साहित्यकार घनश्याम परिश्रमीसँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक पत्रिका, २०६४ शिशिर ऋतु, वर्ष–४, अङ्क–८, पूर्णाङ्क–१९ ) - रुपिन्द्र प्रभावी

Saturday, April 4, 2020

साहित्यकार घनश्याम परिश्रमीसँग गरिएको अन्तरवार्ता (कायापलट द्वैमासिक पत्रिका, २०६४ शिशिर ऋतु, वर्ष–४, अङ्क–८, पूर्णाङ्क–१९ )


वास्तविक गणतन्त्रका लागि वैचारिक एकताको आवश्यकता पर्छ


नाम : डा. घनश्याम न्यौपाने ‘परिश्रमी’  (गजलमा विद्यावारिधी गर्ने प्रथम नेपाली)
जन्म : वि.स. २०१५ असार १४, श्री कृष्णगण्डकी –२, स्याङ्जा, हाल : माकर–४, बर्दघाट, नवलपरासी
शिक्षाः स्नातकोत्तर (नेपाली), पी.एच.डी.(गजलमा), पेसाः– प्राध्यापन (भैरहवा बहुमुखी क्याम्पस, रुपन्देही ) 
लेखन विधाः समालोचना, कविता, कथा, एकाङ्की, गजल ।
कृतिहरुः अन्त्यमा (खण्डकाव्य), यो मौसम, घामको छहारीमा, जुनुमामा, गजल  भूमिकावली,  जून चुहेको रात (गजल सङ्ग्रह), गजल सौन्दर्य मिमांसालगायत १ दर्जनभन्दा बढी ।
सम्मान / पुरस्कार : ३ दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त ।
                                                                                                                                                                                                                                                               
   # भ्रष्टाचार के हो र किन हुन्छ ?
   सामान्यतया हाम्रो समाजमा आर्थिक अनियमिततालाई मात्र भ्रष्टाचार भन्ने गरिन्छ तर त्यसबाहेक सबै किसिमका अनैतिक र भ्रष्ट व्यवहारहरु भ्रष्टाचार नै हुन् । दण्डहीनता र जीविकोपार्जनको समस्याका कारण आर्थिक भ्रष्टाचार हुन्छ भने सामाजिक भ्रष्टाचार हुन्छ भने सामाजिक भ्रष्टाचार चाँिह दण्डहीनतासंगै सामाजिक विकृतिले पनि बढाउँछ ।  

#  साहित्यिक भ्रष्टाचार चाहिँ हुन्छ कि हुँदैन ?
   हुन्छ भन्नुपर्दा दु:ख लाग्छ । साहित्यिक सिर्जनाहरुको चोरी, राम्रा साहित्यकाहरुको खुट्टा तान्ने प्रवृत्ति साहित्यिक भ्रष्टाचार हो । साथै पुरस्कार वितरणमा हुने अनियमितता र विनिमयको कुप्रथा पनि विद्यमान छ ।

 # समालोचकीय भ्रष्टाचार के हो ?
   दुई किसिमको हुन्छ– सिर्जनाको सही मूल्याङ्कन गर्नेतर्फ ध्यान नदिनु र समालोचकलाई नै पैसा खुवाएर बढाइ–चढाइ गर्न लगाउने र गर्ने । तटस्थ समालोचना लेख्ने काम अहिले एकदमै कम भइरहेको छ । आफ्नो जमातको मात्र समालोचना लेख्ने प्रवृति बढेको छ । 
   
# वर्तमान राजनीतिक परिवेशलाई कसरी नियालिरहनु भएको छ ?
   तरल अवस्थामा छ, ठोस रुप दिने प्रयास अझै भएको छैन । लोकतान्त्रिक गणतन्त्रका लागि जुन एकताबद्ध ढंगले आन्दोलन गरियो, त्यो एकता सत्तामोहका कारण टुटिसकेको छ । जसले नेपालको राजनीतिमा बदमासहरुले मौका पाउने चिन्ता मलाई छ ।

#  यो तरल अवस्थालाई ठोस रुपमा लैजान के गर्नुपर्ला ?
   सबै दलले दलगत स्वार्थभन्दा माथि उठेर वास्तविक गणतन्त्रका लागि वैचारिक एकताको वातावरण सिर्जना गर्नुपर्छ । यथास्थिति त्यागेर भ्रष्टाचार, दुराचारका विरुद्ध कडा कदम चाल्नुपर्छ ।
   
#  संविधानसभा के हो ?
    देशको मूल कानुन बनाउनका लागि जनताले चुनेर पठाएका प्रतिनिधिहरुको सभा हो । उनीहरु जनताप्रति उत्तरदायी हुनुपर्छ । यो सौभाग्य कमै देशले पाउँछन् ।

