- रुपिन्द्र प्रभावी

Friday, March 14, 2014

समीपको एकल गजलवाचनमा पोखरेलीको वाह्वाही !

                                                                               -  रुपिन्द्र प्रभावी



                                 ‘स्वागत् छ तपाईंलाई’ बजारले भन्यो

                                   ‘धन्यवाद छ’ खल्तीबाट हजारले भन्यो ।

यही सेरमार्फत् स्वागत् मात्र के गर्नुभएको थियो गजलकार दीपक समीपले, मेहेफिल तातिहाल्यो, पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्ष उचालिन थाल्यो तालीको गड्गडाहट र वाह् ! वाह् ! को आवाजसँगै ।

             आउनुस् है दिनदिनै षोडसी लिई

              मुस्कुराउँदै रेष्टुरेण्ट र बारले भन्यो ।


अर्को सेर फुस्किनुअघि जुन मौनता थियो, फुस्केपछि फेरि उही क्रम जारी रह्यो– वाह् ! वाह् ! र पररर । यो क्रमले फागुन १० गते शनिबार झण्डै दुई घण्टा निरन्तरता पायो पोखरामा । गजलकार दीपक समीपको एकल गजलवाचनका क्रममा पोखरेली गजल पारखीहरुको वाह्वाहीले निकै हौसिनुभयो गजलकार समीप पनि । भन्नुभयो, “डराई डराई गजल लेखिन्थ्यो, आज गजलले जुन सम्मान नेपाली साहित्यमा पाएको छ, त्यसले अझ बढी हौसला मिलेको छ । यस घडीमा म सम्पूर्ण अग्रज गजलकारहरुप्रति श्रद्धाभाव व्यक्त गर्दछु ।”

                                     धेरै त-यो रगतको खोली नेपालीले

                                        अझै कति खानुपर्ला गोली नेपालीले ।


नेपालमा भएको दसवर्षे द्वन्द्वको चित्रण गरिएका गजलहरु सुनाउँदा कतिपय स्रोताहरु भावुकजस्ता देखिन्थे भने सरकारले केवल दिक्दारी दिएको सेर सुनाइरहँदा होमा हो मिलाउँथे अधिकांश । प्रेमका गजल सुनाउँदा त युवा पुस्ताको हाँसो र ताली एकै साथ गुन्जिन्थ्यो ।

                                            भष्म भए पुतली बत्तीलाई प्रेम गर्दा

                                              ती पुतली र यो गजलकार उस्तै उस्तै ।


अझ उफ्रिन्थे स्रोता समीपका गजलको प्रशंसामा समीपले यसो भन्दा त । समीपले सुनाउनुभएका राष्ट्रप्रेम, राजनीति, समाज, विकृति, विपरीतलिङ्गी प्रेम, व्यङ्ग्यात्मक विषयका करिब ३० गजलमध्ये अधिकांश गजल साठीको दसकपछिका थिए भने केही आफ्नो गजलसङग्रह ‘भूगोलभित्र नकोरिएको देशभित्र’बाट पनि सुनाउनुभयो उहाँले । गजलका भावअनुसारको भावभङ्गिमासहित प्रस्तुत हुनुभएका गजलकार समीपका गजल सुनेर स्रोताहरु भन्दै थिए, “वाह् ! वाह् !” अझ कति त मञ्चमै जाउँलाझैं पनि गरेको देखियो । जाने आँटै त गरेनन् तर जब वाचन सकियो, फोटो खिच्नेको भीड नै लाग्यो । गजलकार दीपक समीपको ‘क्रेज’ देखेर कतिपय अग्रज साहित्यकारहरु पनि गजलमा लाग्न चाहेको मनसाय पोख्दै थिए ।

                                           कसैले दिएथ्यो मलाई जन्मदिनको उपहार

                                            तर भोलिपल्टै फिर्ता मागेपछि के काम ।


युवा नै देखिए पनि तालु भने पूरै खुइलिएर टिलिक्क टल्काउँदै गजलवाचनमा उभिनुभएका समीपले यो सेर सुनाउँदै सम्झनुभयो गजलकार जीवनसागर भण्डारीले भनेको कुरा, “त्यो उपहार काइँयो थियो होला र कपाल कोर्न नपर्ने भएकाले फिर्ता मागिन् होला ।” यो प्रसङ्ग सुनाउँदा हल पूरै हाँसोले हल्लियो । समीपले पचासको दशकताका गजल लेख्दाको अनुभव सुनाउँदै पोखराका अग्रज साहित्यकार सरुभक्तलाई गजल लेख्न आग्रह गर्दा लाज लाग्छ भन्नुभएको र पछि सरुभक्तको गजलसङग्रह नै प्रकाशन हुँदा आफू निकै खुसी भएको पनि बताउनुभयो । दर्शक दीर्घामा बसिरहनुभएका साहित्यकार सरुभक्तले पनि समीपले त्यसो भनिरहँदा मुस्कुराउँदै स्वीकृतिमा मुण्टो हल्लाउनुभयो ।
गजल गायन सुन्दै गजलकार समीपसहित गजलप्रेमीहरु

