पर्यटन प्रवर्धनका लागि कवि सम्मेलन - रुपिन्द्र प्रभावी

Sunday, March 21, 2021

पर्यटन प्रवर्धनका लागि कवि सम्मेलन

पोखरा । तनहुँको भीमाद नगरपालिका-९ स्थित पाथर्दी होमस्टेमा राष्ट्रिय कवि सम्मेलन सम्पन्न भएको छ । शुक्ला साहित्य सङ्गम, दुलेगौँडाको आयोजनामा भएको सम्मेलनको चाँजोपाँजो पर्यटन प्रवर्धनका लागि भन्दै वडा नम्बर ९ को कार्यालयले मिलाएको थियो ।

२ दिनसम्म चलेको सम्मेलनको पहिलो दिन शुक्रबार स्थानीयवासीका तर्फबाट कौरा नृत्यको प्रस्तुतिसँगै केही रचना वाचन गरिएका थिए । सो कार्यक्रमकी प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ नमुना शर्माले गाउँ गाउँमा जीवित लोकसंस्कतिसँग मानव जीवन जोडिने हुनाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

शनिबार सम्पन्न कवि सम्मेलनमा २४ जनाले रचना वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले नयाँ पुस्तामा सांस्कृतिक चेत भर्नुपर्नेमा जोड दिए । उनले साहित्य तुरुन्तै प्रतिफल नपाइने तर युगौँ बचाउने साधन भएको बताए । “सबैभन्दा पहिला मातृभाषाको संरक्षण गर्नुपर्छ, आफ्ना छोराछोरीलाई आफ्नो भाषा सिकाउनुस्” नेपालले भने,  “आफ्नो घर नचिन्नेले जीवन र जगत् चिन्न सक्दैन ।” प्रतिष्ठानको लोकसाहित्य र बालसाहित्य विभागका प्रमुखसमेत रहेका उनले सांस्कृतिक सिप सिकाउनका लागि प्रज्ञा-प्रतिष्ठानका तर्फबाट सहकार्य गर्न पहल गर्ने आश्वासन दिए । पर्यटन प्रवर्धनका लागि कला, साहित्य, संस्कृतिलाई महत्त्व दिनु वडा नम्बर ९ को प्रशंसनीय कार्य भएको भन्दै उनले भाषा, संस्कृतिको संरक्षण भए मात्र देश चिनिने धारणा राखे । नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल चिनाउने कृतिका रूपमा नेपाल दर्पण नामक कृति प्रकाशनको तयारीमा रहेको उनले जानकारी दिए ।



सो वडाका अध्यक्ष इमानसिंह थापाले आफूले पर्यटनको विकास गर्न साहित्यिक कार्यक्रमको प्रस्ताव लिएर नगर परिषद्‍मा जाँदा साहित्यका माध्यमबाट पनि कसरी पर्यटनको विकास हुन्छ भनेर बुझाउन गर्नुपरेको कसरत स्मरण गरे । समाज परिवर्तनकै संवाहकका रूपमा साहित्य रहने धारणा राखेका थापाले स्थापित हुँदै गरेको पाथर्दी होमस्टेलाई आम मानिससामु चिनाउन कवि सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । थापाले आफ्नो वडाका कला, संस्कृतिको विकासका लागि सधैँ पहल गरिरहने प्रतिबद्धतासमेत जनाए ।

पाथर्दी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले युवाहरूलाई बिदेसिनबाट रोक्नका लागि पनि होमस्टेजस्ता कार्यक्रम अघि बढाउन आफूहरू लागिपरेको बताए । कला, संस्कृतिको संरक्षणसँगै व्यावसायिक क्षेत्रमा युवाहरूलाई आकर्षण गर्ने अभियानमा लागेका आलेले साहित्यले समाज परिवर्तनका लागि विशेष महत्त्व राख्ने धारणा सुनाए ।

शुक्ला साहित्य सङ्गमका अध्यक्ष वेणुप्रसाद खतिवडा, संरक्षक शेषमणि आचार्य, पूर्व अध्यक्षद्वय आनन्द सुन्दर श्रेष्ठ र जनार्दन दाहाल, प्रगतिशील लेखक सङ्घ, तनहुँका अध्यक्ष नारायण श्रेष्ठ, उपाध्यक्ष कल्पना पौडेल, गण्डकी साहित्य सङ्गम, पोखराका सचिव भीम रानाभाट, गीतकार प्रतिष्ठान, नेपालका सचिव अनुराग अधिकारीले पाथर्दीले पर्यटनसँगै साहित्यको विकासमा समेत भूमिका खेलेको भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए ।

सो अवसरमा जीवन सागर, हिमालचन्द्र अर्याल, करिस्मा सुनार, नारायणकैलाश सिग्देल, तीर्थराज गैह्रे, हरिबोल, सोनिया राना, मोहन भुजेल, अशोक विक, विजिता थापा, गोविन्द खनाल, जुना खड्का, सुरज लम्साल, माधव अधिकारी, सोनी थापा, कवीन्द्र चौलागाईँ, रुपिन्द्र प्रभावीलगायतले रचना वाचन गरेका थिए । सचिव सरस्वती सिग्देलको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष पूर्ण आलेले स्वागत गरेका थिए । सोही अवसरमा सङ्गमको मासिक रचना वाचनको १७७ औँ शृङ्खला पनि सम्पन्न भएको थियो । पाथर्दीमा रहेको इलुङ झरनाको समेत कविहरूले अवलोकन गरेका थिए । पाथर्दी भीमाद बजारबाट करिब १७ किलोमिटरको दुरीमा पर्दछ ।

No comments:

Post a Comment