#  पटक–पटक संविद्यानसभाको चुनाव सरिरहनुको मूँल कारक तत्व केलाई मान्नुहुन्छ ?
   प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा गणतन्त्र देशमा ल्याउन नचाहनेहरु  नै मूल कारक तत्व हुन् ।
  
#  गणतन्त्र आउनेवित्तिकै असल शासन स्थापना हुन्छ ?
  अहिलेको स्थिति हेर्दा गणतन्त्र आउनेवित्तिकै सुशासन आउने देखिँदैन । दण्डहीनताको अन्त्य गर्दै सबै वर्गको उचित व्यवस्थापन गर्न सक्नुपर्छ । राज्य उत्तरदायी हुनुपर्छ ।
   
# अब बन्ने संविधानले भ्रष्टाचारविरुद्ध कस्तो नीति ल्याउनुपर्छ ?
   भ्रष्टाचारीलाई मृत्युदण्डबाहेक सीमान्त कारबाही हुनुपर्छ भने कर्मचारीहरुलाई उचित तलब भत्ताको व्यवस्था पनि हुनुपर्छ ।
   
#  हाम्रो संस्कारमा भ्रष्टाचारको प्रतिशत कति छ ?
   कति प्रतिशत छ भन्नुभन्दा पनि हाम्रो संस्कार र जीवनपद्धतिमा भ्रष्टाचारको अंश जरुर छ । तिनै संस्कारहरुले गर्दा नै हमी भ्रष्टाचारी बनेका छौ । बावुसित पैसा लिएर कमिशन खान्छौ, दसैं तिहारजस्ता पर्वका नाउँमा अनावश्यक खर्च गर्छांै । यी सबै संस्कारगत भ्रष्टाचार हुन् ।
  
#  संस्कृतिलाई नै भ्रष्टाचारी भन्न खोज्नुभएको हो ?
    संस्कृतिमा भएको विकृतिले संस्कृतिलाई पनि भ्रष्टाचारी बनाएको छ । 

 # गजल के हो ?
    गजल सेरहरुको माध्यमबाट अभिव्यक्त हुने अनुभूतिको कोमल अभिव्यक्ति हो जसमा आन्तरिक र बाह्य संरचनागत तत्वहरुको कुशल तालमेल हुन्छ ।
   
# नेपालमै पहिलोपटक गजलमा पी.एच.डी. गर्नुभयो, डिलिट गर्ने तर्खरमा पनि हुनुहुन्छ । अझैपनि गजलका नाममा गैरगजल छापिने क्रम जारी छ नि ?
     यो मोफसलका पत्रिकाले भन्दा केन्द्रीय भनिने पत्रिकाले बढी गरेका छन् । अरु मधुपर्क, गरिमाजस्ता संस्थागत पत्रिकाले नवस्रष्टाहरुमा गजलका सुन्दरताविरुद्ध भ्रम सिर्जना गरेका छन् । यसप्रति स्रष्टा र पाठक दुवै सचेत बन्नुपर्छ ।
    
# भ्रष्टाचारीहरुलाई केही सुझाव छ कि ?
      भ्रष्टाचारीहरुले मानवीय धरातलमा मान्छे भएर बाँच्नका लागि भ्रष्ट व्यवहार त्याग्नुपर्छ । सीमित स्वार्थ पुर्तिका लागि भ्रष्ट व्यवहार गरेर आलोचित हुनु, जीवनको इतिहास विगार्नु र पुस्तौ पुस्तालाई कलंकित पार्नु राम्रो होइन ।

   # भ्रष्टाचारविरुद्ध साहित्य कति सशक्त हतियार हो ?
     असल साहित्य जहिले पनि भ्रष्टाचार विरोधी हुन्छ । साहित्य आदर्श व्यक्ति, आर्दश समाज, आदर्श राष्ट्र आर्दश विश्व बनाउन निकै प्रभावकारी हुन्छ । त्यसैले यसले भ्रष्टाचारविरुद्ध पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । 
    
#  भ्रष्टाचारविरोधी धाराप्रति यहाँको धारणा ?
     साहित्यका माध्यमबाट भ्रष्टाचारलाई जनसमक्ष उजागर गर्ने जुन प्रयत्न गर्नुभयो, यो अत्यन्त प्रशंसनीय छ । 
  #  अन्त्यमा केही ?
   तपाईहरुको प्रयास सकारात्मक छ । यस विषयमा बोल्ने अवसरका लागि धन्यवाद ।

प्रस्तुति : सम्पादक


कायापलट द्वैमासिक असल शासन साहित्यिक पत्रिका, २०६४  शिशिर ऋतु, वर्ष–४, अङ्क–८,  पूर्णाङ्क–१९ मा प्रकाशित साहित्यकार घनश्याम परिश्रमीसँग गरिएको अन्तरवार्ता जस्ताकोे त्यस्तै 


No comments:

Post a Comment