गजल सन्ध्या, पोखराले आफ्नो इतिहासमै दोस्रो पटक दीपक समीप एकल गजलवाचन कार्यक्रम आयोजना गरेको हो । यसअघि सन्ध्याले गजलकार प्रकट पगेनी ‘शिव’को एकल गजलवाचन कार्यक्रम ‘प्रणयमा प्रकट दाइ’ २०६५ मा सम्पन्न गरेको थियो । “अब क्रमशः यो परम्परालाई समय सन्दर्भ मिलाएर निरन्तरता दिनेछौं” गजल सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाले भन्नुभयो । गतवर्ष देशभरका गजलकारहरुलाई पोखरामा जम्मा गराएर ‘गजल उत्सव’ सम्पन्न गरेको सन्ध्याले यसै वर्ष १४८औं मोतीजयन्तीका सन्दर्भमा ‘मोती र आजका गजल’ नाममा दसजना समकालीन प्रतिनिधि गजलकारहरुको सामूहिक गजलवाचन पनि सम्पन्न गरेको थियो । तीन अङ्कसम्म निस्केर स्थगित भएको गजल उत्सव वार्षिक गजलसङग्रह पुनः प्रकाशनसहित केही नौला कार्यक्रम नेपाली गजलका क्षेत्रमा गर्ने योजना पनि अध्यक्ष ढुङ्गानाले सुनाउनुभयो ।

गजलकार समीपको परिचय दिँदै समीपकै सङ्गतले गजलतिर लागेको बताउनुहुने साहित्यकार ईश्वरमणि अधिकारीले पोखरेलीहरुले माया गरेर समीपलाई ‘पोखरेली गजलसारथी’ भन्दै आएको प्रसङ्ग उठाउँदै पोखराको गजललाई यहाँसम्म ल्याउन समीपले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको दाबी गर्नुभयो । समीप स्वयम्ले पनि सुनाउनुभयो,

                                            युद्ध होस् हार नहोस्, त्यो सम्भव छैन

                                              छुरा होस् धार नहोस्, त्यो सम्भव छैन ।



                                                 कतिपय सोच्दा हुन् ‘दीपक’को गजलमा

                                                 शब्द होस् दमदार नहोस्, त्यो सम्भव छैन ।


दुई सय र पाँच सयका टिकट काटेर आएका झण्डै तीन सय साहित्यप्रेमीका माझ ‘कन्फिडेन्स’पूर्वक प्रस्तुत हुनुभएका समीपको लेखन र वाचनको तालमेलले स्रोता बाँधिइरहेका थिए । सो अवसरमा विष्णु रिजाल र केशव आचार्यले समीपका गजलहरु गाउनुभएको थियो । पोखरेली गजल इतिहासमा समीपको एकल गजलवाचनले थप ईंट्टा थप्ने तर्क समीपलाई आफ्ना ‘गजलगुरु’ मान्ने र यसअघि नै गजल सन्ध्याकै व्यानरमा एकल गजलवाचन गर्नुभएका प्रकट पगेनी ‘शिव’को थियो ।

वि. सं. २०३३ मा लमजुङमा जन्मिनुभएका समीपले पोखरेली गजललाई विकसित अवस्थामा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पोखराका अग्रज साहित्यकारहरुको राय छ । २०४९ मा मुक्तक प्रकाशन गरी साहित्यमा औपचारिक रुपमा प्रवेश गर्नुभएका समीप गजल लेखनमा भने २०५० देखि लागिरहनुभएको छ । गजलका अलावा मुक्तक र लघुकथा लेखनमा लागेवापत केही राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसक्नुभएका समीपले वि. सं. २०६२ मा ‘भूगोलभित्र नकोरिएको देश’ गजलसङ्ग्रह प्रकाशन गरिसक्नुभएको छ भने गजल र कथासङ्ग्रह प्रकाशनको तयारीमा छन् । गजल सन्ध्याका पूर्व अध्यक्ष समेत रहनुभएका समीप पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक तथा सम्मोहन साहित्यिक पत्रिकाका सल्लाहकार हुनुुहुन्छ ।

No comments:

Post a Comment