति हुनुमा भ्रष्टाचारको भूमिका कस्तो छ ?
  • राजनीतिक भ्रष्टाचारको उपज अशान्ति हो । यसले समाजलाई कलुषित पारे पछि सामाजिक प्राणी ग्रसित त हुने नै भए । 

  • शान्तिका लागि पहिलो आवश्यकता के हो ?
  • देशप्रतिको पवित्र आस्था ।

  • आस्था कसले जगाउने ? सरकार, जनता या माओवादीले ?
  • सबैले आ–आफ्नै ठाउँबाट प्रयास गर्नु पर्छ ।

  • भ्रष्टाचार विरुद्ध सञ्चालित विभिन्न आन्दोलन र अभियानहरुलाई कसरी हेर्नु हुन्छ ?
  • हार्दिकता विहीन र पदलोलुपता सहितको कथित आन्दोलनको औचित्य हुँदैन । निस्वार्थ अभियान भने अवश्य पनि सुन्दर हुन्छन् । 

  • पोखरेली साहित्यिक अनुष्ठानमा लामो समयदेखि संलग्न हुनु हुन्छ । यहाँका साहित्यकारहरुले भ्रष्टाचार विरोधी विषय कतिको लेख्छन् ?
  • कुनै न कुनै रुपमा भ्रष्टाचार विरुद्ध लेखी रहेकै छन् । जस्तैः तीर्थ श्रेष्ठ, विनोद गौचन, सरुभक्त, कुलबहादुर के.सी., सूर्य खड्का ‘विखर्ची’, नुमराज बराल, हरिदेवी कोइराला, रुद्रबहादुर थापा, कृष्ण उदासी, दीपक समीप, लक्ष्मण थापा आदि प्रयासरत छन् । 

  • पोखरेली साहित्यको मौलिक विशेषता के हो ?
  • संवेदनशीलता र हार्दिकता ।

  • यो त सबै ठाउँको साहित्यमा पाईदैन र ?
  • यहाँ अनुज र अग्रज बीचको सामिप्यताले साहित्यिक राजधानी भएको हुँदा यहाँको परिवेशले भित्र्याएको पन अनुपम छ । 

  • भ्रष्टाचारी कुन दर्जाको मान्छे हो ?
  • भ्रष्टाचार मीठो जहर र नमीठो महामारी हो । भ्रष्टाचारी मान्छे त हो, तर तल्लो स्तरको ।

  • भ्रष्टाचारीलाई कस्तो कारवाही गर्नुपर्छ ?
  • प्रवृत्ति अनुसार कानुनी कारवाही । 

  • ‘भ्रष्टाचार विरोधी धारा’ प्रति यहाँको धारणा ?
  • यो प्रयास शतप्रतिशत सही छ । ग्रहणीय छ र अझ सशक्त रुपमा उभिनु पर्छ ।

  • साँच्ची, तपाई स्वयंले चाहिं कत्तिको लेख्नु हुन्छ, भ्रष्टाचार विरुद्ध ?
  • मैले धेरै जीवनवादी रचना लेखे । चाहे जति भ्रष्टाचारको विषयमा लेख्न सकेको छैन । 

  • भ्रष्टाचार विरुद्ध विगत देखि वर्तमान सम्म हुँदै आएका कार्यहरुलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
  • एकदिन सडक सफा हुँदैमा वर्ष भरिलाई पुग्दैन । एकदिने कार्यक्रम नै भ्रष्टाचारको थलो हो । झटारे कार्यक्रमहरु हुँदै आए, जसले भ्रष्टाचारलाई अप्रत्यक्ष प्रोत्साहन दिए । निरन्तर भै दिए राम्रो हुन्थ्यो । भ्रष्टाचार फेवा तालको ‘जलकुम्भी’ झार हो, जसलाई झिकेर किनारामै छोडियो भने पुनः त्यहीं जान्छ ।

  • भ्रष्टाचार नियन्त्रणमा प्रमुख भूमिका कसको हुन्छ ?
  • छातीमा देश दुख्नेले भ्रष्टाचार गर्दैन । छातीमा देश छाम्नु पर्छ हरेकले । देशप्रेम शिरमा बोकेर हरेकले आफ्नो ठाउँबाट निभाउने भूमिका महत्वपूर्ण हुन्छ । 

  • साहित्यमा मोफसलवाद र राजधानीवाद के हो ?
  • साहित्यमा यो उठाउने विषय हैन । साहित्यको लागि कुनै बन्धन स्विकार्य हुँदैन । साहित्य प्राप्तीका लागि लेखिदैन ।

  • तपाईको जीवनको आदर्श के हो ?
  • सरलता ।

  • कायापलट मार्फत् के भन्नु हुन्छ–भ्रष्टाचारी र भ्रष्टाचार विरोधीलाई ?
  • भ्रष्टाचारीहरुले पनि आफ्नो छातीमा देश छाम्ने सद्वुद्धि पाउन सक्नुहोस् र व्यानर लिएर नारा फलाक्दैमा भ्रष्टाचार विरोधी भईदैन, पदीय अहमता त्यागेर व्यवहार देखाउनु पर्छ । 

  • अन्तमा केही ?
  • म फेरि दोहो¥याउँछु, देश दुखेको बेला सबैले आफ्नो मुटुमा देश खोजौं । देश पाएमा सबै थोक पाईन्छ, धन्यवाद । 

प्रस्तुति : रुपिन्द्र प्रभावी ‘कटु”

कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६२  वर्षा ऋतु, वर्ष, अङ्कपूर्णाङ्क–१२ मा प्रकाशित साहित्यकार प्रकट पगेनी 'शिव'सँग गरिएको अन्तरवार्ता जस्ताकोे त्यस्तै  ।

No comments:

Post a Comment