भर्चुअल मोडबाट प्रगतिशील साहित्य सम्मेलन - रुपिन्द्र प्रभावी

Thursday, October 22, 2020

भर्चुअल मोडबाट प्रगतिशील साहित्य सम्मेलन

 


पोखरा । लमजुङको करापुटारमा हरेक वर्ष दसैँको सप्तमीमा हुँदै आएको प्रगतिशील साहित्य सम्मेलन यस वर्ष भर्चुअल मोडबाट सम्पन्न भएको छ ।

माहेन्द्री प्रगतिशील जनसांस्कृतिक सङ्गमले आयोजना गरेको बिहीबार सम्पन्न कार्यक्रमको यो ४१ औँ शृङ्खला हो । लमजुङ, तनहुँ र कास्कीको सङ्गमस्थलका रुपमा रहेको करापुटार क्षेत्रमा २०३६/२०३७ सालदेखि सङ्गमले प्रगतिशील साहित्य सम्मेलन सञ्चालन गर्दै आएको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम आयोजना गर्न सम्भव नभएपछि ऐतिहासिकतालाई बचाइराख्न कार्यक्रम भर्चुअल मोडबाटै भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकमध्येका एक महेन्द्रमणि पौडेलले जानकारी दिए । लमजुङका चिसङ्कु-भोर्लेटारका अलावा कास्की र तनहुँ क्षेत्रमा कार्यक्रमले राम्रा प्रतिभा जन्माएको स्मरण गर्दै पौडेलले पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म सम्मेलन भूमिका खेलेको बताए ।  प्रतियोगितात्मक रुपमा भएको कार्यक्रममा खुलातर्फ देशबन्धु अधिकारी, प्रेक्षा धामी, मणिराम खनाल  केशव अधिकारी क्रमशः पहिलो दोस्रो तेस्रो र सान्त्वना भए भने बालसाहित्यतर्फ सरु सोती र रचना भट्टराई क्रमशः पहिलो र दोस्रो भए । यस्तै गरी गजलतर्फ प्रतीक्षा शर्मा र गीततर्फ यशोदा पौडेल प्रथम भएको थिइन् । रामभक्त पौडेलको संयोजकत्वमा महेन्द्रमणि पौडेल र लक्ष्मी सोती रहेका निर्णायक मण्डलले विजेता घोषणा गरेको थियो । प्रतियोगिताको पुरस्कार विनय पौडेलले प्रायोजन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले साहित्यले राख्ने दूरदृष्टिले संसार परिवर्तन गर्न भूमिका निर्वाह गर्ने बताए । कास्की क्षेत्र नं. १ बाट निर्वाचित सङ्घीय सांसद्समेत रहेका अधिकारीले साहित्यमार्फत् समाजमा व्याप्त अराजकतालाई निर्मूल गर्नुपर्ने बताए । प्रगतिशीलता भनेको अराजकता नभएको भन्दै उनले साहित्यका माध्यमबाट सहिदहरुले गरेका योगदानको संरक्षणमा शालीनतापूर्वक लाग्न स्रष्टाहरुलाई आग्रह गरे ।

गण्डकी प्रदेश सभाका सांसद् धनन्जय दवाडीले नेपाली कम्युनिस्ट आन्दोलनको अभिन्न अङ्गका रुपमा प्रगतिशील साहित्यले कार्य गरेको बताए । विभिन्न क्रान्तिबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि आजका मानिस सचेत हुनुपर्ने भन्दै लजमुङबाट निर्वाचित सांसद् दवाडीले सिर्जनाहरुका माध्यमबाट उठाइएका प्रश्नहरुको जवाफ खोज्नु सबैको दायित्व रहेको धारणा राखे । आफैँले उठाएका प्रश्नहरुको जवाफ सोझो रुपमा दिन नसक्दा आफूले पनि कविता लेख्ने गरेको अनुभवसमेत दवाडीले सुनाए ।

नेकपाका गण्डकी प्रदेश सदस्य पारसमणि पौडेलले हिजो प्रतिरोधका लागि लेखिने साहित्यले सम्बोधन गर्ने विषय क्रमिक रुपमा समयसँगै परिवर्तन हुनुपर्ने धारणा राखे । साहित्य एक्लैले समाज परिवर्तन नसक्ने भन्दै पौडेलले राजनीतिसँग जोडिँदा समाज रुपान्तरणको बाटो सहज हुने धारणा राखे । कार्यक्रममा जनकराज पौडेल र रुपिन्द्र प्रभावीले प्रगतिशील साहित्यको महत्त्वका बारेमा बोलेका थिए ।

कार्यक्रममा मार्कण्ड खनाल, अच्युतशाली घिमिरे, सुदिप अधिकारी, विष्णुमाया घिमिरे, सुमन सापकोटा, रचना भट्टराईलगायतले आफ्ना रचना वाचन गरेका थिए । सङ्गमका संयोजक श्रीकान्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामचन्द्र सोती गरेका थिए ।

 

 

No comments:

Post a Comment