‌प्रधानमन्त्री ओलीको कदमविरुद्ध मार्क्सवादी सांस्कृतिक मोर्चा सडकमा - रुपिन्द्र प्रभावी

Tuesday, January 12, 2021

‌प्रधानमन्त्री ओलीको कदमविरुद्ध मार्क्सवादी सांस्कृतिक मोर्चा सडकमा


काठमाडौं ।
मार्क्सवादी सांस्कृतिक मोर्चाले राजनीतिक प्रतिगमनका विरुद्ध प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । आज माइतीघर मण्डलाबाट वैज्ञानिक समाजवादी क्रान्तिको उद्घोषसहित उक्त अभियान मोर्चाले सुरु गरेको हो ।

राजनीतिक प्रतिगमका विरुद्ध अग्रगमनमा पक्षमा प्रतिरोध सांस्कृतिक अभियाननाम दिइएको उक्त अभियानमा लेखक, कवि, कलाकारको उल्लेख्य उपस्थिति थियो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि कवि, कलाकार र नागरिक समाज प्रतिगमनका विरुद्ध सङ्घर्षमा छन् । नवगठित मार्क्सवादी सांस्कृतिक मोर्चापनि सडकमा निस्किएको छ ।

'अरूहरूजस्तै तपाईंहरू पनि प्रतिगमनका विरुद्ध भन्दै सडकमा निस्किनुभएछ, तपाईहरू पनि संसद् पुनःस्थापनाको पक्षमा हो कि ?' भन्ने प्रश्नमा उक्त मोर्चाका संयोजक इस्मालीले 'हामीकहाँ संसद् पुनःस्पनाका लागि सडकमा आएको हो र ?' भन्दै उक्त कुरा ठाडै अस्वीकार गरे ।

उनले अगाडि थपे, ‘हामी प्रतिगमनको विरोधका लागि मात्र सडकमा निस्किएको हैन । सङ्घीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा पो निस्किएका हौँ ।

केही दिन पहिले वैज्ञानिक समाजवादी क्रान्तिको अपरिहार्यतालाई आत्मसात् गर्दै समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति पक्षधर संस्कृतिकर्मीको साझा मञ्च मार्क्सवादी सांस्कृतिक मोर्चानिर्माण गरिएको वक्तव्य सार्वजनिक भएको थियो ।

विरोध कार्यक्रममा विमल निभा, भूपाल राई, जगदीशचन्द्र भण्डारी, विष्णु भण्डारी, शकुन्तला जोशी, बलराम तिमिल्सिना, मित्रलाल पंज्ञानी, वसन्त बोगटी, कृष्णहरि भट्ट, महावीर विश्वकर्मा, राजु स्याङ्तान, गौरी दाहाल, सुनिता बुढाथोकीलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रमका एक मात्र वक्ता वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक निनु चापागाईंले मन्तव्य राखेका थिए । उनले भने संघीयता विरोधी, समानुपातिक प्रतिनिधित्व र गणतन्त्र विरोधी देशी विदेशी शक्तिहरूको साँठगाँठको परिणाम आजको प्रतिगमन हो ।

उनले अगाडि थपे, ‘यो धेरै गम्भीर विषय हो । जबसम्म शासकहरूको बिचमा साँठगाठ हुने, देशी विदेशी शक्तिहरूले देशलाई शोषण गर्ने र शासन गर्ने षड्यन्त्र गरिरहन्छ, त्यतिखेरसम्म हामीले यी कुराहरू बारम्बार भोग्नुपर्ने स्थिति हुनसक्छ । त्यसकारण पनि हामी बहुमतले अल्पमतमाथि शासन गर्ने दिनहरू ल्याउन, जनगन्त्रणका दिनहरू ल्याउन सङ्घर्षमा जान, अग्रगमनमा पक्षमा रहन आवश्यक छ ।

संयोजक इस्मालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कवि विष्णु भण्डारीले गरेका थिए । इस्मालीले मोर्चाको प्रेस वक्तव्य वाचन गरेका थिए ।

वक्तव्यमा 'नेपाली समाजको आजको अन्तर्विरोध तथा नेपाली जनताले भोगिरहेका आजका समस्याको समाधान यस व्यवस्थाबाट हुन सक्दैन' भनिएको छ । वक्तव्यमा अगाडि भनिएको छ, ‘वर्तमान फासीवादी चरित्रको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा सङ्घीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणबाट मात्र यो सम्भव छ ।

मोर्चाले राजनीतिक प्रतिगमनको विरोध गर्दै जनवादी/वैज्ञानिक समाजवादी विकल्प निर्माणको यात्रामा मोर्चाबद्ध हुन प्रगतिशील, लोकतान्त्रिक र अग्रगमनका पक्षधर संस्कृतिकर्मीहरूलाई एकताबद्ध हुन आह्वानसमेत गरेको छ ।

No comments:

Post a Comment