जागिर खाने कि घुस ? (लघुकथा) - रुपिन्द्र प्रभावी

Friday, September 11, 2020

जागिर खाने कि घुस ? (लघुकथा)

लघुकथा

जागिर खाने कि घुस ?

-  रुपिन्द्र प्रभावी

लेखनाथ आफ्नो समयमा चर्चा र पहुँचप्राप्त व्यक्तित्व । हालै किनेको पाँच रोपनी जमिन पास गर्न जिल्ला मालपोत कार्यालय गए । आफूले जाने- बुझेसम्मका प्रक्रिया तथा कागजात पुर्‍याएर सहायक अधिकृत गोपिनाथनेर गए तर उनले निवेदनको व्यहोरा नमिलेको बहानामा फिर्ता पठाए । लेखनाथ 'ठिकै छ' भनेर भए भरको सिप-ज्ञान लगाएर पुनः निवेदन लेखेर गए ।

कहिले के पुगेन, कहिले के पुगेन- बहानामा दुई तीन चोटि बाहिरिए लेखनाथ । यस्ता कर्मचारी नियुक्ति र निलम्बन गर्न सक्ने खूबी भएका उनी जनस्तरबाटै कार्य गराउँथे । मालपोत अधिकृतको यो नियतले असह्य भएर उनले फरर आफ्नो परिचय दिँदै सोधे -तपाईँले खोज्नु भएको के हो ?" “यसो अलि-अलि भए त काम छिटै बनिहाल्छ नि हजुर ।गोपिनाथले स्पष्टीकरण दिए । त्यसपछि भने झण्डै धम्कीको शैलीमा लेखनाथले भने-गोपिनाथजी, तपाईँ घुस खान चाहनुहुन्छ कि जागिर ?” यो प्रश्नले गोपिनाथ झस्के र मौनतामै सरासर काम फत्ते गरी कागजातहरू लेखनाथको हातमा थमाएर यति मात्र बोले-माफ गुर्नहोला ।

(२०६२ मा गण्डकी अञ्चलस्तरीय लघुकथा प्रतियोगितामा प्रथम स्थान प्राप्त लघुकथा)

 



1 comment: