१८ हाइकु - रुपिन्द्र प्रभावी

Saturday, October 10, 2020

१८ हाइकु

 १८ हाइकु

                  –रुपिन्द्र्र प्रभावी

१.

बेला परीक्षा

विद्या उही घोकन्ते

चोर्न छ ध्यान ।



२.

बेलगाम छन्

दोधारे मनस्थिति

आजका युवा ।


३.

उहाँ बिरामी

औषधिको व्यापार

देशै बिरामी ।


४.

भुक है भुक

जिउँदो जनाउन

अरु के छ र !


५.

देखाऊ यौटा

गराऊ फेरि अर्कै

हाम्रा योजना ।


६.

कहाँ छैन र 

सर्वव्यापी शक्ति यो

मिलेर खाऔँ ।




७.

चाहियो पद

समिति होस् या संस्था

कर्तव्य–च्यूत ।


८.

चाहिँदैन भो

हात्तीका दाँतहरु

खस्रै मीठो छ ।


९.

शिक्षा बिगारे

सङ्घ–सङ्गठनले 

खत्रा मोल्छु म ।


१०.

किन मिडिया

‘पर्सन’ हात लेऊ

अब्बल बन्छौ ।


११.

व्यवसाय हो

राजनीति के गर्नु

नाफा नभए ।


१२.

कुरा होइन

चाहियो अब काम

दुई तिहाइ ।


१३. 

आत्तियौँ हामी

धैर्य लोप भइसक्यो

गफाडी नेता ।

१४.

भोक टरेन

मीठो कथा सुनेर

रिँगटा चल्यो ।


१५.

खुट्टा नकाट

उचाइ बढाऊ झन्

समान हुन्छौ ।


१६.

छैन दोमन

उफ्रिन्छु म उफ्रिन्छु

दबाउँदा झन् ।


१७.

घरै बिगारी

अरु के सप्रेला र

छाला सिँगारी ।


१८.

हुने के रै’छ

थुपारीकन धन

बेचेर मन ।


पोखरा 



No comments:

Post a Comment