सङ्गम सांस्कृतिक यात्रा-६ - रुपिन्द्र प्रभावी

Sunday, February 28, 2021

सङ्गम सांस्कृतिक यात्रा-६

 

पोखरा । सङ्गम सांस्कृतिक मञ्चले आफ्नो छैटौँ सङ्गम सांस्कृतिक यात्रा भदौरेतामागीको सिधानेमा सम्पन्न गरेको छ ।

"प्रगतिशिल गीत सङ्गीत संरक्षण आजको आवश्यकता, आन्तरिक पर्यटन प्रबर्द्धनमा हाम्रो सहभागिता" भन्ने मूल मान्यतासहित यस पटकको यात्रा पर्यटकीय गाउँ सिधानेमा लगिएको मञ्चका अध्यक्ष काजी गाउँलेले जानकारी दिए । पोखराबाट करिब २५ किलोमिटर दूरीमा रहेको साविक भदौरे तामागी र हाल पोखरा महानगरपालिका, वडा नं. २३ स्थित सिधानेमा पन्चासेको काखैमा रहेको रमणीय पर्यटकीय गाउँ हो । सिधानेमा सङ्गम सांस्कृतिक मञ्चका कालकाररुले प्रगतिशील गीत/सङ्गीत प्रस्तुत गरेका थिए । विभिन्न सांस्कृतिक आन्दोलन गर्दै आएको मञ्चको सो शृङ्खला उपाध्यक्ष चियाङचोङ तमु र सदस्य डी. बी. बान्तवाको संयोजन तथा सिधाने सामुदायिक होमस्टे, सिधाने आमा समूह, सिधाने युवा समूह, प्रगतिशील आमा समूह, पञ्चासे आदर्श युवा क्लबको सहकार्यमा सम्पन्न भएको हो ।



मञ्चका कलाकारहरुको करिब ३० जनाको टोलीलाई स्थानीय सिधाने सामुदायिक होमस्टेमा सहयोगी संस्थाहरुसँगै स्थानीयवासीले लालीगुराँस, चिउरी, चाँपको फूल, स्थानीय फूलहरुका माला र अबिर लगाएर स्वागत गरेका थिए । सिधाने सामुदायिक होमस्टे तथा सिधाने आमा समूहकी अध्यक्ष बालशोभा गुरुङ र सचिव जसोदा गुरुङले माला अबिर लगाइदिँदै आफ्नो सामुदायिक होमस्टे, सिधाने गाउँमै पहिलो कार्यक्रम सङ्गम सांस्कृतिक मञ्चले विविध सांस्कृतिक कार्यक्रम गरेकोमा अत्यन्त हर्ष लागेको बताउनुभएको थियो । सो अवसरमा टोल विकास समितिका अध्यक्ष लालप्रसाद गुरुङले प्रगतिशील गीत सङ्गीतले आन्तरिक पर्यटन भित्र्याउन र पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वाससमेत गर्नुभएको थियो । लालु गुरुङले स्वागत नृत्य प्रस्तुत गर्नुभएको कार्यक्रम सिधाने गाउँको बारेमा तयार भएको मञ्चका सदस्य डी. बी. बान्तवाको शब्द, सङ्गीतमा रहेको गीत तल्लो सिधाने, उपल्लो सिधानेको विमोचन भएको थियो । मञ्चका सल्लाहकार भीम रानाभाटको शब्दमा रहेको गीतलाई सचिव विकास लुङ्गेली र सदस्य रोशन लामाले सङ्गीतबद्ध गरेर सांस्कृतिक मञ्चका कलाकारहरुले सम्पूर्ण उपस्थित महानुभावहरुलाई गीतबाट स्वागत गर्दै कार्यक्रमको ढोका उघारिएको थियो । स्थानीय सिधाने र त्यस क्षेत्र वरपरका डाँडापाखा, खोलानालालाई शब्दमा उतारेर मञ्चका अध्यक्ष काजी गाउँलेको शब्द संगीतमा तयार गरिएको कौरा गीत फुरफुर भा'छ यो मन रहर बढ्यो झन्, हेर सिधानेको आँगन टेकेरमा स्थानीयहरुसहित मञ्चका कलाकारहरु नाच्दा चिसो मौसमसमेत तातिएको महसुस भएको थियो ।

कार्यक्रममा मनको भारी सारङ्गीमा, सुर मिसाउँदै आपुग्यौं हजुरको घर आँगनीमा…, जिवन एउटा फुल हो …, गालामा बग्यो आसु…, अहिलेसम्म कति बग्यो पानी गण्डकीमा…, जुनै सरकार आए नि कान चिरेकै आइरहनी, हाम्ले दुख पाइरहनी…, देशको माया अपार, सुनौँ दाजुभाइ सुनौँ दिदीबैनी,  खाँचो अझै संघर्षको, मेरो जीवन नेपाल आमालाई भयो दुख बिर्साउनी लगायत १ दर्जन बढी गीत प्रस्तुत गरिएको थियो ।

अतिथि कलाकार जनकर्मी कलाकार मञ्चका संयोजक तथा जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष कर्ण विद्रोहीले धौलागिरी क्षेत्रमा गाउने जोसिलो झ्याउरे लयको गीत गाएर उपस्थित सबैलाई नचाउनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता सिधाने टोल विकास समितिका अध्यक्ष लालप्रसाद गुरुङले गर्नु भएको थियो भने सन्चालन मञ्चकी सदस्य शान्ति बलम्पाकीले गर्नुभएको थियो ।

सिधाने युवा समुहका अध्यक्ष कुमार गुरुङ, जगतबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक मिनबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । समाजसेवी पदमबहादुर गुरुङले सङ्गम सांस्कृतिक मञ्च, नेपाललाई सम्मानस्वरुप नगद रु १० हजार सहयोग गर्नुभएको थियो ।

No comments:

Post a Comment